‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहिृियक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहिृियक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसैक्रममा ‘साताका पुस्तक’मा यो साता छ पुस्तक । बुद्धिसागरको ‘एक्लो’देखि प्रभाको ‘विदुर पुरूष’सम्म; पुस्तकको छोटो परिचयसहित ।
===
१. एक्लो – बुद्धिसागर
नेपाली साहित्यको बहुप्रतिक्षित बुद्धिसागरको तेस्रो उपन्यास हो, एक्लो । ०६० सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक जितेका बुद्धिसागरले ०६६ सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गरेका छन् । सन् २०१९ मा इन्टरनेसनल राइटिङ प्रोग्राम (आयोवा) का मानार्थ फेलो रहेका उनको उपन्यास कर्नाली ब्लुजको अङ्ग्रेजी अनुवाद सोही नाममा प्रकाशित छ । उनका ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यास एवम् ‘बुद्धिसागरका कविता’ फाइनप्रिन्टबाट प्रकाशित छन् ।
“एक्लो श्रीको कथा हो । श्रीसितै जोडिएर आउने अरु मानिसको पनि कथा हो । सबैका केही न केही सपना छन् । सहरको यो भागदौडमा श्री कहीँ पुग्न चाहन्छ । तर हिँड्न जान्दैन । ऊ केही बन्न चाहन्छ । तर कसरी बन्ने पत्तो पाउँदैन ।”, पुस्तकको अन्तिम कभर पृष्ठमा लेखिएको छ, “एक मानिसको उतारचढावमा अनेक मानिस जोडिन्छन् । एक्लो ( यो सहरमा अनेक सपना बोकेर रिङरोडभित्र फनफनी घुमिरहने पात्रहरूको कथा पनि हो । जो होहल्लामा त छन् तर आफूभित्र विराट् एक्लोपन बोकेर हिँडिरहेका छन् ।”
फाइन प्रिन्टले प्रकाशनमा ल्याएको उपन्यास ‘एक्लो’को मूल्य ८ सय ४० रुपियाँ रहेको छ ।
२. विधुर पुरुष—आचार्य प्रभा
विभिन्न विधामा कलम चलाएकी आचार्य प्रभाकृत लघुकथासङ्ग्रह हो, “विधुर पुरुष” । यसमा ‘एकल वृद्ध’देखि लिएर प्रेमको परिभाषा, परदेशबाट, फूलहरूको आर्तनाद, मेरो लाग्ने उसको चाहिँ पोइ, ईश्वरको गालीलगायत बहुसंस्कृतिले प्रभावित १०० थान लघुकथाहरू समावेश छन् ।
“आचार्य प्रभाका लघुकथाहरूमा प्रेमलाई शाश्वत सत्य मानिएको छ । प्रेमलाई कथाहरूमा पात्रहरूबाटै वर्गीकरण गरिएको छ ।”, भूमिकामा दीपक लोहनी लेख्छन्, “पीडाको विशाल घर बनाइएको छ र त्यही घरमा पीडाका अनेक झ्याल र ढोकाहरूबाट पाठकलाई एउटा सानो संसार अवलोकन गर्न लगाइएको छ । वेदना त कथाहरूमा छन् नै तर प्रभाले त्यही वेदनाहरूमा पाठकको संवेदनाहरू घोलेर पुन: पाठकहरूलाई नै पिलाएकी छिन् ।”
भूमिकामा डा.शेखरकुमार श्रेष्ठ भन्छन्, “नारीले भोग्नुपरेको समस्या प्रस्तुत गरेर पनि उनले लघुकथा लेखेकी छिन् । उनका यस किसिमका लघुकथाले विद्रोही नभई आदर्शवादी नारीको अपेक्षा गरेको छ ।”
पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । २ सय १६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३०० रुपियाँ हो ।
३. कामी—मञ्जुल मितेरी
मूर्तिकार मञ्जुल मितेरीको तेस्रो कृति हो “कामी” । पुस्तकमा याद, मायाको बान्कीजस्ता प्रेमिल कविता, ‘मृतकको नाम: बलमान विश्वकर्मा’, कामी जस्ता सामाजिक कविता तथा ईश्वरको मृत्युलगायत ३८ थान कविताहरू सङ्ग्रहित छन् ।
“यस कविता सङग्रहमा धेरै जसो कविताहरू मेरो जापान बसाइको अवधिमा लेखिएका कविताहरू हुन् ।” आफ्ना कुरामा मितेरी लेख्छन्, “जापानको एक विशाल चट्टानी पहरामा यो शताब्दीकै विशाल बुद्धमूर्ति बनाइरहँदा मनका अनेकन् आवेग संवेगहरू, शरीरबाट बगेका अनगिन्ती पसिनाहरू, त्यो कडा चट्टानी पहरा र हातका छिना हथौडीबीचको घर्षणबाट निस्किएका झिल्काहरूलाई मैले मेरा कवितामा उतारेको छु ।”
पुस्तकलाई शिखा बुक्स गृहले प्रकाशनमा ल्याएको हो । १ सय १० पृष्ठमा फैलिएको पुस्तकको मूल्य २७५ रुपियाँ हो ।
४. बिगन रामको मादल—राजेन्द्र तारकिणी
युवा प्रतिभा, कवि राजेन्द्र तारकिणीको चौथो कृति हो, “बिगन रामको बादल” । पुस्तकमा कविता लेख्न बस्दा, नआएको भुँइचालो, बिगन रामको मादल, समय कोलाज, मङ्गली बज्यैको बाजे, प्रतिध्रुवको वक्तव्यलगायत ५५ थान कविताहरू सङ्ग्रहित छन् ।
“राजेन्द्र तारकिणीमा अनुभूति र चिन्तनको संयोजन छ । ”, पुस्तकको कभर पृष्ठमा डा.नेत्र एटम लेख्छन्, “जीवनका असङ्गति, अभाव, यन्त्रणाबाट सिर्जित आवेगको भाषालाई संवेदनशील बिम्बमा उतार्न सक्षम भएकाले उनका कविता चित्ताकर्षक छन् ।”
त्यस्तै, राजकुमार बानियाँ लेख्छन्, “तारकिणी आम कविजस्तो शब्दको फुरमासमा विश्वास गर्दैनन् । उनका निम्ति कविता वैचारिक र राजनीतिक हतियार हो ।”
पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । १ सय ६० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३०० रुपियाँ हो ।
५. मध्यान्तर—सुष्मा दाहाल
तेह्रथुम साहित्य प्रतिष्ठानकी सचिव सुष्मा दाहालको प्रथम कविताकृति हो “मध्यान्तर” । पुस्तकमा मध्यान्तर, यादमा भुमरी, एक टुक्रा भोक, विवेद, छोडेर जानेहरूलगायत ५० थान कविताहरू सङ्ग्रहित छन् । सङ्ग्रहित कविताहरू सहज र सरल छन् ।
कवि सुष्मा आफ्नो भनाइमा आफ्नो अनुभवलाई कवितामय बनाउँछिन्-
“केही थान सुन्दर सपना थिए
जो कहिल्यै विपना बन्न सकेनन्
केही थान अनमोल भोगाइ थिए
जो कहिल्यै सुन्दर बन्न सकेनन्
केही थान अनमोल भावना थिए
जो कहिल्यै खुल्न सकेनन् ।” ।।
प्रस्तुत पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । १ सय ४० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३५० रुपियाँ रहेकाे छ ।
६. मुमूर्षा—चिरञ्जीवी दाहाल
तान्द्राङ ३ मझिन्थोक, गोरखामा जन्मिएका, लगभग १३ वर्षसम्म मिर्गौला रोगीको पहिचान बोकेर बाँच्नु परेका चिरञ्जीवी दाहालको आत्मकथा हो “मुमूर्षा” । पुस्तकमा लेखकको सुखद, दु:खद मिश्रणको मन छुने जीवन भोगाइ पाइन्छ ।
“फरक यति मात्रै हो, कसैले लेखेको आत्मकथा सलल बगिरहेको निर्मल नदीजस्तो कञ्चन हुन्छ भने कसैले त्यसरी नै सुमधुर गतिमा बहाउन सक्दैनन् । तर नदीमा बग्ने पानी आखिर पानी नै हो ।”, प्रस्तावनामा चिरञ्जीवी लेख्छन्, “सायद विविध कारणले गर्दा मेरो यो आत्मकथा त्यसरी सलल बगिरहेको नदीजस्तो नहोला । तर यो एक जना मिर्गौला रोगीको आफ्नैै अतितको ऐना भने पक्कै हो । ”
पुस्तकलाई लेखक स्व्यंले प्रकाशनमा ल्याएको हो । २ सय ५४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३५० रुपियाँ रहेकाे छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।