टीकापुरमा जारी टीकापुर साहित्य महोत्सव अन्तर्गत आयोजित ‘स्वर्णिम समयमा नेपाली चलचित्र’ सेसनमा नेपाली फिल्म क्षेत्रको वर्तमान अवस्थाबारे परिचर्चा भएको छ । नेपाली चलचित्र व्यावसायिक रूपमा सफलताको शिखर चुम्दै गर्दा के यो स्वर्णिम युगको सुरुवात हो त ? यस विषयमा फिल्मकर्मीहरूका धारणा फरक फरक देखियो ।
कार्यक्रममा सहभागी अभिनेत्री तथा निर्माता केकी अधिकारीले नेपाली सिनेमा क्षेत्र केही हदसम्म स्वर्णिम युगमा प्रवेश गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही हदसम्म हामी स्वर्णिम समयमा छौँ । अहिले हामीले समावेशी चलचित्र देख्न पाइरहेका छौं । पहिला एक किसिमको अनुहार मात्र देखिरहेका थियौँ, अहिले फरक फरक अनुहार देख्न पाइरहेका छौँ। भेनिस, टोरेन्टो गइरहेका छौं ।” उहाँले फिल्म निर्माणमा मेकरहरूको उत्साह बढेको पनि बताउनुभयो ।
यद्यपि, सफल निर्देशक प्रदीप भट्टराईले समय सधैँ स्वर्णिम हुने धारणा राख्नुभयो । उहाँका अनुसार, “तर स्वर्णिम कालको कसरी सदुपयोग गर्ने भन्ने हो। दर्शकहरूको रूचिबारे जानकारी राखेर काम गर्न सके हरेक समय स्वर्णिम हुन्छ ।”
तर, अभिनेता तथा निर्माता रवीन्द्र सिंह बानियाँ प्रदीपको धारणा पूर्ण रूपमा स्वीकार गर्नुहुन्न । उहाँ चलचित्रको गुणस्तरको हिसाबले अहिलेको समय स्वर्णिम नभएको बताउँनुहुन्छ । उहाँले भन्नुभयो, “कतिपय फिल्म लोकरिझ्याइँका लागि बनिरहेका छन्।”
अलग धारका फिल्म बनाउन सफल निर्देशक मीन भामले आफ्ना फिल्मले अन्तर्राष्ट्रिय यात्रा गरे पनि नेपालमा रिलिज हुँदा दर्शकको चुनौती झेल्नु परेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “आफूले बनाएको फिल्म दर्शकले बुझ्दैनन् भनूँ भने उनीहरूलाई नै अन्याय हुनेछ ।”
नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्थाबारे यी विविध धारणाले के यो स्वर्णिम युगको शुरूवात हो वा मायावी सपना मात्र हो भन्ने प्रश्नलाई जटिल बनाएको छ। गुणस्तर, समावेशिता र व्यावसायिक सफलताको सन्तुलन कायम गर्नु नै नेपाली सिनेमाको भविष्य निर्धारण गर्ने मुख्य कुरा हुन आएको छ। शनिबारबाट सुरु भएको टीकापुर साहित्य महोत्सव २६ गतेसम्म चल्नेछ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
नेपाली चलचित्र क्षेत्र : स्वर्णिम युगको शुरूवात वा मायावी सपना मात्र ?
२२ जेष्ठ २०८३, शुक्रबार 








