काठमाडौँ । कवि तथा आख्यानकार बालिका बान्तावाको उपन्यास ‘प्याउली’ को आज प्रज्ञा प्रतिष्ठानको पारीजात कक्षमा लोकार्पण गरिएको छ। कार्यक्रममा वक्ताहरूले उपन्यासलाई जीवन्त जीवन अनुभवको सशक्त अभिव्यक्ति भनेर प्रशंसा गर्नुभएको छ।

आख्यानकार उषा शेरचनले ‘प्याउली’ लाई बाच्नको लागि चाहिने सुन्दर बहाना अक्षरको खेती भएको बताउँदै लेखिकाले मनबाट लेखेकोले पुस्तक सुन्दर बनेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ”जसलाई दुख्छ उसले ऐया भन्छ। मस्तिष्कबाट निस्किएको कुरा मात्र हैन, मनबाट निस्किएको कुरा झन सुन्दर हुन्छ। बालिकाले मनबाट लेख्नुभएको छ, त्यसैले पुस्तक सुन्दर छ। यो उपन्यास लेखिकाको सिंगो संघर्षको कथा हो।”

प्राध्यापक बिन्दु शर्माले उपन्यासलाई आत्माकथा परक भए पनि तेस्रो व्यक्तिबाट लेखिएकोले यसको शैली फरक र सुन्दर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ”आत्माकथामा जटिल खालको भावना, संवेदना जस्ता विभिन्न सन्दर्भलाई मानवीय अनुभवसँग पाठकसँग साझा गरेर आत्मा आविष्कार गर्न सकिन्छ। साहित्य पछिल्लो पुस्तालाई बाँच्न प्रेरणा दिने सुन्दर कला हो। महिला, दलित, जनजातिहरूसँग कथाहरू छन्, त्यो कथाहरू धेरै आउनुपर्छ। आफ्नो भोगाइ लेखौँ, आफ्नै भोगाइसँगै आउँछ नयाँ दर्शन।”

कवि बिमला तुम्खेवाले जो कोही मान्छेले आफूले बाँचेको जिन्दगी जस्ताको तस्तै लेख्न नसक्ने तर जसले लेख्छ त्यो मान्छे असाधारण हुने बताउनुभयो । उहाँले भन्नुभयो, ”जन्म दिएर संसार देखाउने आमा बाहेक अरुसँग गाँसिएको माया परिबन्ध मात्र हो। त्यो कुरालाई लेखकले यहाँ त्यसरी नै प्रस्तुत गर्नुभएको छ।”

लेखक बालिका बान्तावाले जीवनमा आफैँसँग र अरुलाई पनि भन्नुपर्ने केही कुरा थियो जसलाई नभनेसम्म आफूलाई सन्चो महसुस गर्न नसकेको बताउँदै त्यही उकुसमुकुस पोख्दा ‘प्याउली’ उपन्यास जन्मिएको बताउनुभयो । उहाँले भन्नुभयो, ”यो उपन्यासको प्रमुख पात्र म आफैँ भएर आएको छु। मेरो जीवनमा जोडिएका सबै पात्रहरूको कारण यो उपन्यास आउन सम्भव भएको हो, ति पात्रहरूप्रति आभारी छु। ‘प्याउली’ मैले हृदय निचोरेर लेखेको उपन्यास हो।”

यहि अवसरमा छाेरीकाे लागि लेख्नुभएको ”मैले पाएकाे सृष्टिको अनमोल रचना हौ तिमी” बाेलकाे गित पनि सार्वजनिक गरिएको थियो ।

सम्भव समुहले आयोजना गरेको कार्यक्रम लक्ष्मी रुम्बाले सञ्चालन गर्नुभएको थियो ।