नुवाकोट । साहित्य संगम नुवाकोटको आयोजनामा गीतकार तथा साहित्यकार उषा शेरचनको कथासंग्रह ‘बेग्लै म’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
बिदुर नुवाकोटस्थित संगम पुस्तकालयमा साहित्य संगम नुवाकोट र महिला साहित्यकारहरूको समूह काठमाडौंको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा कथासंग्रहको परिचर्चा तथा कविता वाचन गरिएको थियो ।

कार्यक्रममा साहित्यकार तथा समीक्षक रन्जना निरौलाले ‘बेग्लै म’ को समीक्षा प्रस्तुत गर्दै यसलाई नारी संवेदनाको उच्छ्वास भएको बताउनुभयो । उहाँले कथासंग्रहमा सतप्रतिशत नेपाली महिलाका पीडा, कथा, व्यथा, समाजको कालो सत्य, विभेद र विसंगति झल्किएको उल्लेख गर्दै यसलाई नारी संवेदनाको प्रतिनिधि कथासंग्रहको संज्ञा दिनुभयो । निरौलाले शेरचनले आफ्नो वरपरको सामाजिक परिवेश र नारीमाथि हुने शोषण, विभेद, बाध्यता र विवशतालाई कथामार्फत उजागर गरेको बताउनुभयो ।

साहित्यकार एवम् साहित्यिक अभियन्ता सुमित्रा सुमी, रुपा थापा र रिता खत्रीले कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो भने साहित्यकार कुमारी लामाले पनि शेरचनको कथाकारितामाथि प्रकाश पार्नुभएको थियो । काठमाडौंबाट आएका तथा स्थानीय कविहरूले कविता वाचन गरी कार्यक्रमलाई थप रोचक बनाउनुभएको थियो । साहित्य संगम नुवाकोटले कार्यक्रममा साहित्यकार उषा शेरचनलाई सम्मान गरेको थियो।