तीसको दशकदेखि अविरल साहित्यमा साधनारत नाम हो सबैकी दिदी ‘उषा शेरचन’ । उहाँ कविता, कथा, उपन्यास लगायत गीत मार्फत उदाइरहनु भएको स्रष्टा हुनुहुन्छ । वि.स २०१२, पोखरामा उहाँको जन्म भयो । उहाँले स्नातक तहसम्म अध्ययन गर्नुभएको छ । उहाँको हालसम्म तीन वटा कवितासङ्ग्रह, एउटा उपन्यास र दुई कथासङ्ग्रह प्रकाशित छन् भने पाँच वटा गीति एल्बम रेकर्डेड छन्  । उहाँको नयाँ कथासङ्ग्रह ‘बेग्लै म’ बजारमा आइसकेको छ ।

प्रस्तुत छ, पछिल्लो कथासङ्ग्रह `बेग्लै म´ मा केन्द्रित रहेर उषा शेरचनसँग विभिन्न विषयमा लेखक तथा पत्रकार जनक कार्कीले गर्नुभएको कुराकानी :

`बेग्लै म´ कथासङ्ग्रहमा के कुरा बेग्लै छ ?

– मेरो कथा लेखनको धार भनेकै पितृसत्तात्मक सोच र त्यो सोचले ग्रसित समाजमा विद्यमान कट्टर पितृवादी मानसिकता र महिलामाथि गरिने अमानवीय व्यवहार र दोस्रो दर्जाका रूपमा राख्ने कुसंस्कार, अनि समाजमा उठाउन अत्यावश्यक मुद्दाहरू, समाजमा व्याप्त कुरीति, विसङ्गति, मानवीय सम्बन्धले निम्त्याउने विभिन्न उल्झन, समस्या र मानसिक अवस्थाका अनेकन् ऊहापोह र जटिलताका साँधहरू भत्काउँदै समाज रूपान्तरणका लागि चाहिने तत्त्वहरू, त्यो पनि सकारात्मक हिसाबले उठाइरहेकी हुन्छु, एउटा मानव भएको नाताले र मानवीय संवेदनाको हिसाबले । प्रायः मैले मानवीय सम्बन्ध र संवेदन  पात्रहरूको माध्यमबाट दिन खोजेका कुरा वा मुद्दालाई भित्री तहमा पुगेर गहिरोसँग केलाएर कथा लेख्छु । यही कथाको सिद्धान्तभित्र नलेखिनु नै बेग्लै हुन गयो सायद ! समग्रमा मेरो यो दोस्रो कथासङ्ग्रह कथा-क्यानभासभित्र पोतिएका जीवन र जगतका मानवीय सम्बन्ध र प्रवृत्तिका बेग्ला बेग्लै रङ्गहरू छन् !

यस कथासङ्ग्रहमा अटाएका कथाहरूले कसका र कस्ता कथा भन्छन् ?

– जीवन र जगतबाट नै आएका हुन् मेरा कथाका प्लट र पात्रहरू ! जसका बेग्लाबेग्लै जीवन भोगाइहरू छन् ।

मैले विभिन्न माध्यमबाट देखेका-सुनेका-पढेका-चिनेका पात्रहरूलाई अलिकति काल्पनिकताको जलप लगाई कथाको माध्यमबाट एउटै चौतारोमा उभ्याउने कार्य गरेकी छु । त्यसैले पाठकहरूलाई लाग्न सक्छ – कथाका पात्रहरूलाई कतै देखेझैँ, कतै सुनेझैँ, कतै भेटे या चिनेझैँ ।

यहाँले कथाहरू खोज्दा कस्तो विषयलाई प्राथमिकता दिनुहुन्छ र त्यो कथाको माध्यमबाट समस्या मात्र उजागर गर्नुहुन्छ वा त्यसको समाधानतिर पनि उन्मुख गराउनुहुन्छ ?

– यो प्रश्नको उत्तरमा निबन्धकार विदुषी कुमारी लामा बहिनीको शब्द सापटी लिनु उपयुक्त लाग्यो:-

“समाजमा उम्रिरहेका विकृत मानसिकता र समस्याहरू उठाइएका छन् उषा शेरचनका कथाहरूमा । तथापि उनी समस्या मात्र उठाएर पात्रहरूलाई अलपत्र छाड्दिनन् । उनी आँट, भरोसा र आशा पनि भरिदिन्छिन् । समयको माग नै यही हो । आज हरेक चेतनशील जीवन अस्तित्व र पहिचानको निम्ति सङ्घर्षरत छन् । भलै आजपर्यन्त समाजको मूल भँगालोभन्दा टाढा पारिएकाहरूको पहिचानदाबीको यात्रा सहज पक्कै छैन । पितृसत्तात्मक द्विलिङ्गीय कट्टरता माझ लैङ्गिक अल्पसङ्ख्यकहरूको अस्तित्व वकालत वास्तवमै गाह्रो छ । शेरचनका कथाहरू समाजमा हुर्किंदै गरेका अनेक सामाजिक मानसिक जटिलता र त्यसमाथिको मन्थनमा केन्द्रित छन् ।”

यहाँलाई नेपाली साहित्यको एउटा अथक स्रष्टाको रूपमा चिन्छौँ । यहाँकै समकालीन लेखक कति अहिले यो धर्तीमा छैनन् भने कतिले लेखनमा सक्रियता देखाउन सकेका छैनन् । यहाँको ऊर्जा एकदम लोभलाग्दो छ । यहाँ जस्तै ऊर्जाशील रहिरहन के गर्नुपर्ने रहेछ ?

– हिन्दू धर्मशास्त्र बमोजिम मान्छेको आयु १०० वर्ष निर्धारण गरिएको छ । र, २५, २५ वर्षको दरले भाग गरिएको भएर ५० देखि ७५ वर्षलाई “वानप्रस्थ आश्रम” अनि ७५ देखि १०० वर्षलाई “सन्यास आश्रम” भनिएको छ !

हुन त उमेर हुँदा पनि मलाई कसैप्रति रीसराग लागेन । कसैबाट कुनै अपेक्षा पनि राखिनँ । शर्त सहितको सम्बन्ध पनि कसैसँग गाँसिनँ । कसैलाई पनि उचाल्ने पछार्ने अर्थात् आफ्नो स्वार्थ मुताबिक कुनै पनि हिसाबले राजनीति गरिनँ ! सकेसम्म सबैप्रति समभाव राख्ने स्नेह र सद्भाव बाँड्ने कोसिस नै गरेँ बरु उल्टै ! कसैको भलो गर्न नसके पनि कुभलो पनि कहिल्यै चिताइन ! नकारात्मक ऊर्जा बाँड्ने काम पनि कहिल्यै गरिनँ । कसैको पिठ्युँ पछाडि चाहिने नचाहिने कुरा काट्दै हिँड्ने काम पनि गरिनँ । कसैको व्यक्तिगत अर्थात् निजी जीवनमा चासो लिने, चियोचर्चो गर्ने र चाहिने नचाहिने टीकाटिप्पणी गर्दै हिँड्ने काम पनि गरिनँ । पद, मान, पदवी पुरस्कार र सम्मानको पछि पनि कहिल्यै भागिनँ ! मलाई त अग्रज दाजुदिदीकी बहिनी अनि भाइबहिनीहरूको दिदी सम्बोधन नै प्रिय लाग्छ ! न कि वरिष्ठ वा अन्य नानाथरीका पदवी र सम्बोधन नै !  मञ्च, वाचन आदिको मोह पनि कहिल्यै राखिनँ । आफ्नो प्रतिस्पर्धा आफैँसँग बाहेक कसैसँग अस्वस्थ प्रतिस्पर्धा पनि कहिल्यै गरिनँ ! कसैले निम्तो गरे पनि नगरे पनि कहिल्यै गुनासो गरिनँ । कसैसँग कहिल्यै पनि कुनै आग्रह वा पूर्वाग्रह राखिनँ ! बाँचुन्जेलको जिन्दगी हो हाम्रो । मरेपछि केही पनि कुरा साथै लैजान पाउने होइन भन्ने ज्ञान पनि कायमै छ !

यति गर्दागर्दै पनि कसैले मप्रति गलत अवधारणा पाल्छन् वा राख्छन् भने त्यो मेरो नभई तिनकै हो भनेर उपेक्षा गर्ने गर्छु ! सायद यिनै प्रमुख कारण हुनुपर्छ ऊर्जाशील रहन । हुन त म उर्वर लेख्ने साहित्यकार पनि होइन । र, आफूलाई एक प्रतिशत मात्रै साहित्यकार, बाँकी उनान्सय प्रतिशत गृहिणी मान्छु । तथापि जेजस्तो बाधा अड्चन आए तापनि कलम भने आज पर्यन्त पनि रोकेकी छैन र अक्षरहरूको साथमा निरन्तर हिँडिरहेकी छु । भलै कम लेख्छु तर साथ भने छोडेकी छैन । र, म यसमा पनि सचेत छु मेरा हरेक सिर्जनामा मेरै अनुहार देखियोस् ! अब त डाँडो पारिको घाम न हो जतिखेर पनि अस्ताउन सक्छु !

यहाँको लामो साहित्यिक यात्राको क्रममा पाका पुस्तादेखि अहिलेका एकदम उदीयमान साहित्यकारसँग सङ्गत रहेको देखिन्छ । उहिलेका र अहिलेका लेखकमा के कुराको अन्तर देख्नुहुन्छ ?

– अग्रज दाजुदिदीहरू सबैको स्नेह पाउने समकालीन साथीहरूबाट सद्भाव र अनुजबाट आदर पाउने भाग्यमानी साहित्यकार हुँ भन्ने लाग्छ स्वयंलाई पनि । यसरी अग्रज र अनुज बीचको सुन्दर एवम् मजबुत पुल हुन पाउनु पनि भाग्यकै कुरा ।

अप्रत्याशित रूपमा यसरी सबैबाट अत्यन्तै अगाध र प्रगाढ माया पाउँदा अत्यन्तै भावुक हुन पुग्छु कहिलेकाहीँ !  हामीले लेखे बापत पाउने भनेकै यस्तै माया र सद्भाव हो, जसलाई कुनै कुरासँग तुलना गर्न सकिन्न । र, संसारको कुनै पनि तुलोले जोख्न सक्दैन पनि !

लेखन र शैली अनि विषयवस्तु समय बमोजिम परिवर्तन भइरहन्छ । जुन स्वाभाविक प्रक्रिया नै हुन् । उ बेला साहित्यकार कम थिए मनोरञ्जनका साधन कम भएको कारण साहित्यिक कृतिहरू बजारमा निस्कनासाथ त्यसको भाउ नै बेग्लै हुन्थ्यो । साहित्यकारहरू कम समालोचकहरू असल र गहन हिसाबले समालोचना गर्ने अनि पाठक पनि साहित्यिक कृति भनेपछि हुरुक्क हुनै बेग्लै माहौल अर्थात् स्वर्णकाल थियो । अहिले पाठकगण भन्दा लेखक कविको संख्या अत्यधिक छ । अनि समालोचकको खडेरी त सामाजिक सञ्जालको माध्यम भने फराकिलो । घरमै बसेर बुढी औंला थिचेर संसार भ्रमणमा निस्कन सकिने सहज माध्यम छ । तर को कति पानीमा छ भनेर नापिदिने समालोचकहरूको कमी भने अति नै छ । सायद सबैभन्दा ठूलो अन्तर यही हो कि त ?

लेख्दा के पाउनुहुन्छ ?

– कसैले तैंले लेख्नै पर्छ भनेर लेख्ने होइन ? लेखेरै पेट पाल्न सक्ने अवस्था भएर लेख्ने पनि होइन ! लेखेर के के नै हुने वा के के नै पाउने भएर पनि होइन ? तर लत लागेपछि नलेखी बस्न पनि नसकिने । त्यसो त पुस्तक निकाल्दैमा केके हुने र ननिकाल्दैमा केके नै बित्ने पनि होइन ?

र पनि लेख्छौँ हामी  र पुस्तक प्रकाशन गर्छौं । किन लेख्छौँ होला हगि यति कष्ट सहेर ? कहिलेकाहीँ अचम्मित हुन्छु आफैं ! लेख्नु हाम्रो नियति नै हो त ? भन्ने पनि सोच्छु कहिलेकाहीँ । हुन त मान्छेले जे गर्छन् आफ्नो आत्मसन्तुष्टि कै लागि गर्छन् । म पनि आफ्नै आत्मसन्तुष्टिकै लागि लेखिरहेकी हुन्छु सायद !

६ दशकभन्दा लामो उमेरको यात्रा पार गरेर आउनुभएको छ । उमेर के रहेछ जस्तो लाग्छ ?

– अहिले म सत्तरी पुग्न एक वर्ष मात्रै बाँकी छ । आजभन्दा आधा शताब्दी अघि मैले साहित्यिक यात्राको सुरुआत गर्दा मेरा लागि सामाजिक र पारिवारिक मार्ग सहज पक्कै थिएन । अहिलेसम्म पनि महिला मैत्री समाजको निर्माण भएको छैन र असमानताको गहिरो खाडल अझै पुरिएको छैन भने आजभन्दा सत्तरी वर्षअघि कस्तो थियो होला ? हाम्रो पितृसत्तात्मक सोच र रुढीवादी सोचले ग्रसित समाज भनेर तपाईँहरु स्वयंले पनि अनुमान लगाउन सक्नुहुन्छ । तर असहज मार्ग छ भनेर हिम्मत हारिनँ मैले । हिँड्न कहिल्यै छाडिनँ । म स्वयंले नै स्वयंका लागि बाटो खन्दै अगाडि बढिरहेँ । जतिसुकै आँधीहुरी आए पनि कतै नरोकिई निरन्तर हिँडिरहेँ, हिँडिरहेँ र आज पर्यन्त हिँडी नै रहेकी छु । सोच्छु सहज मार्ग त जसले पनि तय गर्नसक्छ ! असहज मार्ग तय गर्नु पो गर्नु ! मैले सधैँभरि भन्ने गरिरहेकै हुन्छु, “यत्तिकै हात बाँधेर बुढेसकाललाई स्वागत गर्नुभन्दा सिर्जनशील भएर बस्नु नै राम्रो” । त्यसकारण उमेर भन्ने कुरा पनि जन्मेदेखि मृत्युसम्म निरन्तर हिँडिरहनुपर्ने प्राकृतिक नियम र जीवनको रीतजस्तै हो !

एउटा साह्रै सरल प्रश्न तर जटिल विषयको प्रश्न गर्छु । जिन्दगी के रहेछ ?

– जिन्दगी भनेको जन्मेदेखि मृत्युसम्मको जीवन, बाँच्नु भनेकै पलपल “मृत्युको अघिल्तिर” पर्नु । र यसरी जीवन भन्नु जन्मनु र मृत्यु बीच बाँच्ने दूरी मात्रै हो !

तपाईं पोखराको उत्पादन हुनुहुन्छ । पोखराको माटोमा के छ जसले  साहित्य, कला र संगीतलाई निरन्तर उमारिरहेको हुन्छ ?

– सौभाग्यवश म त्यस्तो ठाउँमा जन्मेँ जहाँ विश्वप्रसिद्ध धवल माछापुच्छ्रे र अन्नपूर्णका काखहरू छन्, जहाँ रुपा  बेगनास र फेवा जस्ता सुन्दर तालहरू छन्, जहाँ सेती नदीका सुसाइहरू र पातले छाँगोका गहिराइहरू छन् अनि गाइनेदाइका हे वरै सारङ्गीका धूनहरू छन्, जहाँ टिकट काटेर मुक्तक सुन्ने परम्परा पनि छ । आधुनिक नेपाली कविताका भीष्मपितामह कवि शिरोमणि लेखनाथ पौडयालको जन्मथलो र मूर्धन्य कवि भूपी शेरचन र चेतन कार्की जस्ताको कर्मथलो पोखरामा, जनकवि केशरी धर्मराज थापा, लोक कवि अलि मिँया, लोक कवि अलि मिँया, कल्याण शेरचन, क्षेत्र गुरुङ्ग, झलकमान गन्धर्व, सरोज गोपाल, दुर्गा बराल, विश्व शाक्य र मुकुन्द शरण उपाध्याय दाइहरूजस्ता सम्राट्हरू त धेरै देखिए साहित्यमा । तर महिला साहित्यकार भने कोही देखिएन । गायनमा बाबा राणा, नृत्यमा चन्द्रमाया रञ्जित (थापा) रत्न परियार नाटकमा हिन्दू गुरुङ, कर्म गुरुङ, निलम गुरुङ आदि हुनुहुन्थ्यो !

तीसको दशकपछि सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी शिब, विजय बजिमय, विक्रम गुरुङ विनोद गौचन, नवराज कार्की, बद्री विनोद ‘प्रतीक’ आदिका बीच म उषा शेरचन झुल्किन पुगेँ । हुन त हरिदेवी कोइराला भाउज्यू र सुलोचना मल्ल पनि प्रकट भए । तर हरिदेवी कोइराला भाउज्यू लोकगायिकाको उचाइ छुन सफल हुनुभयो अनि सुलोचना भने फाट्टफुट्टमै सीमित रहिन् ।  फाट्टफुट्ट लेख्नुहुने अरू पनि हुन सक्छन् त्यसो त मलाई थाहा नभएकाहरू पनि । अहिले भने धेरै नै हुनुहुन्छ भाइबहिनी पुस्ताका । तर पनि पुरुष साहित्यकारको दाँजोमा कमै भए पनि टक्कर दिन सक्ने महिला साहित्यकार जन्मिसकेका छन् । पोखरामा जन्मनु भएका साहित्यकारहरूले राष्ट्रिय स्तरमै ख्याति आर्जित गर्दै आउनु भएको कुरा सर्वविदितै छ । त्यसैले पोखरा साहित्यका लागि उर्वर भूमि हो भनिरहन परेन नै !

तपाईंहरू युवाकालमा हुँदा नेपाली साहित्यको माहौल र अहिलेको साहित्यिक माहौल बिच के कस्तो भिन्नता वा समानता पाउनुहुन्छ ?

– हाम्रो पालामा न अहिलेको जस्तो संचारका माध्यम टेलिभिजन, युट्युब, फेसबुक वा अन्य केही थियो ! न कहिल्यै अग्रज दाजुभाइ दिदीबहिनीहरूले कविता वाचन कसरी गर्छन् ? भनेर देखेका नै थियौं, न त ज्ञान नै थियो ! संघसंस्था कसरी चलाउने भन्ने न त ज्ञान थियो । न त कहिल्यै देखेका नै थियौं न त सिकेका नै थियौँ ! हामीले हाम्रो बाटो स्वयं निर्माण गर्यौँ । अनि गन्तव्य पनि स्वयंले निर्धारण गर्‍यौँ । न त कोही मार्गदर्शक नै थिए हाम्रा केही केही अत्तोपत्तो नहुने बेलामा पनि हामीले आआफ्नो शैली स्वयंले निर्माण गर्‍यौँ । अनि संघसंस्थालाई पनि हामीले हाम्रै हिसाबले हाँक्दै पनि गयौं । उ बेला कविता नहेरी वाचन गर्दा राम्रो हुने जानेर वा जानीजानी नभई जानी नजानी वाचन गरियो र, सुन्नु हुने दर्शक श्रोताबाट वाहवाही र तालीको हिसाबले ठिकै गर्‍यौँ होला भन्ने सोचियो ! अनि बाहिर पाएको तालीको बदलामा भने घरमा आमाको गाली मज्जाले खाइन्थ्यो ।

असार ९ गते हुने कविता महोत्सवकै कुरा गरौँ । हाम्रो पालामा त श्री ५ महाराजाबाट शीर्षक बक्सेपछि त्यसैको आधारमा कविता लेख्नु पर्ने हुन्थ्यो । खचाखच भरिएको भव्य एवम् गरिमामय प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयभित्र पाइला टेक्दा पनि त्यसैत्यसै मनमा एकप्रकार दकस लागेर आउँथ्यो । अहिले माहौल बेग्लै रहेजस्तै सबैसबै बेग्लै छ !

साहित्य कला सिर्जना गर्नु सबैको नैसर्गिक अधिकार हो । चाहे वैचारिक हिसाबले लेखुन् चाहे राजनैतिक वा अन्य अन्य हिसाबले ! कस्तो लेखेका छन् ? त्यो छुट्याउने चाहिँ असल समालोचकको धर्म हो तापनि अहिले साहित्य सिर्जना निकै नै फस्टाएको तर समालोचकको भने खडेरी परेको छ । यसकारण हामी कतिको पानी छौँ ? भनेर दूधको दूध पानीको पानी छुट्याउने भने कोही छैनन् भने पनि हुन्छ !

खास गरेर तीसको दशक अगाडि लेखक कविहरू कम थिए, सिर्जना पनि कमै संख्यामा हुन्थ्यो अनि सोही अनुपातमा असल समालोचकहरू पनि हुने भएको कारण गीत संगीतजस्तै साहित्य सिर्जनाको पनि स्वर्णकाल थियो भन्ने लाग्छ ! अहिले छैन !

लगभग तपाईंका सबै सपना पूरा भए होलान् भन्ने अनुमान लगाउँछु । यदि बाँकी छन् भने ती सपना के कस्ता छन् ?

– जीवनमा केही गरेँ भन्ने घमण्ड नगरे जस्तै केही गरिनँ भन्ने पछुतो पनि छैन । न कुनै विशेष चाहना र रहर बाँकी छन् । न कुनै कुरामा लोभ न कसैसँग प्रतिस्पर्धा नै !

अचेल भने पहिले जस्तै भ्याई नभ्याई दौडधुप गर्न मन पटक्कै लाग्दैन । यता जाऊँ उता जाऊँ भन्ने पनि लाग्दैन । एक्लै बस्नुपर्दा पट्यार पनि पटक्कै लाग्दैन । बरु एक्लै शान्तसँग बसेर आफ्नो मन मुताबिक एवम् अनुकूलता बमोजिम आफ्नै हिसाबले मात्रै कार्य गर्न र घर बाहिर निस्कन मन लाग्ने भएको छ !

मनमस्तिष्कले जे चाहे पनि हार्दिकतापूर्वक गर्नुभएको निम्तो स्वीकार गर्दै उहाँहरूकै सम्मानका लागि भ्याई नभ्याई न सही सकेसम्म उपस्थिति जनाउने कोसिस भने सधैँ गर्छु । यो चाहिँ मेरो व्यक्तिगत खुसीको लागिभन्दा उहाँहरूकै खुसीको लागि हो असलमा !

अहिलेसम्म जिन्दगीमा जे जे गरेँ बाँच्नका लागि, ती बाँच्ने सुन्दर बहाना मात्रै हुन् । बाँकी भ्रम हुन् । मृत्यु मात्रै अन्तिम सत्य हो ।

अन्त्यमा एउटा स्वतन्त्र प्रश्न जसमा मन लागेको उत्तर दिन सक्नुहुन्छ ।

– जीवन र जगतलाई नजिकैबाट बुझ्न अवसर दिनुहुने ती तमाम व्यक्ति र प्रवृत्तिहरू, ती तमाम चिज र कुराहरू,  ती तमाम पीडा र खुसीहरू, ती तमाम समस्या र समाधानहरू, ती तमाम चोट र मल्हमहरू, ती तमाम सुख र दुःखहरू, ती तमाम हाँसो र रोदनहरू, ती तमाम सपना र बिपनाहरू, ती तमाम प्राप्ति र अप्राप्तिहरू, ती तमाम संघर्ष र सफलता /असफलताहरू, ती तमाम उकाली र ओरालीहरू, ती तमाम अग्लाइ र गहिराइहरू र ती तमाम तिता मीठा पलहरू सबै सबैलाई हार्दिक धन्यवाद । जसले मेरो उमेरको हिसाबले अस्ताचलको घाम भए तापनि मेरै नाम बमोजिमको जीवन बाँच्न सौभाग्य मिलिरहेको छ आजसम्म !