साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

विवाहको कथाः तेस्रो रङ

Chovar Blues Mobile Size

मभित्र मच्चिरहेको द्वन्दको लिङ्गे पिङ्गलाई देख्ने कसले ? म भित्र निरन्तर गइरहेको पहिरोलाई बुझ्ने कसले ? न कसैको सामु देखाउन सक्छु । न त व्यक्त नै गर्न सक्छु । म कुन मानसिक अवसादबाट गुज्रिरहेछु भन्ने आभासबाट बेखवर मेरा परिवारले मेरो विवाहको लागि दबाव दिइरहेका छन् र केटीका फोटोहरू हेर्नका लागि कर गरिरहेका छन् ।

हुन पनि विवाह योग्य लक्का जवान छोरा त्यसमाथि पनि हामी राजपुतहरू विवाहलाई समेत आफ्नो आन वान र शान सम्झिने हाम्रो समुदाय । म हेर्दामा पनि निकै ह्याण्डसम् देखिन्छु । त्यसमा पनि धनि बावुको एक्लो छोरा पढाइमा पनि उतिकै तेज । कुनै पनि बावु आमाले आफ्ना छोरीका लागि छान्ने वरको क्राइटेरिया भन्दा धेरै माथि देखिने मेरो व्यक्तित्व । अथवा यसो भनौं कुनै पनि युवतीले प्राय सोच्ने सपनाको राजकुमार । टल, डार्क ह्याण्डसममाथि पनि सम्पन्न घरको एक्लो वारिस । तर अफसोस बाहिरी रुपमा हेर्दा म जे जस्तो देखिन्छु, त्यसको ठीक विपरीत छु, म भित्रको व्यक्ति जोसँग म वाहेक अरु कोही दोस्रो व्यक्ति परिचित छैन । मलाई जन्म दिने मेरी जननीसमेत अनभिज्ञ हुनुहुन्छ म भित्रको व्यक्तिसँग भने अरुको त झन के कुरा भो र ?

आज घरमा चहलपहल चर्कै छ । मेरा लागि भनेर ल्याइएका विवाह योग्य कन्याका एक से एक सुन्दर फोटोहरू छान्नमा जुटिरहनुभएका छन् मेरी दिदीहरू । टेबुल भरि विस्कुन सुकाए जस्तै गरी फिँजाइएका तस्बिरहरूलाई चामल केलाएझैं केलाउनमा तल्लीन हुनुहुन्छ दिदीहरू । एक एकको फोटो हेर्दै टिका टिप्पणीका पर्रा छाडेर हाँस्दै पनि हुनुहुन्छ भने मेरा बुवा र आमा गर्वले छाती चौडा पार्दै छोरीहरूले गरेका टिका टिप्पणीमा हो मा हो मिलाउँदै हुनुहुन्छ । तर विचराहरूलाई के थाहा मेरो संसार भने नितान्त बेग्लै छ भन्ने कुरा । जति जति उहाँहरू खुसी हँुदै कन्या छान्नमा तल्लिन देख्छु उति उति म झन् भित्रभित्रै पीडाले आहत भएर छटपटिरहन्छु, दुःखको अथाह सागरमा हेलिइरहन्छु । जति प्रयत्न गर्दा पनि उहाँहरूको खुसीमा सामेल हुन असमर्थ पाउँछु आफूलाई । तर उहाँहरूको उत्साह र उमङ्गलाई मत्थर पार्ने सामर्थ्य भने ममा छैन कमसेकम यत्तिखेरलाई भने ।

पुरै रात आँखा झिमिक्कै नगरिकनै काटेँ । मानौ रात होइन सिंङ्गो युग नै काटेझैं आभास भयो ।

 

आखिर ति एक से एक सुन्दर फोटोहरू मध्येबाट मेरा दिदीहरूले हरेक दृष्टिकोणले मेरा लागि मात्र नभई परिवारका लागि समेत योग्य कन्या म बाहेक सबैको सहमतिबाट छानियो । फोटोमा बायोडाटासमेत संलग्न भएकोले हाम्रो स्तरसँग मिल्ने गरी मेरा दिदीहरूले एउटी कन्यालाई फाइनल छनौट गर्दै उनको फोटो मेरो अगाडि तेस्र्याउनुभयो । दिदीहरूका मन राख्नकै लागि मैले पनि मन लागि नलागि हेरेँ मात्र केही प्रतिक्रिया भने जनाइन । मेरो मौनतालाई मेरो सहमति सम्झेर हो वा बुवा आमालाई मेरो बिवाह हेर्न आतुर हुनु भएर हो फोटो र बायोडाटा ल्याइदिएको लमीलाई आफुहरूले छानेको कन्यालाई हेर्न जाने समय मिलाई दिन आग्रह मात्र गर्नु भएन कि मिति नै तोकेर ल्याइदिनसमेत अनुरोध गर्नुभयो ।

sagarmani mobile size

रातभर पटक्कै निदाउन सकिनँ । छटपटिका लहरहरू बार बार उर्लिरह्यो । पुरै रात आँखा झिमिक्कै नगरिकनै काटेँ । मानौ रात होइन सिंङ्गो युग नै काटेझैं आभास भयो ।

लमिले कन्या हेर्न जाने मिति र समय तोकि दिनु भएदेखि बुवा आमाको भुइँमै खुट्टा छैन । फुरफुर भएर सिमलको भुवा झैं खुसीले उडिरहनु भएको छ । आफुहरूले सोचे जस्तै घरान र आफ्नै स्तर सुहाउदो पढे लेखेको सुशील मात्र नभई अति सुन्दर कन्यालाई आफ्नो छोराको लागि हेर्न जाने सपना बुन्दैमा व्यस्त हुनुहुन्छ । अझ बुवा आमा भन्दापनि हजारौ गुणा बढी उत्सुक त मेरा तीन जना दिदीहरू देखिनुहुन्छ, नदेखुन पनि किन ? तिन तिन जना दिदीहरूका एक्लो भाइ म जो परेँ ।

म भने रातभर आफैँभित्र मच्चिरहने युद्धले पराजित भएर थकित छु । मेरो शरिरबाट प्राणै फुस्केला झैं गरी गलेको छु । घायल मनका पीडाहरू कहाँ गई पोखौँ म ? ठीक त्यो बलि दिन तयार पारेको बोकाको जस्तो मनस्थिति भएको छ मेरो । यी सबै कुराबाट बेखवर मेरा परिवारजनहरू मेरो लागि सोचे जस्तै कन्या भेटिएकोले बुहारी भित्रेयाउने कल्पना मात्रले पनि रोमान्चित हुनुहुन्छ ।

आफ्नो छोरालाई देखेर केटी पक्षहरूबाट केही टिका टिप्पणी गर्ने अवसर नै नपाओस भन्ने सोच राख्नु भएरै होला आमाले दिदीहरूलाई मेरो तयारीमा विषेश ध्यान पुर्याउन निर्देशन दिँदै हुनुहुन्छ ।

मेरा दिदीहरू पनि कँहा कम हुनुहुन्छ र ? उहाँहरू पनि एक से एक दामी साडी र गहनाले लादिएर आउनुभएको छ । मानौ उहाँहरू मेरा लागि कन्या हेर्न जानका लागि नभई आफैँ कन्या भएर प्रस्तुत हुनेझैँ गरी खुव ठाँटिएर आउनु भएको मात्र नभएर मेरा लागिसमेत हाम्रो हैसियत झल्काउने गरी डिजाइनर सेरवानी र त्यसमा म्याचिङ्ग जुत्तासमेत लिएर आउनु भएको रहेछ । मेरा तिनै जना भेनाजुहरू पनि एक से एक घरानियाँ र सम्पन्न हुँदा कोहीभन्दा कोही कम हुनुहुन्न नै । दिदीहरूको ठाँटबाट र पहिरन हेर्दा आ–आफ्नो हैसियतलाई प्रदर्शन गरिरहनु भए झैं देखिनु भएको छ । घरको वातावरण हर्ष र उल्लासको फागुने रंगमा रंगिएको छ तर म भने न त त्यो रंगमा नै रंगीन सकेको छु न त उहाँहरूले देखिरहनु भएको मीठो सपनालाई तोड्न नै सक्ने अवस्थामा छु, न त कन्यालाई हेर्न जाने मुडमा नै छु ।

बुवाले ढिलो हुन लागेको सुचना प्रवाह गर्न नपाउँदै आमाले मेरो पक्षमा वकालत गर्दै हुनुहुन्छ, ‘केटी हेर्न जाने कुरा हो तयार हुन केही समय त लागिहाल्छ नि । हजुर पनि कस्तो हतारिनु भएको भन्या । सबै दिदीहरू मिलेर भाइलाई तयार पार्दैछन् ।’

म लाचार कठपुतली बनेर दिदीहरूको चाहना अनुरुप आफूलाई सजाइरहेको छु । तर म आफू भने प्राणै नभएको प्लाष्टिकको म्यानीक्वीन जस्तो भएको छु । शरीरका तापक्रमहरू झन् झन् तल तल झर्दै चिसिएर हिउँको ढिक्कामा अनुदित भएर गइरहेको छु ।

आमा त मेरी जननी हुन् मलाई साह्रै साह्रै माया गर्नु हुन्छ, नगरुन पनि किन तिन तिनजना छोरी जन्मे पछि बल्ल बल्ल जन्मेको छोरा म । हाम्रो समाजमा छोराको महत्व कति हुन्छ भन्ने कुराको ज्ञान मेरी आमालाई भन्दा बढी अरु कसलाई होला ? मेरी आमाले छोरी छोरी जन्माउनु भएपछि सुन्न परेका कटाक्षका तिखा वाणहरूले कति कति पटक घायल हुनुभएको र छोरालाई जन्म नदिएसम्म भोग्न परेका अपार पीडाहरूबाट आफू पटक पटक आहत भएको व्यथाहरू आमाकै मुखारविन्दबाट धेरै धेरै पटक सुन्दै आएको छु । तर छोरीछोरी जन्मे पनि बुवाबाट पाएको माया र सान्त्वनाले गर्दा मात्रै आफूलाई सम्हाल्न सकेको कुरा पनि आमाले बारम्बार भनिरहनु हुन्छ । अझै पनि बुवा र आमा बीच आपसी मायाँ प्रेम, एक अर्का प्रतिको विश्वास र समझदारी कायमै छ । एकले अर्कालाई अतिनै मान सम्मान दिने गर्नुहुन्छ ।

म भने बुवाभन्दा आमाकै नजिक छु । आमाले मलाई प्राणभन्दा प्यारो गर्ने हुदाँ मनको कुनै कुनामा झिनो आशाका किरणहरू प्रस्फुटन भइरहन्छ, विश्वासको मुनाहरू पलाइरहन्छ र फेरि छिनमै पानीका फोकाहरू जस्तै बिलाएर पनि जान्छ ।

छटपटिका लहरहरू बार बार उर्लिरह्यो । पुरै रात आँखा झिमिक्कै नगरिकनै काटेँ । मानौ रात होइन सिंङ्गो युग नै काटेझैं आभास भयो ।

 

म के गरौँ ? कसो गरौँ ? कसलाई भनुँ मेरा मनका कुराहरू ? बुवालाई भन्ने त कल्पनासमेत गर्न सक्दिनँ । दिदीहरूलाई भनुँ भने पनि उहाँहरूले म प्रति देखिरहनु भएको सपनालाई ऐनाझैं भुँइमा खसालेर चकनाचुर पारिदिन पनि सकिरहेको छैन । हे ! भगवान मलाई यो कस्तो मोडमा ल्याएर यस्तरी पछारी दियौ उठ्नै नसक्ने गरी ।

सगुनका सामानसहित सवै जाने तरखर गर्दै भर्याङ्ग ओर्लदै हुनुहुन्छ । मेरो मन भने प्रफुल्लित हुनुको साटो झन् झन् उदासीको खाडलमा जाँदोछ । मन साह्रै साह्रै उदाश उदाश र हतास हतास हुँदोछ । मझधारमा फसेको डुङ्गाझैं ढलपल ढलपल गर्दो छ ।

म दिदीहरूको निर्देशनलाई अक्षरसः पालना गर्दै पाइला अघि चाल्दैछु र मन मनै सोच्दैछु कन्या हेर्न जाने कार्यक्रममा त दिदीहरू यति बिघ्न उत्साहित हुनुहुन्छ भने विवाहको दिन भएको भए झन के के पो गर्नु हुन्थ्यो होला ?

प्रत्युत्तरमा म के भनौँ जस्तो भएर फेरि पनि चुपै बसेँ ।

 

सानो सानो जन्ती जस्तै देखिने गरी हाम्रो कारहरू लामबद्व रुपमा मेरै छाती चिरे जस्तै गरी सडकको छाती चिर्दै गुड्न थाल्यो । जति जति कन्याको घरको दूरी नजिकिँदै छ उति उति मेरो मनको दूरी भने झन् झन् बढ्दो छ ।

कन्या पक्षको घर के भनौं महलै भने पनि भो दुलही झैं सिंगारिएको । हाम्रो स्वागतार्थ घरका सबै बुज्रुकहरू ढोकामै लामबद्व भएर उभिरहनु भएका । सबैले दुवै हात जोडेर नमस्कार गर्दै हामीलाई भित्र आशन ग्रहणका लागि लगिँदैछ । म आफ्नो गह्रौँ पाइलालाई सकेसम्म हलुको पार्ने प्रयत्नमा लागिरहेको छु ।

मभित्र उठिरहेको पीडाको शूल कम से कम मेरो अनुहारमा नछल्कियोस् भन्ने सोचाइबाट पनि अमुक्त छैन म ।

भव्य महलको भव्य सजावटले आफ्नो भव्यता दर्शाइरहेको छ । त्यसमाथि पाहुनाको स्वागतमा कुनै कसर नछाड्ने प्रण गरेझैं देखिन्छन् घरका सबै सदस्यहरू । हामीलाई बडो आत्मियतापूर्वक आथित्य सत्कार गर्दै बैठक कोठाको सोफामा बसाउनु भयो । लमीज्यूले एक अर्काका परिवारसँग एक एक गर्दै परिचयको आदान प्रदान गरायो ।

आफूहरूले खोजे जस्तै र सोचे जस्तै वर पाउन सकेकोमा प्रसन्नता व्यक्त गरे कन्या पक्षले । र साथै आफ्नो कन्या पनि कुनै पनि अर्थमा कोहीभन्दा कम नभएको कुरा अवगत गराउन पनि चुकेनन् उहाँहरूले । तर मेरो ध्यान भने जति नै प्रयत्न गर्दा पनि त्यतातिर मोडिनै सकेको छैन । आफ्नै उल्झनको माकुरे जालोमा अल्झरै बसेको छु ।

पर क्षितिजबाट पूर्णचन्द्र विस्तार बिस्तार धरतीमा ओर्ले जस्तै गरी आफन्तको सहारा लिएर पर भर्याङ्गबाट एउटी परी ओर्लर्दै छिन् । कुनै दन्त्यकथाको राजकुमारी झैं देखिने उनको रुप लावन्यले मन लोभिनुको साटो झन झन विकर्षणतिर भाग्दो छ । मेरा सबै परिवारहरू फोटोमा देखेको कन्याभन्दा हजार गुणा राम्री साक्षात् अप्सरालाई देखेर आँखा पनि झिमिक्क नपारिकनै हेरिरहनु भएकोछ । धपक्क बलेकी सुन्दर परी विस्तार विस्तार आफू सामु पाइला बढाउदै गरेको देखेर मख्खै परेको भान सवैको अनुहारबाट झल्किरहेको प्रष्टै देखिन्छ ।

म भने कसरी आफ्ना कुरा उनी समक्ष राख्ने होला ? उनले के सोच्ने होली ? भनुँ के भनुँ ? नभनु कसरी नभनु ? उनको सुन्दर मुहार जस्तै उनको सुन्दर भविष्यसँग खेलवाड गरेर अन्धकार कुवाभित्र धकेलिदिनु पनि त महापाप हो भन्दै छ एक मनले । उनको पाइला जसरी बढ्दो छ हामीतिर उति उति निराशाको कालो बादलले मेरो अनुहारलाई ढाक्न खोज्दैछ । जति उज्यालो बनाउँछु भनेर सोच्छु उति उति झन तुवाँलाले ढाके जस्तै गरी मेरो अनुहारको रंग मलिन भएर जाँदो छ ।

परिचयको आदन प्रदानको क्रमभरि उनले आफ्नो मृदुमुस्कानको जादु छर्दै वातावरणलाई नै धपक्क बालिरहिन् । मेरो अनुहार भने बल्नुको साटो झन् झन् निभ्दै गइरहेको छ चार्ज सकिन लागेको लाइटझैँ गरी । उनले मेरो अँध्यारो अनुहारलाई पुलुक्क हेरिन र चुपचाप उभिरहिन् ।

हामी दुईले एकअर्कालाई अझै राम्ररी चिनुन् र बुझ्न भन्ने सोच राख्नुभएर होला हामी दुवैका परिवारका सदस्यहरूले हामी दुवैलाई एकान्तमा कुरा गर्ने अवसर दिनुभयो । बल्ल तल्ल जेलबाट मुक्त हुन पाएको कैदी झैं त्यहाँबाट उम्केर भाग्न पाएकोमा एकैछिन भएपनि सन्तोषको सास फेरेँ । छिनभरमै कन्याको कोठामा पुग्नु पर्दा भने एउटा कैद खानाबाट मुक्तहुन नपाउँदै अर्को कैद खानामा पुगेझैं अनुभूति भइरहेको छ ।

म चुपचाप जड बनेर उनको कोठाभित्र उभिरहेको छु । बोल्ने कुनै शब्द नै नभेटेर मूर्तिवत् बस्नु बाहेक अर्को विकल्प देखिनँ पनि मैले ।

धन्न कन्या सुन्दरी मात्र होइन फरासिली पनि रहिछन् र पो त लज्जाको घुम्टोहरू आफैले उघारिन् र भनिन् –

“यता बस्नुहोस न सजिलो गरेर !”

उनले देखाएको स्थानमा चुपचाप बसिदिएँ ।

‘हजुरको मुहार साह्रै मलिन देख्छु । मलाई देखेर खुसी हुनुको साटो झन् बढी दुःखी हुनु भएझैँ देख्छु ? सन्चो हुनु हुन्न कि कसो ? वा त्यस्तो कुनै खास कारण छ कि ?’

प्रत्युत्तरमा म के भनौँ जस्तो भएर फेरि पनि चुपै बसेँ ।

‘साँच्चै त्यस्तो केही खास कारण छ भने मलाई भन्नुहोस अझै पनि केही बिग्रेको छैन । तपाईँ मलाई अस्वीकार गर्न स्वतन्त्र हुनुहुन्छ ।’

यति भनेपछि भने वल्ल मुख खोल्ने साहस पलायो म मा । मैले भनेँ ‘मेरा परिवारका सवै सदस्यहरू तपाईँलाई देखेर दङ्ग हुनुहुन्छ । साँच्चै पनि तपार्इँ कुनै परीभन्दा कम सुन्दर हुनुहुन्न, मेरो दुर्भाग्य नै भनौं अब म तपाईँलाई स्वीकार्न असमर्थ छु । तपाईँको सुन्दर भविष्यलाई अन्धकारको टनेलभित्र धकेल्न चाहन्न म । तपाईँ मभन्दा हजार गुणा बढी योग्य बरको लागि योग्य कन्या हुनुहुन्छ । मैले तपाईँलाई होइन बरु तपाईँले नै मलाई अस्वीकार गरिदिनु भएर यो बन्धन बाँधिनबाट मुक्ति दिनुहोस् ।’

‘यसको कुनै ठोस कारण जान्न सक्छु होला मैले ?’ आश्चर्य मिश्रित स्वरमा उनले प्रश्न पुनः दोहोर्याइन् ।

मैले विनम्रता पुर्वक निवेदन गरेँ –

‘मेरा एउटा असाध्यै मिल्ने साथी छ । जसलाई म सर्वाधिक माया गर्छु । ऊ बिना बाँच्ने कल्पनासमेत गर्न सक्दिनँ । मेरा परिवारका सदस्यहरू भने यस कुराबाट अनभिज्ञ हुनुहुन्छ । मैले मेरो परिवारसँग यी कुराहरू राख्न असमर्थ भएर नै तपाईँको साहारा खोजेको । तपाईँ पनि आफ्नो भविष्यलाई अन्धकारतिर नधकेलेर उज्यालोतिर लम्किनुहोस् । तपाईँलाई मैले यसो भनेर तपाईँको भावनामाथि खेलवाड गर्न र तपाईँको मनमा चोट पुर्याउन खोजेको भने अवष्य होइन । कृपया यति मात्रै बुझि दिनुहोस कि तपार्इँ जस्तो बत्तीस लक्षणले युक्त अप्सरा म जस्ताका लागि भने कदापि बनेको हुँदै होइन । तपाईँको लागि म हर दृष्टिकोणबाट अयोग्य छु । त्यसैले मलाई अस्वीकार गर्नुहोस् भनेर अनुरोध गर्दैछु ।’

केटी पनि छक्क परेरै सोच्न थालिन् होइन यो कस्तो खालको लोग्ने मान्छे रहेछ ? म जस्तो केटीलाई देखेर मन भित्र खुसीको हजार दियो बाल्नुको साटो उल्टै अस्वीकार गर्दैछ । कलेजतिर मेरो एक झलक पाउनको लागि होडै लागेर मरिहत्ते गर्छन्, कस्ता कस्ता मै हुँ भन्नेहरू समेत । मैले कुनै केटाहरूलाई भाउ नै नदिए पनि बत्तिमा पुतली झुम्मिए जस्तै गरि झुम्मिन आउँछन् मेरो वरिपरि मेरो प्रेममा शहिद हुन । तर आज त्यसको ठीक विपरीत मेरो परिवारले पनि चाहेको र मैले पनि सहमति दिएको व्यक्तिको प्रेममा म शहिद हुन चाहेको व्यक्तिले भने मलाई नै अस्वीकार गर्दैछ । यँहा त बिल्कुलै उल्टो गंगा बगिरहेको छ । त्यस्तो कुन चाहिँ युवतीले यिनको मन हरेको होला त ? म जस्तोलाई पनि अस्वीकार गर्न बाध्य बनाउने सायद अन्र्तजातिय भएकोले पो हो कि ? परिवारलाई भन्न नसकेर नै मेरो सहारा लिन चाहेको आदी इत्यादी कन्याको मनमा प्रश्नको ओइरै लागिरह्यो ।

हामी दुई बीच एकान्तको क्षण हाम्रो परिवारले निर्धारण गर्नु भएको समयभन्दा बढि घर्केछ क्यार । मेरी माइली दिदी हाँस्दै कन्याको कोठाभित्र आउनु भएर हामी दुबैलाई तल हाम्रो परिवारले बोलाउनु भएको सुचना मात्र दिनु भएन कि साथै लगेर पनि जानु भयो ।

मैले आफ्नो निर्णय सुनाउने हिम्मत गर्न सकिनँ । मेरो परिवारले पनि मेरो राय सुझाव लिन आवश्यक ठान्नु भएन, दुवैको परिवारको अनुहार भरि प्रशन्नताको लहरहरू उर्लिरहेको थियो । मैले सबैको आँखा छलेर सुटुक्क कन्यालाई हेर्दै अनुनय गरेँ अघिको कुरालाई सार्वजनिकरण गरिदिनका लागि तर किन हो कुन्नी उनी जड बनेर निहुरी रहिन् केही बोल्दै नबोली ।

हाम्रकक लागि पुरै खानपानको व्यवस्था मात्र नभएर खुसियालीको यो क्षण मुख मीठो गर्ने भन्दै गनिनसक्नु मिठाइका परिकारहरू हाम्रो सामु ल्याइरहेका छन् र मेरा बुवाआमा, दिदी र भेनाजुहरू पनि हर्षले गदगद हुदै आफुहरूलाई मन पर्ने मिठाइले मुख मिठो पार्दै हुनुहुन्छ । तर मलाई भने मिठाइहरू मिठाइ नभएर बिषमा अनुदित भएझैँ पो लागि रहेछ । निकै बेरसम्म खानपानको कार्यक्रम जारी रह्यो ।

अव हामी खानपान सकेर बिदावारी भएर जाने क्रममा छौँ । दिदीहरू आ–आफ्नो कारमा श्रीमानको साथमा जानुको साटो मेरो साथमा जाने भन्दै मेरै कारभित्र पस्नु भयो । म जति जति यी सब कुराहरूबाट भाग्न खोज्छु उति उति मेरै फेरो समातेर मेरै पछि पछि लागिरहेको छ । बल्ल बल्ल उम्किएँ भनेर सोच्नसमेत नपाउदै फेरि दिदीहरू मेरै पछि पछि लागिरहनु भएको छ । दिदीहरूलाई पनि के चाहियो अब मलाई जिस्काउने मात्र गर्नु भएन कि कन्याको रुप रंग आदी ईत्यादी बारे तारिफको पुल नै बाँधीरहनु भएको छ । अनि विवाहमा साडीले मात्र नपुग्ने रे ! साडीको रंग म्याँचिङ हुने गहनासमेत चाहिने माग राख्दै हुनुहुन्छ । हुन त मेरो दिदीहरूलाई यी सब कुराको कमी त छैन नै तर भाइको विवाहमा माइतीबाट पाउने उपहारको मूल्य बेग्लै हुन्छ चेलीहरूलाई । विचरा दिदीहरू खयाली पुलाउ पकाउदै हुनुहुन्छ । मेरो विवाहको तयारी कसरी गर्ने ? के के गर्ने ? क–कसलाई निम्त्याउने आदि आदि ।

हामी घर पुग्नु अगावै बुवा–आमा र भेनाजुहरू घर पुग्नु भए पनि बिवाह बारे नै चर्चा परिचर्चा गरिहनु भएकोरहे छ । दुलाहालाई बाहेक सबैलाई विवाहको रंग चढिसकेको छ । मेरो आमा भनेजस्तै बुहारी भित्र्याउन पाउने कल्पना मात्रैले पनि त्यसै त्यसै प्रफुल्लीत देखिनु हुन्छ । त्यस्तो रहरमा जन्मिएको एक्लो छोराको विवाहमा कुनै कसर बाँकी नरहोस भनेर मनमनै दृढ संकल्पित जस्तै देखिनु हुन्छ । बुवाको त झन के कुरा आफ्नो साह्रै प्रिय श्रीमतीबाट छोरी छोरी जन्मिएकोले त्यही निहुँमा आमा बुवा र आफन्त सबै मिलेर कतै दोस्रो विवाह गर्न बाध्य पार्ने त होइन भन्ने आशंकाले घेरिरहेको बेला, भित्र भित्रै पीडाले छटपटिरहेको बेला मलहम भएर जन्मेको छोराको विवाहमा के कमी हुन दिनुहुन्छ होला त ? बुवा त झन अर्थसँग आफ्नो हैसियत साट्ने तरखरमा तम्सीनु भएझैं देखिनुहुन्छ ।

कठै ! मेरा बुवा–आमा र दिदीहरूको यो सुन्दर सपना सपना मात्रै हुने, उहाँहरूको कल्पना पलभरमै चकनाचुर हुने सोचबाट मभित्र भित्रै धमिराले खाएको खोक्रो रुख समान भइरहेको छु । ओहो ! म भित्रको घाउ पाकेर फुट्न मात्र बाँकी छ । म के गरु ? आफैँसँग विवश छु, लाचार छु । म यस्तो हुनु मेरो रहर पनि त होइन ? सायद बाध्यता या फेरि मेरो नियति । दिग्भ्रमित छु आफैँ ।

रात रात भर सोचेरै काटेँ आज पनि । मन वेचैन छ कसरी पोखुँ मनभित्रको यो व्यथा । यसरि सबैलाई कुहिरोको काग बनाएर बस्नुभन्दा खुल्नुमा नै सबैको भलाई देखें । आखिर एक न एक दिन त यो पर्दा उठ्नु नै छ । जति ढिलो गर्यो उति झन् झन् उल्झन मात्र बढ्ने सोचेर कन्याको घरको फोनमा नम्बर घुमाएँ ।

‘हेल्लो ! कसलाई खोज्नु भएको होला ?’ उताबाट उही कन्याको सुमधुर स्वर गुन्जियो ।

आश्चर्य मिश्रीत स्वर गुन्जियो के रे ? केटी नभएर केटा पो हो रे ? मैले गलत सुने कि क्याहो ?’

 

‘ए ! मैले पनि तपाईँलाई नै खोजेको ?’ म फलाना बोलेको भन्दै आफ्नो परिचय दिएँ । आज पनि मैले तपाईँकै बारेमा सोचेर रात बिताएँ । तपाईँको परिवारको बारेमा मेरो परिवारको बारेमा र हामी दुवै जनाको भविष्यको बारेमा ।

‘हजुर हजुर म सुन्दैछु । भन्नुहोस न त के के सोच्नुभयो ?’

‘मेरो आमासँग म आसाध्यै निकट भएर पनि खुल्नै सकिनँ । अरुले मेरो समस्या नबुझे पनि आमाले त अवश्य बुझ्नुहुन्छ होला भन्ने विचारमा हुदाँहँुदै पनि मैले भन्ने साहस जुटाउन सकिनँ र तपाईँलाई फोन गरेको । मेरो मात्रै जीवनको सवाल भए कुरा बेग्लै हुने थियो तर अब मेरो जीवनसँग तपाईँको भविष्य पनि जोडिन लागेपछि तपार्इँको भविष्यलाई बर्वाद गर्न मेरो आत्माले नदिएकै कारण मैले तपाईँको सहारा लिन चाहेको । तपाईँलाई मैले त्यसैदिन अस्वीकार गर्न आग्रह गरेको थिएँ तर किन हो कुन्नी तपाईँ चुपचाप बसिदिनु भयो त्यसदिन ।’

‘के कारणले गर्दा होला ? तपाईँले मसँग यो सम्बन्धलाई अस्वीकार गर्न आग्रह गर्नु भएको भन्नुहोस न त म पनि मेरो परिवारलाई सम्झाउने प्रयत्न गरौंला ।’

म असमाजसमा परें कसरी भन्ने होला भनेर ?

उनले के सोचेर हो भन्न थालीन् भन्नुहोस न त कुन केटी हो ? कसकी छोरी हुन् ? कहाँ कि हुन् ? कहाँ बस्छिन् ? जस्ले गर्दा तपाईँले हाम्रो सम्बन्ध जोड्न पूर्वनै भत्काउन चाहँदै हुनुहुन्छ ? प्रश्नको ओइरो नै बर्षाइन् उनले ममाथि ।

मैले भनेँ– ‘बडो धैर्य पूर्वक सुन्न सक्नु पर्छ । कुरो अर्कै छ, जुन कुरालाई तपाईँले पचाउन नसक्नु भएर मलाई घृणासमेत गर्न सक्नुहुन्छ होला सायद । घृणा गर्दैमा सत्य लुकाएर लुक्ने पनि होइन, एक न एक दिन उदघाटित भइनै हाल्छ । यो धरतीमा जन्मेर जे जे नियति भोग्न अभिशप्त हुन्छौं हामी त्यो न त हाम्रो हातमा नै हुन्छ । न त जन्म दिने बुवा आमाकै हातमा हुन्छ, हुन सक्छ भने केवल त्यो सृष्टिकर्ताको मात्र ।’

अधैर्य हुँदै भनिन् उनले– ‘ओहो ! भुमिका मात्रै धेरै नबाँधेर खुलस्तै बताइदिनुहोस न कुन केटीको लागि तपाईँले मलाई अस्वीकार गर्न खोज्नु भएको ?’

प्रत्युत्तरमा मैले भनेँ – ‘केटी होइन केटा हो ।’

‘हँ ! अविश्वास र आश्चर्य मिश्रीत स्वर गुन्जियो के रे ? केटी नभएर केटा पो हो रे ? मैले गलत सुने कि क्याहो ?’

‘हैन हैन यँहाले सही नै सुन्नु भएको हो ! हो, मेरो केटी साथी नभएर केटा नै साथी हो जो बिना म आफुलाई अपुरो र अधुरो सम्झन्छु । ऊ बिना म बाँच्नै सक्दिनँ ! अथवा यसो भनौं हामी दुवै एक अर्का बिना बाँच्ने कल्पनासम्म पनि गर्न सक्दैनौं । त्यसैले त मैले आग्रह गर्दैछु यो विवाहलाई तपार्इँ अस्वीकार गर्नुहोस भनेर ।’

कन्या पक्षबाट विवाह अस्वीकार भएको खवरले हाम्रो परिवार भित्र ठूलै भुईचालो जानु स्वाभविकै भयो । भित्री कारण खोतल्दै जाँदा मेरो परिवार लज्जाबोधले पानी पानी हुनु पनि अस्वाभाविक भएन । मेरो परिवारको प्रतिष्ठा मैं आँच नआउने त झन सवालै भएन ।

यो कुराको चाल पाएपछि आफ्नै घरबाट अस्वीकृत भएँ म । बुवाको प्रतिष्ठाको अगाडि आमालेसमेत घुँडा टेकिदिनु भयो र आफ्नो ममताको समेत गला रेटिदिनु भयो । चुपचाप बुवाको आदेश पालना गर्नुबाहेक अर्को बिकल्प रहेन मसँग । खुट्टामा बाँधेर राखेको बस्तु झैं लाचार हुदाँसमेत मलाई जन्म दिने मेरी जननी जसले मलाई यो उमेरसम्म आफ्ना ममताको आँचल भित्र लुकाइरहिन् मेरो खुसीमा मभन्दा बढी खुसी भइदिने मेरो दुखमा मभन्दा बढी दुखी भइदिने मेरो आमाको मनबाट भने म कदापी अस्वीकृत हुने छैन भन्ने मेरो विश्वासको सगरमाथा त्यति बेला गर्लम्मै ढल्यो जुन बेला बुवाले मलाई घरबाट तुरन्तै निस्कने आदेश दिइरहँदासमेत मेरी आमा केही नबोली चुपचाप उभिरहनु भयो ।

यसरी मैले गर्दै नगरेको गल्तीको सजाए भोग्न अभिशप्त भएँ म ।

के म यस्तो भएर जन्मनु मेरै भुल हो त ? मेरै गल्ती हो त ? यो मेरो तेस्रो रङ मेरो कमजोरी नभएर मेरो परिचय हो, मेरो पहिचान हो भन्ने कुरालाई स्विकार्नुको साटो उल्टै उहाँहरूको आँखाको नानी म आँखाको नानी नभएर आँखामा बिझाउने कसिङ्गर झैँ भएँ । आफूलाई जन्मदिने बावु आमाको मायाँ ममतामासमेत भेदभाव सहन बाध्य भएँ म । आफ्नो नैसर्गिक अधिकारबाटसमेत बन्चित भएँ म ।

अहिले म मेरो सहरदेखि टाढा, धेरै टाढा मेरो परिवार मेरो आफन्त र मेरो समाजको मुखै नदेख्ने ठाँउमा गुमनाम जिन्दगीको छाता ओढेर मेरो ब्वाइफ्रेन्ड अर्थात मेरो त्यही केटा साथीसँग जीवन यापन गर्दैछु । हाम्रो छुट्टै संसार भित्र हामी एकदमै खुसी छौँ, सुखी पनि छौँ । र पनि घर परिवार विषेश गरी आमाको यादले भने कता कता मनभित्र बिझाइरहन्छ । अदृश्य काँडाले हो वा केले केले ?

हुन सक्छ, अरुको निम्ति म अँध्यारो टनेलभित्र अनन्त अन्धकारमा रुमल्ली रहेको हुँला तर मेरो अनुभूतिका निजत्वमा असंख्य असंख्य जूनकिरीहरु जगमगाइरहेका छन् । सायद अरुका निम्ति यो अनुभूति प्राप्त गर्नु पनि असम्भव सिवाय केही नहुन सक्छ ।

प्रतिक्रिया
Loading...