लेखक मनीषकुमार शर्मा ‘समित’को नवीनतम लघुकथासङ्ग्रह हो ‘अर्धशताब्दी’ । कथाकारले पुस्तकमा सामाजिक तथा सांस्कृतिक विसङ्गति, गरिबी र भ्रष्टाचार जस्ता विषयलाई व्यङ्ग्य गर्दै गहन रूपमा प्रस्तुत गर्नुभएको छ ।

‘पहिलो र दोस्रो कृतिहरूप्रति पाठकहरूले देखाउनुभएको माया, मिठास प्रतिक्रिया, सुझावले मलाई लघुकथा लेखनमा जुझारु बनायो ।’’ लेखक शर्मा लेखकीय अभिव्यक्तिमा लेख्नुहुन्छ, ‘‘लघुकथाका सैद्धान्तिक पक्षलाई बुझ्दै जाँदा यसैमा रस बस्यो र झन् लेख्न हौसायो तर तेस्रो कृतिको सेरोफेरोमा लघुकथाका विषयवस्तु र मौलिकताहरू तगारोको रूपमा आए । तत्कालीन समयमा धेरै सर्जकहरूको लघुकथा छयाप्छयाप्ती आउन थालेको थियो । मलाई ती लघुकथाभन्दा पृथक् लेख्नु थियो, आफ्नो पृथक् पहिचान बनाउनु थियो । विषयवस्तुमा मौलिकता ल्याउनु थियो । यी कार्य मेरा लागि कठीन थियो तैपनि अग्रसर भएर कृतिको रूपमा प्रस्तुत गरेको छु ।’’

पुस्तकमा खेमराज पोखरेल लेख्नुहुन्छ, ‘लघुकथामा कौतुहलता मेरुदण्ड हो । यही मेरुदण्डलाई आत्मासात् गर्दै मनीषले अधिकतम् शीर्षकमा नै तत्सम शब्दको प्रयोग गरेका छन् । यस्तो शीर्षकको प्रयोगले पाठक कौतुहलतावश शब्दकोश पल्टाउन बाध्य हुन्छन् । कौतुहलता विनिर्माणको यो सुन्दर शैली हो ।’

त्यस्तै, भूमिकामा ध्रुव मधिकर्मी लेख्नुहुन्छ, ‘यी लघुकथाहरूको आधारमा लघुकथाकार मनीषलाई समकालीनभन्दा भिन्न रहेको देखिन्छ । उनले आफूलाई केही भिन्न देखाउन निकै प्रयास गरेका छन् । उनले लिने विषय, त्यसको प्रस्तुति, स्वैरकल्पनाको प्रयोग, नयाँ नयाँ शब्दहरूको प्रयोग, उत्कर्षमा भिन्न प्रभाव, सटिक रूपमा व्यंग्यको प्रयोग, दृष्टिकोणमा नयाँ आग्रह आदिले उनका लघुकथा निकै प्रभावकारी छन् ।’’

पुस्तकलाई सिर्जना अभियान समाजले प्रकाशनमा ल्याएको हो । ५० थान लघुकथा सङ्ग्रहित पुस्तकको मुल्य २ सय रुपैयाँ रहेको छ ।