पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ४ वटा पुस्तक प्राप्त भएका छन् ।

===

१. करोडौं सूर्यहरूको अन्धकार – अविनाश श्रेष्ठ

‘निद्रा
पकेटमा
हात
घुसारेर
पर
उभिएको

चुपचाप ।

फुटपाथमा
कठ्याङ्ग्रिँदै
कामिरहेको
नाङ्गो
देहमा
ब्युँझिरहेको
छ एक्लो
उदास
जाडोको
रात ।
(जाडोको रात, पृ.२१)

कवि अविनाश श्रेष्ठको पर्याकवितासङ्ग्रह हो, ‘करोडौं सूर्यहरूको अन्धकार’ । मौलिक शैली, नवीन भाषिक संरचना र कथ्यका साथै कल्पना र संवेदनाका श्रेष्ठका कविताहरूमा व्याप्त छन् । मानव क्रियाकलाप र प्रकृतिबीचको द्वन्द्व श्रेष्ठले आफ्ना कवितामार्फत दर्बिलो सरोकार तथा काव्यिक हस्तक्षेप प्रस्तुत गरेका छन् ।

‘पर्यावरण चेतनाको कवितासङ्ग्रह ‘करोडौं सूर्यहरूको अन्धकार’ अविनाश श्रेष्ठको उत्कृष्ट कविता कृति हो ।’, कृतिका बारेमा कवि विमल निभा लेख्छन्, ‘यसमा उनले पर्याकविताको क्षेत्रमा नवीन प्रयोग गरेका छन् । यहाँ एउटा कुरा नभनी नहुने के हो भने उनको पर्यावरणीय चेतनामा जीवित मानिससँगै जीवित प्रकृति र जीवन्त परिस्थितिकीको पनि रहेको छ । र यही कवि अविनाशको काव्यिक विशेषता हो ।’

‘ओ लुसिफर प्यारे !
म हरियोमै हाँस्छु
हरियोमै म नाच्छु
हरियैहरियो भए मात्र म बाँच्छु रे !

तिमीलाई छू मतलब यार ?

एलर्जी छ भने तिमीलाई हरियोसित
खुरुक्क मरुभूमितिर जाऊ ।
आफ्ना करौंती–बन्चरो जस्ता इरादा बोकेर
कृपया म बस्ने जङ्गल हेर्दै नमुस्कुराऊ ।’
(जङ्गलकामनाः १, पृ. १००)

अविनाशका कविताहरूका बारेमा कवि राजा पुनियानी लेख्छन्, ‘आदिवासी कल्पनाकै अत्याधुनिक अवतार अविनाश श्रेष्ठको कविता हो । जहाँ उपेक्षित आदिवासी शिल्पदर्शनको पुनस्र्थापना छ – प्रकृतिको कुटुम्बीय आइडियोलोजीमा । यत्ति भनेर पनि मैले जे भनिनँ, त्यही सुन्नू… भन्ला जस्तो अनिवाशका जाँबाज कविताहरू नभनेका ईलाकामा आएर केही कुरा भन्छन् । पर्यावरणीय चैतन्यको खुँडा जगाउछन् । उनी कविता नै गरिरहेका हुन्छन् । शिल्पपक्षलाई मर्न नदिई कविता गर्दछन् ।’

वि.स. २०६० सालमै प्रथम पटक प्रकाशनमा आएको यस पुस्तकको दोस्रो परिवद्र्धित संस्करण (वि.स. २०८१) लाई माया पब्लिकेशनले प्रकाशनमा ल्याएको हो । १ सय ९८ पृष्ठमा फैलिएको कविताकृतिको मूल्य ५ सय ६० रुपियाँ रहेको छ ।

२. समयको स्पन्दन – डा. हरिप्रसाद भण्डारी

कथाकार डा. हरिप्रसाद भण्डारीको नवीनतम लघुकथासङ्ग्रह हो, ‘समयको स्पन्दन’ । ‘नेपाली लघुकथा व्यङ्ग्य’ विषयमा अनुसन्धान गरेका भण्डारीका लघुकथामा पनि व्यङ्ग्यका विविध स्वाद पाइन्छ । समाज र राजनीतिकमा देखिएका विकृति र विसङ्गतिप्रति गहिरो घोचपेच निहित लघुकथाहरूले दिने सन्देश मानवतावादी रहेको छ ।

‘यस सङ्ग्रहमा रहेका लघुकथामा ऊ, म र हामीहरू पात्रका रूपमा रहेका छौं । कहीं ऊ अजयका रूपमा, कहीं काले र खैरे बिरालाका रूपमा त कहीं ऊ सर्प, भ्यागुता र जुत्ताका रूपमा उपस्थित छ ।’, लेखकीयमा कथाकार भण्डारी लेख्छन्, ‘म कहीं हाकिमको रूपमा त कहीं आम मानिसका रूपमा उपस्थित छु । कहीं हामी नवविवाहित जोडीका रूपमा, कहीं परेवका जोडीका रूपमा उपस्थित भएका छौं । यसरी हामी अलग अलग भूमिकामा छौं । हामी बीच एकरूपता छैन । कोही पात्र असल चरित्रको भूमिकामा छौं त कोही नकारात्मक भूमिकामा । त्यसैले धेरै लघुकथाहरूमा खराब चरित्र भएका पात्र तथा प्रवृत्तिप्रति तिखो व्यङ्ग्य गरिएको छ ।’

त्यस्तै, लघुकथाकृतिका बारेमा प्रा.डा. कपिल लामिछाने लेख्छन्, ‘लघुकथा पढ्दै जाँदा व्यङ्ग्य र त्यसैसित घुलित भएर अभिव्यक्त मन्द हास्यले सहृदयी पाठकको मनलाई मुसुक्क हँसाउँछ र चसक्क घोच्छ । लाग्छ, यो कोरोना भाइरसको भ्याक्सिनको सुई होस् । घोच्छा दुखे पनि त्यसको परिणाम सुखदायी रहेकोमा विश्वस्त भइन्छ । पछिसकेपछि लाग्छ, यो त व्यङ्ग्यको कुटुरो पो रहेछ ।’

पुस्तकलाई प्रश्रित प्रतिष्ठान नेपालले प्रकाशनमा ल्याएको हो । ७० थान लघुकथाहरू सङ्ग्रहित पुस्तकको मूल्य २ सय ३० रुपियाँ रहेको छ ।

३. जूनको जात्रा – अम्बिका धिताल

कथाकार अम्बिका धितालको लघुकथासङ्ग्रह हो, ‘जूनको जात्रा’ । शिक्षण पेशामा आबद्ध धितालका लघुकथामा गाउँले जनजीवन, शहरी वातावरण, सामाजिक संरचना, आफ्नै शिक्षण अनुभव तथा राजनीतिक सचेतता चित्रित भएका छन् ।

सङ्ग्रहभित्र पारिवारिक, सामाजिक तथा राजनीतिक विचलन, वैदेशिक रोजगारीको चित्रण, शैक्षिक तथा दाम्पत्य जीवनको व्यवस्थापन तथा सकारात्मक सोचलाई विषय बनाइएका लघुकथाहरू रहेका छन् ।

‘जूनको जात्रामा लघुकथाकार अम्बिकाले लघुकथाको रूपविधान तथा कथ्यविधान विनिर्माणलाई पर्याप्त हेक्का राखेको देखिन्छ ।’, भूमिकामा साहित्यकार खेमराज पोखरेल लेख्छन्, ‘पाठकका मनमा झङ्कार ल्याउन लघुकथाहरू सक्षम छन् । कृतिभित्र जूनको शीतलता तथा सुन्दरताको कल्पना गरिएको छ । अर्थात् समाजलाई जूनको शीतलता, सकारात्मकता, शान्त र सुन्दरताका आँखाले हेर्नुपर्छ भन्ने थिमलाई आधार मानेको देखिन्छ तर यथार्थमा समाज जूनको शीतलता जस्तो आनन्ददायी छैन । समाजमा असङ्गति, विसङ्गति तथा नकारात्मकता व्याप्त छ । अर्थात् नकारात्मकताको जात्रैजात्रा अनुभूत हुन्छ । यही परिवेशमा लघुकथाकार चिन्तित भएको र ‘जूनको जात्रा’ लघुकथासङ्ग्रह विनिर्माण गरेको अनुभूत हुन्छ ।’

पुस्तकलाई शब्दयात्रा प्रकाशनले बजारमा ल्याएको हो । ६५ थान लघुकथाहरू सङ्ग्रहित पुस्तकको मूल्य २ सय २० रुपियाँ रहेको छ ।

४. प्रकृति प्रवाह

‘बारबेक्यु र बियरमै मस्त छन्, मान्छे
नानाभाँती हाउभाउमा सेल्फी खिच्न

सामाजिक सञ्जालमा दुनियाँलाई देखाउनै व्यस्त छन्, मान्छे
महाभोगमा लिप्त मानवजातिलाई
पत्तै छैन
उनीहरूको भोज बन्दै गएको अन्तिम भोज ।
(भोग–भोग, उपभोग, महाभोगा, रोशन शेरचन, पृ. ४९)

वन तथा वातावरण साहित्यिक समूहले प्रकाशनमा ल्याएको पर्याकवितासङ्ग्रह हो, ‘प्रकृति प्रवाह’ । पुस्तकमा ‘विश्व वातावरण दिवस – २०२४’को आयोजित ‘पर्यावरणीय कविता वाचन’मा वाचन गरिएका अमृत पौडेल ‘अविरल’, ईश्वरी भट्ट, ऋषि बस्ताकोटी, कृष्ण बाउसे, गङ्गा पोखरेल, राधिका कल्पित, रोशन शेरचन, विश्व सिग्देल, शिव पलाँस, हिमाल श्रेष्ठलगायत २९ जना कविहरूका पर्याकविताहरू सङ्ग्रहित छन् । उक्त कार्यक्रम २६ जेठ २०८१ मा जूममार्फत सम्पन्न भएको थियो ।

‘जुम चौतारीमा वाचित पर्याकविताहरूले पक्रेका विषयवस्तु बलिया छन् । बहसका लागि अत्यावश्यक विषय भइसक्यो पर्यावरण संरक्षण ।’, भूमिकामा कवि भूपिन लेख्छन्, ‘तर विषयवस्तु मात्रै कविता होइन, यदि हुँदो हो त वनविज्ञानका सिद्धान्त लेखिएका विश्वविख्यात ठेलीहरूले कब्जा गरिरहेका हुन्थे मानिसको हृदयमा । विज्ञानका कठीन सिद्धान्तलाई सबैले सहज रूपमा बुझ्न सक्दैनन् । तिनै बुझ्न नसक्ने विषय र मुद्दालाई जनमानस समक्ष प्रभावकारी रूपमा बुझाउन सक्नु कविताको विशेषता हो ।’

ऋषि बस्ताकोटी, कमला रूपाखेती, भरतमान श्रेष्ठ, रोशन शेरचन र हिमलाल श्रेष्ठको सम्पादनको प्रकाशनमा आएको कवितासङ्ग्रह पहिलो भागका रूपमा प्रकाशित भएको छ ।