काठमाडौं । नायिका केकी अधिकारीलाई कवितासम्बन्धी नेपालकाे पहिलो रियालिटी शो ‘द पोएट आइडल’काे निर्णायक बनाएपछि सामाजिक सञ्जालमा चर्काे आलोचना भयो । आइडलसँगै केकी पनि सञ्जालमा ट्रोलको सिकार भइन् । आलोचना खेपिइन् । केकीलाई जजका रूपमा राख्न हुने र नहेनु भन्दै सञ्जालमा एक किसिमकाे दोहोरी नै चल्यो ।

सामाजिक सञ्जालमा तीव्र टीकाटिप्पणी भइरहँदा केकीले भने मुख खोलेकी थिइनन् । सञ्जालकाे दोहोरीमा कुनै प्रतिक्रिया नदिई बसेकी उनले यस विषयमा मुख खोलेकी छिन् ।

बानेश्वरस्थित एभरेष्ट होटलमा पोएट आइडलले आयोजना गरेको पत्रकार सम्मेलनमा केकीले आफूले कविताको मूल्याङ्कन गर्न सक्ने आत्मविश्वास प्रस्तुत गरिन् । उनले आइडलसँग आबद्ध हुन पाउँदा खुशी र उत्साहित भएकाे बताइन् । कमर्सियल रियालिटी शोहरू धेरै भएकाे अवस्थामा साहित्य र कविताप्रति मोह जगाउन अभिप्रेरित गर्ने रियालिटी शोको अवधारणा आफैँमा फरक भएकाे उनको तर्क थियो ।

“जजको कुरामा चाहिँ, मैले अमन दाइलाई ‘ह्वाई मी ?’ भनेर सोध्दा उहाँले भन्नुभयो – यो एउटा रियालिटी शो हो । दुई वरिष्ठ कवि विप्लव दाइ र उपेन्द्र दाइ पहिल्यै हुनुहुन्छ । उहाँहरूले छन्द, बिम्ब, आख्यान र भावका कुराहरू हेर्नुहुन्छ । वाचन शैली मिले नमिलेको हेर्नुहुन्छ ।’ उनले भनिन्, ‘हामीलाई यस्तो व्यक्ति चाहिएको छ जसले दर्शकको प्रतिनिधित्व गर्न सकोस् । कुनै पनि प्रतियोगीले आफ्नो रचनालाई प्रस्तुत गरेपछि त्यसलाई दर्शक श्रोताले कसरी श्रवण गर्न सक्छन् भनेर शब्दमा व्यक्त गर्न सक्ने जज चाहिएको हो । तिमी मेरो दर्शकको प्रतिनिधि हुन्छौ ।’

केकीका अनुसार सुरुमा अफर आउँदा उनलाई पनि अलमल भएको थियो । उनी कार्यक्रम निर्माता अमन अधिकारबाट आफूलाई रोज्नुको कारण सुनेपछि जज बन्न सहमत भएकी हुन् । केकीले थपिन्, ‘मैले यो अवसर र चुनौती सहर्ष स्वीकार गरेँ । दिइएको भूमिकालाई इमानदारिताका साथ निर्वाह गर्ने छु । मलाई धेरै दर्शकको साथ चाहिन्छ । सबैभन्दा ठूलो निर्णायक दर्शक हुन् । दर्शकको प्रतिक्रिया पनि चाहिन्छ । जुन तरिकाका कुराहरू आए, त्यसलाई हामीले सकारात्मक दृष्टिकोणले नै लियौँ । यसले हाम्रो रियालिटी शोप्रति दर्शकहरू कति गम्भीर हुनुहुँदो रहेछ भन्ने पुष्टि भयो ।’

‘द पोएट आइडल’काे साहित्यिक पार्टनर साहित्यपोस्ट (इ) दैनिक रहेकाे छ ।