अर्जुन प्रधान । भुटानी समुदाय, साउथ अष्ट्रेलियाद्वारा नेपाली भाषा र संस्कृतिमा विशेष योगदान पुर्‍याउँदै आउनुभएका प्रताप सुब्बालाई सम्मान गरेको छ । “प्रताप सुब्बा सम्मान साँझ २०२४” को आयोजना गरी सुब्बालाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रताप सुब्बालाई खदा, ढाकाटोपी र दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । साथै, ८६ वर्षीय मनमाया निरौलाले दोसल्ला ओढाएर विशेष सम्मान व्यक्त गर्नुभएको थियो ।

साउथ अष्ट्रेलियाको एलिजावेथस्थित प्लेफोर्ट सिभिक सेक्टरमा साँझ ६ देखि ९ः३० बजेसम्म चलेको कार्यक्रममा २८ भन्दा बढी नेपालीभाषी समुदायको सहभागिता रहेको थियो । एसए डिसेबिलिटी केयरको मुख्य प्रायोजन र अन्य १० भन्दा बढी संस्थाहरूको सहयोगमा आयोजित कार्यक्रममा संयोजक लक्ष्मण गुरूंग र गिरिश भारती रहनुभएको थियो ।

कार्यक्रममा प्रताप सुब्बाका समकालीन साथी, गाउँले, शिविरका सहकर्मीहरूका साथै साना नानीबाबुहरूको समेत उल्लेखनीय उपस्थिति थियो । कार्यक्रमको शुरुमा पञ्चकन्याहरूले पुष्पगुच्छा हस्तान्तरण गर्दै प्रताप सुब्बालाई ब्रास ब्यान्डसहित स्टेजसम्म स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जोगेन गजमेर, गौरी निरौला, रतन गजमेर, आर.के. घले, भानु अधिकारी, के.बी. नेपाल, एन.बी. दाहाल, इन्दिरा दुलाल र टी.बी. राई लगायत साउथ अष्ट्रेलियाका नेपालीभाषी दर्शक र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।

अष्ट्रेलियाको राष्ट्रिय गानमा साना नानीबाबुहरूले पियानोमा प्रस्तुत गरेका थिए भने स्वागत प्रस्तुतिमा जोन रजिन सिंह (बाँसुरी), यूनिश बस्नेत (तबला), मौसम राई (गिटार), डेविड रामदाम (ड्रम) र लक्ष्मण गुरूंग (किबोर्ड) द्वारा वाद्यवादन गरिएको . थियो।

गायनतर्फ सुवास ढुंगाना, भागवत नेउपाने र विशाल छेत्रीले गीत प्रस्तुत गर्नुभएको थियो भने नृत्यतर्फ सोनिया लिम्बु, प्रतिक्षा सुब्बा र शुस्मिता सुनारले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो । The School of Bhutanese Nepali Language and Culture का भूमिका दाहाल, रितिसा दाहाल, नवीना दाहाल र पार्वती अधिकारीले पनि नृत्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन प्रकाश धमलाले गर्नुभएको थियो । प्रत्यक्ष प्रसारणको जिम्मेवारी द्वीप दर्पणले लिएको थियो भने कार्यक्रमको फोटोग्राफी पार्टनर क्रिस स्टुडियो रहेको थियो।