क्षितिजपारी – डा. अमर कार्की
कथाकार डा. अमर कार्कीको कथा संग्रह हो ‘क्षितिजपारी’ । पुस्तकमा कार्कीले अमेरिका पुग्ने आप्रवासीहरुको कथा लेख्नुभएको छ । प्रवासमा भोग्नु पर्ने दु.ख पीडाको कथा लेख्नुभएको छ ।

”भान्छामा भिन्न परिकारको भिन्न स्वाद जस्तै डा. अमर कार्कीको सिर्जनाले पनि नयाँ र फरक विषयलाई प्रस्तुत गरेको छ ।” डा. नीलम कार्की निहारिका लेख्नुहुन्छ, ”उनका कथाले प्रस्ट रूपमा भन्न नसकेको धेरै कुरा प्रकट गर्छ । ती नभनेका कुरा, आफ्नै मन र मस्तिष्कको मदानीमा गहिरो सोचको क्रममा निकै समयसम्म मथ्दै जाँदा एउटा अनौठो आनन्दको अनुभव हुन्छ । हो, आखिर भूगोल र भाषा फरक भए पनि झेल्ने कठिनाइ र मानव मनले बोक्ने व्यथा उस्तै त रहेछन् भन्ने देखिन्छ क्षितिजपारिमा । यस सङ्ग्रहमा समेटिएका कथाहरू पढ्दा, भिन्न भेषभूषा र परिवेशको भीडमा पनि मानवीय स्वभावमा अनगिन्ती समानता भेट्न सकिन्छ । सबैजसो कथा देशबाट उठेर परदेश पुगेका छन् । अधिकांश पात्रहरूको जन्मभूमि र कर्मभूमि अलग(अलग छन् । अमेरिका पुग्ने बाटोहरू अवैधानिक वा वैधानिक जे जस्तो भए पनि, सबैजसो कथामा आप्रवासीहरूको जीवन भोगाइहरू उस्तै छन् । यो आप्रवासीका कथाहरू हो ।”

त्यसैगरी पुस्तकमा तीर्थराज अधिकारी लेख्नुहुन्छ, ”वर्तमानमा शब्द संसार समृद्ध भैरहेको अवस्था छ । पुस्तक संस्कृति बढिरहेको छ । आत्मीय साहचर्यबाट कथोपकथनमा उत्पन्न अद्भुत रोमाञ्चक अनुभवले भरिपूर्ण यो बाह्र थान कथा आउनु संवेदना र सामाजिक यथार्थको पर्दाफास हुनु हो । यी सबै कथा पढ्दा लेखकका निजी अनुभव र दृष्टिकोणबाट लेखिएको अनुभूति हुन्छ । कथाकारकै शब्दमा भन्दा ‘अरूले लेखेको वा भनेको कथाको भाव बुझ्न सक्ने पाठक र स्रोता पाउनु वा कमाउनु साहित्यकारका लागि धेरै धेरै कठिन कुरा हो । यसमा पाठकले आफ्नो व्यक्तिगत जीवन देख्दछ र वास्तविक जीवनको यथार्थ रूप पाउन सक्दछ ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । बाह्र ओटा कथा संग्रहित पुस्तकको मूल्य तीन सय ९० रुपियाँ रहेको छ ।