आख्यानकार लक्ष्मीलोचना वैद्यको उपन्यास हो ‘ऋतु’ । उपन्यासमा वैद्यले देशदेखि विदेशसम्मको यात्रामा एउटी महिलाले भोग्नुपर्ने बाधाव्यवधान र उतारचढावलाई प्रस्तुत गर्नुभएको छ ।

”यो उपन्यास पढ्दा पात्र ऋतु लेखक स्वयम् हो कि भन्ने श‌ङ्का उब्जिन्छ होला । ऋतुको अंश हामीभित्र कतै न कतै रहेको छ । ऋतु हामीभित्र रहेको साहस हो ।” लेखक लक्ष्मीलोचना वैद्य लेख्नुहुन्छ, ”हामीभित्र रहेको आशा र माया हो । त्यसैले ऋतु म अनि तपाईंभित्र रहेको एक टुक्रा जिन्दगी हो । यो उपन्यास तयार गर्दैगर्दा बितेका हरेक वर्ष, महिना र दिनहरू निकै यादगार रहेका छन्।”

नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएको लक्ष्मीलोचना वैद्य मूलत समालोचना, आख्यान र नाटक विधामा कलम चलाउन रूचाउँनुहुन्छ । उहाँ शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । उहाँको ‘नेपाली नाटकको रूपरेखा’ नामक समालोचनात्मक कृति प्रकाशित रहेको छ । साथै ‘अर्धसत्य’ र ‘दर्पण’ नाटक मञ्चन भइसकेका छन् । ‘ऋतु’ उहाँको पहिलो औपन्यासिक कृति हो ।

पुस्तकलाई बुक्स हिमालयले बजारमा ल्याएको हो । तीन सय ७८ पृष्ठमा फैलिएको पुस्ततकको मूल्य छ सय पचास रुपियाँ रहेको छ ।