लेखक भागवत खनालको निबन्ध सङग्रह हो ‘आत्माबोध’ । भागवतका निबन्धहरूमा सुदूर जीवनका सम्झनाहरुका साथै जीवन दर्शन, स्वप्रेम, आत्मानुभूति, आत्माबोध लगायत तत्त्वहरू पाइन्छन् ।
”भाइ भागवत एक प्रतिभाशाली छात्र थियो । म छुट्टीमा घर आएका बखतमा आफूले लेखेका कथा र कविता पढेर सुनाउँथ्यो ।” पुस्तकमा प्रकाशक दुर्गाप्रसाद खनाल लेख्नुहुन्छ, ”उसको लापरबाहीसाथ लेख्ने बानी थियो तापनि लेखाइमा परिपक्कता देखिन्थ्यो । भाइका रचनाले भरिएका धेरै कापी र डायरीहरु त्यसै लथालिङ्ग भएर हराए । पछिल्लो समयमा भाइका रचनाहरु राष्ट्रिय दैनिक पत्रिका, सामयिक प्रकाशन र विभिन्न अनलाइन माध्यमबाट प्रकाशित हुन थाले । विलम्बसाथ नै भए तापनि भाइ आफ्ना रचनाका माध्यमबाट सार्वजनिक रुपमा मुखरित हुन थालेको देख्दा खुशी लाग्यो । केही दिनअघि एउटा निबन्ध सङग्रह पनि प्रकाशन गर्ने हो कि भनेर जिज्ञासा राखेँ । भाइले ‘प्रकाशन संस्था खोजिरहेको छु, केही समय लाग्छ’ भन्यो । मैले भनेँ, ‘प्रकाशन गर्दा लाग्ने छपाइ खर्च म दिन्छु । मलाई तेरो पुस्तकको प्रकाशक हुने इच्छा छ ।’ भाइ खुशी भयो । म पनि खुशी भएँ ।”
त्यसैगरी, पुस्तकको आवरण बनाउनुहुने राजीव घिमिरे लेख्नुहुन्छ, ”यस पुस्तकको आवरण सिँगार्ने अवसर दिनुभएकोमा मित्र भागवत खनालप्रति अत्यन्त आभारी छु । यो आवरण चित्र पुस्तकमा समाहित रचनाहरुमा अभिव्यक्त विचारमा भिजेका रङ्ग र भावनामा लुकेका दृश्यहरु खोज्ने प्रयास हो । यहाँ मैले निबन्धका शब्दहरुलाई दृश्यमा अनुवाद मात्र गरेको हुँ । आवरण पृष्ठको चित्रले आत्मखोज, आत्मप्रेम, आत्मस्वीकृति र आत्मयात्रालाई प्रतिकात्मक रुपमा प्रस्तुत गरेको छ । यसले व्यक्तिको आन्तरिक गहिराइ र अस्तित्वको विशालतालाई चित्रित गर्दछ । भनिन्छ, एक चित्रले हजार शब्द बोल्छ । यहाँ एक एक निबन्धहरु शब्दरुपी हजार हजार चित्र बोकेर पाठकसामु जीवन्त बनेका छन् । यो सङग्रह एक साहित्यिक कृति मात्र होइन, अपितु विचारको क्यानभासमा पोतिएका सशक्त शब्दहरुको मोहक चित्र पनि हो । लेखक भागवत खनाल शब्दका कुशल चित्रकार हुन् ।”
पुस्तकलाई दुर्गाप्रसाद खनालले प्रकाशन गर्नुभएको हो । ३० वटा निबन्ध समेटिएको पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










