कवि भूपी शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गरिने यस वर्षको भूपी काव्य पुरस्कार चर्चित साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ ।

८९औँ भूपि जयन्तीका अवसरमा आउँदो पुस १० मा पोखरामा आयोजना गरिने एक विशेष कार्यक्रमका बीच साहित्यकार शेरचनलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

हरेक दुई–दुई वर्षमा दिइँदै आएको यो पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा र तीर्थ श्रेष्ठ पुरस्कृत भइसक्नु भएको छ ।

विसं १९९२ पुस १० गते मुस्ताङमा जन्मिएका भूपी लेखनको आरम्भिक चरणमा सर्वहाराका लागि कविता लेख्दै पछि समसामयिक विषयमा सरस र व्यङ्ग्यात्मक कविता लेख्दै सशक्त कविका रुपमा स्थापित बन्नु भएको थियो । उहाँको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रह (२०२५) लाई नेपाली कवितामा विशिष्ट मानिन्छ । भूपिले सो कृतिबाट २०२६ सालको साझा पुरस्कारसमेत प्राप्त गर्नु भएको थियो ।

पुरस्कृत साहित्यकार उषा शेरचनका नजन्मेका आस्थाहरू कविता सङ्ग्रह (२०४८), अक्षरहरूका शिविरबाट मुक्तक सङ्ग्रह (२०५६), सर्वकालीन पीडा र जागृतिका शंखघोष कविता सङ्ग्रह २०६३, तेस्रो रङ कथा सङ्ग्रह (२०७०), आँधी उपन्यास (२०७६) लगायत दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् ।