पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ६ वटा पुस्तक प्राप्त भएका छन् ।

===

१. स्वर्गको बस्ती – डा.सुरेन्द्र सिटौला

डा.सुरेन्द्र सिटौलाको कविता संग्रह हो ‘स्वर्गको बस्ती । संग्रहमा सिटौलाले सुन्दर तरिकाले सामसायिक, विविध अर्थ भावले भरिएका कविता लेख्नुभएको छ ।

”श्री सुरेन्द्र सिटौला र म समधर्मी र समकर्मी पुर्वेली हौँ । जीवनका अवसर र चुनौतीको खोजी गर्दै काठमाण्डू पस्यौँ र एउटा जीवन यस देशको शिक्षा सेवालाई समर्पण गर्यौँ ।”, पुस्तकमा प्रा. गोविन्दराज भट्टराई लेख्नुहुन्छ, ”शैक्षिक कर्ममा लाग्नु भनेको निःस्वार्थ सेवा नै हो । शिक्षा, चेतना र ज्ञान तीन वटै तत्त्व यसैमा प्रकट हुँदै जाने रहेछन् । सुरेन्द्रज्युको त्यो लामो जीवनानुभूतिको परिणामस्वरूप यो कविताकृति भनेको स्रष्टाको आफ्नै मनोभावको प्रतिविम्ब हो । त्यो भावना, शिक्षा, दर्शन–चेतना र अनुभवले निर्मित हुन्छ । प्रस्तुत संग्रह त्यसैको दृष्टान्त हो ।”

त्यस्तै, कवि सिटौला आफ्नो कुरामा लेख्नुहुन्छ, ”जीवन आफैँमा आफूले नबुझेको रहस्य हो । मैले भन्ने गरेको छु ,जीवन अज्ञानको विज्ञान हो । जीवन बुझ्नको लागि पढ्नुपर्ने ज्ञान र भर्ना हुनुपर्ने पाठशालामा मैले भर्ना हुन जानिनँ । यो मेरै भाग्यको फैसला हो भन्ने मैले ठानेको छु । मेरा अध्यापन तथा प्राध्यापनका व्यस्त क्षणहरु चोर्दै, समाज राष्ट्र र जीवनको अर्थ खोज्दै हाम्रो समसामयिक परिवेशमा मैले भोगेका अनि देखेका कुराहरूका मर्मलाई गद्य कविताको सँगालो ‘स्वर्गको बस्ती’मार्फत पस्कने प्रयास गरेको छु । ”

पुस्तकलाई मन्जरी पब्लिकेशनले प्रकाशन गरेको हो । ६३ थान कविता रहेको संग्रहको मूल्य ३ सय ७५ रुपैयाँ रहेको छ ।

२. दृष्टिगोचर – इन्दिरा चापागाईं

कथाकार इन्दिरा चापागाईंको नयाँ लघुकथासंग्रह हो, ‘दृष्टिगोचर’ । संग्रहमा चापागाईंले राजनीतिक बेथिती, सामाजिक विसंगति र पारिवारिक विकृतिलाई लघुकथाका माध्यमबाट उजागर गर्नुभएको छ ।

”नेपालमा अहिले लघुकथा लेखन तथा प्रकाशनमा बाढी नै आएको छ भन्दा अत्युक्ति हुँदैन । गत वर्ष करीब ३० ओटा लघुकथासंग्रहहरू प्रकाशित भएकामा यस वर्ष हालसम्म करीब ७५ ओटा लघुकथासंग्रहहरू प्रकाशित भइसकेका छन् ।”, पुस्तकमा डा. हरिप्रसाद भण्डारी लेख्नुहुन्छ, ”यसै अभियानमा सामेल भएकी छिन् इन्दिरा चापागाईं । संखुवासभा जिल्लाको सभापोखरीमा जन्मिएर काठमाडौँलाई कार्यक्षेत्र बनाएकी इन्दिरा चापागाईं निजामती सेवामा कार्यरत छिन् । गत वर्ष अन्यहीन परिधि शीर्षकको लघुकथासंग्रह प्रकाशित गरेकी उनले एक वर्षभित्रै अर्को संग्रह निकाल्न सफल भएकी छिन् । यस कार्यलाई उनको बेजोड सफलता मान्नुपर्छ । साहित्यिक क्षेत्रका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएकी उनले विभिन्न साहित्यिक सम्मान तथा पुरस्कारसमेत प्राप्त गरेकी छिन् ।”

लेखक इन्दिरा चापागाईं आफ्नो कुरामा लेख्नुहुन्छ, ”विद्यार्थी जीवनदेखि नै साहित्यमा रुचि थियो । पाएसम्मका सामाग्री पढ्ने, कविता, गीत, नाटक, निबन्ध लेख्ने गर्थेँ । प्रतियोगितामा भाग लिएर प्रशंसा र पुरस्कार पनि पाउँथे । वैवाहिक जीवनपछि यो क्रम पाललो भयो । तथापि फाट्टफुट्ट रचना गर्ने र प्रकाशित हुने चाहिँ भैरहेको थियो । कोरोनाकालमा लघुकथाकार राजु क्षेत्री अपुरोले  हाम्रो लघुकथा पाठशाला नामक मुहारपुस्तिका पृष्ठमा जोडिदिनुभयो । त्यहाँ अग्रजहरुले लेखेका लघुकथाहरु पढेँ, आफूले पनि लेखेँ र साझा गरेँ । अपुरो र लता केसीले सिकाइदिनुभयो, बाटो देखाइदिनुभयो । यसरी उहाँहरू दुवै सधैँ मेरा नमनीय हुनुहुन्छ । पाठकहरूबाट पनि राम्रा प्रतिक्रिया र सुझाव पाएँ र अझ हौसिएँ । केही प्रतियोगितामा मेरा लघुकथाहरू उत्कृष्ठ पनि ठहरिए । छापा साथै अनलाइन पत्रिकामा प्रकाशित हुन थाले । अग्रज शुभेच्छुकहरूले यी लघुकथाहरुलाई एकिकृत गर्न सुझाव दिनुभयो र गत वर्ष पहिलो लघुकथा संग्रह अन्यहिन परिधीको जन्म भयो । …  र अहिले दोस्रो लघुकथासंग्रह दृष्टिगोचरको जन्म भयो ।”

पुस्तकलाई सिजर्ना अभियान समाजले प्रकाशन गरेको हो । ३० थान लघुकथा रहेको संग्रहको मूल्य २ सय रूपैयाँ रहेको छ ।

३. नवयुगकी सुम्निमा– शकुन आँसु

बर्खे झरीले लपक्कै भिजाएको

ढिस्को जस्तै रहेछ मन

बाढीले हिर्काउँदा हिर्काउँदा धस्केको डिल

जो भत्किनलाई चाहिँदैन भयंकर केहि

बिना कारण

भत्किदिन सक्छ खस्रक्कै

तिम्रो दुईथोपा आशंकाले । (आशंका, पृ. २९)

युवा कवि शकुन आँसुको पहिलो कविता संग्रह हो ‘नवयुगकी सुम्निमा’ । संग्रहमा आँसुले विद्रोह, प्रेम, परदेशको परिवेशलाई कविताको माध्यमबाट सशक्त रूपमा प्रस्तुत गर्नुभएको छ ।

”यहाँनेर लेख्न बस्दा लागिरहेको छ, धेरै कुरा त कविताले भनिसकेको छ, फेरि के भनौँ ? तर सोचिरहेको छु यदि अनुभूतिहरू कविता बन्न सक्छन् भने यो पनि अर्को कविता नै हो ।”, कवि शकुन आँशु आफ्नो कुरामा लेख्नुहुन्छ, ”धेरै कविज्युहरूले भन्नुहुन्छ – मैले सोचेको पनि थिइनँ कविता संग्रह निकाल्छु भनेर ……., हो त्यही शब्द मैले दोहोर्याइनँ यहाँ । तर नजिक रहेर उभिनुमा सर्मथन पक्कै गर्छु । यहाँनेर कारणहरू भने फरक हुन सक्ला । मैले लेखनको शुरुवात गजलबाट र गजल लेखनको शुरुवात रेडियो कार्यक्रमबाट गरेँ । पढेपछि ‘जागिर खानुपर्छ’को  अभिमानलाई शिक्षण कार्य गर्दागर्दै कुन्नी कुन खालको भूत मगजमा प्रवेश गर्यो, र ‘दाम होइन, नाम कमाउँछु’को लालसाले मलाई जागिर छोडेर रेडियो एफ.एम.को लागि प्रशिक्षण लिन हौस्यायो । आखिर रहरको सिँढी त कहिल्यै नाघेर नसकिने रहेछ । एक पछि अर्को उक्लिरहन मन लाग्ने । बीचमा जति थाकियोस् जति गलियोस, त्यो पनि स्वादिलो नै लाग्ने रहेछ ।”

पुस्तकमाथि कवि पराजित पोमु लेख्नुहुन्छ, ”सीमान्त संस्कृतिक, लैंगिक असमान्ता र राजनैतिक, सामाजिक विकृतिका विरुद्ध समानता र अस्तित्वको दावी आवाज समयको वृत्तसित संग्रहमा उर्लिएको छ । आम मानिसको जीवन भोगाईहरूको आरोह अवरोहका जिजीविषा उपर पहाडको नदी झैँ निजी सुरसौम्य शैली शकुन आँशुका कविताको विशेषता हो ।”

पुस्तकलाई इतर अभियानले प्रकाशन गरेको हो । ४२ थान कविता रहेको संग्रहको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ ।

४. हिउँमाझी – वियस राई

कथाकार वियस राईको पहिलो कथा संग्रह हो ‘हिउँमाझी’ । हिउँमाझीभित्र कथाकारले शेर्पाहरूको दुःख, देशको राजनीतिक तथा समाजिक बेथितीलाई कथाको माध्यमबाट चित्रण गर्नुभएको छ । नेपाली साहित्यमा वियस राई नौला नाम हुन् । नौला भएर पनि उनी उनको पहिलो कथा कृति ‘हिउँमाझी’ मा सिद्धहस्त कथाकारका रूपमा देखापर्नुभएकाे छ । उहाँको परिपक्क कलमले उहाँलाई कुशल आख्यानकारका रूपमा उभ्याएको छ ।

”हामी बाँचेको समय हाम्रो हो । हामीले खेलेको समाज हाम्रो हो । हामीले भोगेको युग हाम्रो हो ।”, पुस्तकमा कथाकार वियस लेख्नुहुन्छ, ”समयसँग बाँच्न, समाजसँग खेल्न र युगलाई भोग्न हामीसँग अनेक बहाना छन् तर कालसँग तर्किने बहाना छैन । म चाहान्छु – हामी बाँचेको समय, समाज र युग हामीसँगै मरेर नजाओस् । यस खातिर कथा लेखेको हुँ । ढंग पो पुर्याइनँ कि ? पुस्तक तपाईँको हातमा छ । ढंग पुगेन भने भनिदिनुस् ! अब जिम्मा सबैसबै तपाईँ सु–संस्कृत पाठकहरूको ।”

पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ, “हामीले थाहा पाएका तर बुझ्न नखोजेका सत्यहरू, अँध्यारा लाग्ने तर समाजका उज्याला सम्भावनाहरू, मानवीय संवेदनाका सूक्ष्मत्तम बोधहरू, पुराना हुन् कि लाग्ने तर एकदमै नयाँ कथ्यहरू, लाग्छ यस कथा कृतिका पात्रहरू हामी आफै हौँ । हामी आफैँ बाँचिरहेको ठीक यही समयको बिम्ब हो – हिउँमाझी । हाम्रो वर्तमान समाजको ‘अर्थ राजनीति’ पनि हो – हिउँमाझी ।”

पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशन गरेको हो । १३ वटा कथा संग्रहित पुस्तकको मूल्य ४ सय ५० रुपैयाँ रहेको छ ।

५. अनुभूतिका महक – ध्रुव जोशी

ध्रुव जोशीको नेपाली, हिन्दी तथा उर्दू भाषाका कविताहरूको संयुक्त संग्रह हो ‘अनुभूतिका महक’ । कविले कवितामार्फत राजनीतिलाई व्यंग्य गर्नुभएको छ । मधेशी समुदायमाथि पहाडी राष्ट्रवादले हेर्ने हेयको दृष्टिमाथि प्रश्नसमेत गर्नुभएको छ ।

”कवि ध्रुव जोशीको कवित्वले आकर्षित गर्नेमा कुनै सन्देह छैन । यसको सबल प्रमाण कविता संग्रह ‘अनुभूतिका महक’ले दिन्छ ।”, प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभा संग्रहमा लेख्नुहुन्छ, ”एकसाथ नेपाली, हिन्दी र उर्दुमा कलम चलाएर आफ्नो बहुभाषिक क्षमताको सफल परिचय दिएका छन् । उनका कविताहरू अनुभूतिले सघन भए पनि समग्रतामा सरल एवम् सहज नै प्रतीत हुन्छ । र, यही कविको मौलिक काव्य– सामर्थ्य हो भन्नेमा विश्वस्त छु । काव्य संसारमा प्रवेश गरेकोमा कविलाई हार्दिक स्वागत ।”

त्यसैगरी, आफ्नो कुरामा कवि जोशी लेख्नुहुन्छ, ”हाम्रा स्कुलका दिनमा यातायातको विकास नभएको कारणले तराई काठमाडौँबाट अलग्ग देखिन्थ्यो । काठमाडौँबाट प्रकाशित नेपाली वाङ्मयका पत्रपत्रिकाहरू तराईमा हामीले कमैमात्र हेर्न र पढन पाउँथ्यौँ । सीमापारि शहरहरूबाट हिन्दी–उर्दू र अंग्रेजी पत्र–पत्रिकाहरू भने सजिलै गाउँमा भित्रिन्थ्यो । हामी तिनैसँग बढी परिचित भएर हुर्किनु पर्यो । यसले गर्दा हिन्दी–उर्दू पढन, बोल्न र सुन्न मजा लाग्थ्यो । तराईका स्कुलहरूमा गृष्मकालीन विदा लामो हुन्थ्यो । हामीहरूलाई घाममा धेरै बरालिएर नरहुन् भनेर स्कुलमा प्रध्यानाध्यापक मेरा दाजु स्व. रामहरी जोशी र उनका सहयोगी गुरु स्व. ईश्वरवल्लभ, पछि नेपाली साहित्यको मूर्धन्य कविमा दरिनुभयो, ले भित्तेपत्रिका भनेर हातले लेखेर निकाल्नुहुन्थ्यो । त्यस पत्रिकामा हामी सबै विद्यार्थीहरूलाई लेख, निबन्ध, कविता, स्कुल समाचार, चुटकिला आदि देख्नलाई उत्साहित गर्नुहुन्थ्यो । यहीँबाट साहित्यप्रति अनुरागको बिउ मभित्र अंकुरित भएको हुनुपर्छ ।”

पुस्तकलाई लेखक स्वयमले प्रकाशन गर्नुभएको हो । १ सय ४० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय ५० रुपैयाँ रहेको छ ।

….

६. सेता भिर, यता पीर – भोज अर्याल

पहाडै छोडी म बसाइँ सर्दा यो मन त सर्दै सरेन

पहाडै छोडी म तराई झर्दा यो मन त झर्दै झरेन

मायालाई सम्झी पर्खेर बस्दा माया त आउँदै आएन

मायालाई सम्झी साँचेर ल्याउँदा माया त खाँदै खाएन । (बसाइँ, पृ. २९)

भोज अर्यालको नयाँ कविता संग्रह हो ‘सेता भिर, यता पीर’ । संग्रहमा अर्यालले कवितामार्फत आम नेपाली जनताले भोगेका भाैगोलिक, सामाजिक, आर्थिक, दैविक तथा राजनीतिक कठीनताले निम्त्याएका दुःख र पीडालाई प्रस्तुत गर्नुभएको छ ।

”’सेता भिर, यता पीर’का माध्यमबाट यहाँहरूसमक्ष आफ्नो पहिलो कृति पस्किएको छु ।”, अर्याल आफ्नो कुरामा लेख्नुहुन्छ, ”यस पुस्तकमा समेटिएका कविताहरू मेरा सिर्जनशील यात्रासँगै जोडिएका कथा र गीतहरू पनि हुन् जसलाई गायन कलामा जोडेर हेर्दा नयाँ भाकाहरू जन्मिने विश्वास रहेको छ । साहित्य नै जीवनको आधारशीला हो र समाजको  ऐना पनि हो । यसले जीवन र जगतका भोगाइ, बुझाइ र यर्थाथ चिजहरूलाई जस्ताको त्यस्तै उर्तानु यसको धर्म पनि हो । यसमा व्यक्त भएका शब्द भावहरू नितान्त मौलिक हुन् । त्यसैगरी, कसैको जीवनकथा र जीवनगाथा नभएर प्रवृत्तिका बिम्बहरू हुन् जुन यत्र तत्र सर्वत्र भेट्न र देख्न सकिन्छ ।”

गुल्मी जिल्लाको मदाने ३, सिर्सेनीमा जन्मनु भएका भोज अर्याल हाल रिजाइना, क्यानडामा बसोबास गरिरहनुभएको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा एमए सम्म अध्ययन गर्नु भएको उहाँले क्यानडाको युनिभर्सिटी अफ रिजाइनबाट बीएड गर्नुभएको छ । अध्ययन अध्यापनसंगै लेखन तथा संगीत सिर्जनामा रुचि राख्नुहुन्छ ।

पुस्तकलाई साहित्यपोस्टको माउसंस्था शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको छ । ५२ ओटा कविता रहेको पुस्तकको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ ।