काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँको हालै सम्पन्न कार्यसमितिको बैठकले दुई प्रतिष्ठित मुक्तक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानले मुक्तककार उषा शेरचनलाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ र मुक्तककार डा. रूपक श्रेष्ठलाई ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार भीमदर्शन मुक्तक पुरस्कारको राशि ५१ हजार रुपैयाँ र कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कारको राशि ३१ हजार रुपैयाँ रहेको छ।

वि.सं. २०१२ भदौ ६ गते जन्मनुभएकाे उषा शेरचनका ‘अक्षरहरूका शिविरबाट’ र ‘त्रासदीका हिमनदी’ मुक्तकसङ्ग्रहलगायत विभिन्न विधाका एक दर्जन कृतिहरू प्रकाशित छन्। उहाँ २०३० को दशकमा पोखरामा आयोजित टिकटमा मुक्तक कार्यक्रमका सक्रिय सहभागी मुक्तककारका रूपमा परिचित हुनुहुन्छ।

त्यसैगरी वि.सं. २०२२ माघ ६ गते जन्मनुभएका डा. रूपक श्रेष्ठका ‘पोख्तक’, ‘चौशूल’ तथा ‘पोख्तक’ को अङ्ग्रेजी अनुवाद मुक्तक कृतिलगायत विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित छन्। विगत लामो समयदेखि बेलायतमा बस्दै आउनुभएकाे श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा नेपाली मुक्तकको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्दै आउनुभएको छ।

दुवै स्रष्टाले मुक्तक विधाको उन्नयन र प्रवर्द्धनमा पुर्‍याउनुभएकाे योगदानको आधारमा पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ। यसअघि भीमदर्शन मुक्तक पुरस्कार यादव खरेल, सरुभक्त र नन्द हाङ्खिमलाई प्रदान गरिएको थियो भने कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार रुद्र ज्ञवाली, अनुराधा ढकाल र खगेन्द्र गिरी कोपिलालाई समर्पण गरिएको थियो।

नेपाली आधुनिक मुक्तकका प्रथम प्रयोक्ता भीमदर्शन रोका तथा मुक्तकका विशिष्ट साधक कृष्णप्रसाद पराजुली, रत्नशम्शेर थापा र चेतन कार्कीको सम्मानमा स्थापित यी दुवै पुरस्कार प्रतिष्ठानको वार्षिकोत्सव तथा मुक्तक दिवसका अवसरमा आगामी माघ १८ गते आइतबार एक समारोहका बीच समर्पण गरिने प्रतिष्ठानले जानकारी दिएको छ।