रमरतिया – विनयराज गौतम

विनयराज गौतमको कथा सङग्रह हो रमरतिया ।
गौतमको कथाहरुमा पश्चिम तराईको भोजपुरी गाउँको परिवेश पाइन्छ, उहाँले पितृप्रधान समाजमा नारीले भोग्नु पर्ने दुखको चित्रण गर्नुभएको छ ।

”मैले आफ्नो जीवनमा अनुभव र अनुभूत गरेका सामाजिक यथार्थहरूलाई नै कथाहरूका मार्फत अभिव्यक्त गर्ने कोसिस गरेको छु ।” कथाकार गौतम आफ्नो कुरामा लेख्नुहुन्छ, ”नेपाली मेरो मातृभाषा भए पनि त्यसमाथि भोजपुरीको प्रभाव निकै रहेको छ । मैले होस सम्हालेदेखि नै आफूलाई भोजपुरी परिवेशमा पाएको छु, त्यही माटोमा जीवन बिताएको छु, भोजपुरिया नै मेरा दौंतरी छन् । म विशुद्ध रूपमा भोजपुरी गाउँ परिवेशमा जन्मेको, हुर्केको मान्छे हुँ, म त्यसको प्रभावबाट मुक्त हुन सक्दिन, चाहदिन पनि । यस सङ्ग्रहमा संकलित रहेका अधिकांश कथाका शीर्षकले भोजपुरीमा राखिने नाम र त्यसबाट झल्किने जीवन्त संस्कृति र संस्कारबाट प्रभावित रहेका छन् । म तपाईं सुधी पाठकसँग मेरा कथाको स्वाद पनि त्यही आधारमा लिनु हुन आग्रह गर्दछु । आफ्ना कथाका बारेमा म अतिरिक्त केही भन्न चाहंदिन । मैले भन्न चाहेका कुरा मेरा कथाले नै भनिसकेका छन् । मेरा कथा के कस्ता छन्, यसको निर्णय गर्ने सम्पूर्ण अधिकार यहाँहरूमा निहित छ ।”

त्यसैगरी पुस्तकमा प्रा.डा. कुमारप्रसाद कोइराला लेख्नुहुन्छ, ”लामो समय शिक्षण पेशामा रहेर निवृत्त भएका गौतमले शिक्षाविषयक पहिलो कृतिमा नेपाली शिक्षाक्षेत्रमा राजनीतिले पारेको दुष्प्रभावको गहन चिरफार गरेका छन् भने दोस्रो कृति कथास‌ङ्ग्रहमा तराई मधेशको ग्रामीण समाजको सशक्त बिम्ब प्रस्तुत गरेका छन् । तेस्रो कृति रमरतिया कथासङ्ग्रहमा पनि तराई मधेशकै सजीव यथार्थ चित्र कोरिएको छ । ”

त्यसैगरी पुस्तकमा गोपाल अश्क लेख्नुहुन्छ, ”गौतम सामाजिक यथार्थवादी कथाकार हुन् र यिनले समाजमा व्याप्त रहेको विसङ्गति र विकृतिहरूलाई उजागर गर्न रुचाएका छन् । यिनका कथाहरू पढ्दा कहीं कहीँ समाजबाट हराउँदै गएको आदर्श, मूल्य मान्यता, नैतिकताप्रति गहिरो चिन्ता व्यक्त गरेको, समाजमा पुनः आदर्शवादको स्थापना गर्न खोजेको भान हुन्छ । ”

पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । सोह्र वटा कथा सङ्ग्रहित पुस्तकको मूल्य चार सय रुपियाँ रहेको छ ।