अर्जुन प्रधान
नेपाली भूटानी समुदायको पहिचान, साहित्य र सामाजिक चेतनाको विश्वव्यापी अभियान अन्तर्गत ‘स्वीकारोक्ति ग्लोबल टुर २०२५ – युरोप संस्करण’ यो साता नेदरल्यान्ड्सबाट सुरु भएको छ।
जुन १६ देखि २३ सम्म हुने यस विशेष सृजनात्मक यात्रा नेदरल्यान्ड्स, लक्जेम्बर्ग, बेल्जियम, जर्मनी, स्विट्जरल्यान्ड र फ्रान्स हुँदै युके मा समापन हुनेछ।
यस ऐतिहासिक यात्राको उद्देश्य प्रवासमा रहेका स्रष्टाहरूको सञ्जाल विस्तार, साझा नेपालीभाषी सिर्जनाको विश्वस्तरीय प्रस्तुति, भाषा, साहित्य, संस्कृति संरक्षण, स्वीकारोक्ति दर्शनको प्रचार-प्रसार र अनुसन्धान, साहित्य, संगीत, नाटक, कला र संवादमार्फत नेपालीभाषी समुदायको संघर्ष र सपनालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नेरहेकाे छ ।
यो अभियान विश्व भूटानी साहित्यिक संगठन (GBLO) र स्वीकारोक्ति फाउण्डेशन को संयोजनमा भैरहेको हो। अमेरिका, युरोप, अष्ट्रेलिया, जापान र नेपाल लगायतका देशका साहित्यकार, कलाकार र सञ्चारकर्मीहरूको उपस्थितिले कार्यक्रममा अन्तर्राष्ट्रिय स्वरूप दिएको छ।
हरेक देशमा हुने कार्यक्रमहरूमा साहित्यिक गोष्ठी, पुस्तक विमोचन, सांस्कृतिक प्रस्तुति, संवाद सत्र, सम्मान कार्यक्रम समावेश छन्।
स्वीकारोक्ति फाउण्डेशनका अनुसार, “स्वीकारोक्ति केवल कार्यक्रम होइन, चेतना र आत्मसमीक्षाको आन्दोलन हो – जसले भूटानी नेपालीहरूको विगत, वर्तमान र भविष्यलाई सृजनात्मक रूपमा विश्वसामु राख्दछ।”
यात्राको अन्तिम गन्तव्य युके मा भव्य समापन समारोह सहित सहभागी साहित्यकारहरूले आफ्ना विमोचित कृतिहरू पुनः सार्वजनिक गर्दै युवा पुस्तामा पढ्ने र लेख्ने संस्कारको आवश्यकता माथि जोड दिनुभएकाे छ ।