अर्जुन प्रधान । नेपाली भाषी भूटानी लेखक तथा गीतकार हरि उप्रेतीको नयाँ गीत “फिक्का”को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो उप्रेतीकै अफिसियल यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा सङ्गीत विशाल निरौलाको रहेको छ भने गायिका अनु चौधरी र गायक भीम ढकालले आफ्नो सुमधुर आवाज दिएका छन् । अभिनेता आकाश श्रेष्ठ र मोडल करुणा श्रेष्ठको सशक्त अभिनयले गीतलाई थप जीवन्त बनाएको छ।
“फिक्का” गीतले एक प्रेमिल जोडीको भावनात्मक यात्रा प्रस्तुत गरेको छ, जहाँ उनीहरू बीचको प्रेम, चाहना र भावनालाई गीतकार उप्रेतीले निकै मार्मिक ढङ्गले व्यक्त गरेका छन् । सानो असमझदारीले ठूला दुर्घटनाहरू निम्त्याउन सक्छ भन्ने सन्देश गीतमार्फत व्यक्त गरिएको छ ।
यस म्युजिक भिडियोलाई निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका छन् भने गीत नेपाल र अमेरिकामा रेकर्ड गरिएको छ ।
हरि उप्रेती नेपाली गीतसङ्गीतको क्षेत्रमा एक चर्चित नाम हो । डेढ दशकभन्दा लामो समयदेखि प्रवासमा रहेर नेपाली भाषा र सङ्गीतलाई संरक्षण र प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन् । उप्रेतीले यसअघि चारवटा गीति एल्बम बजारमा ल्याइसकेका छन् भने डेढ दर्जन चलचित्रका लागि गीत लेखेका छन् । उनका दर्जनौं गीतहरू विभिन्न यूट्यूब च्यानलमार्फत सार्वजनिक भएका छन् ।
उप्रेतीले सातौं म्युजिक खबर म्युजिक अवार्ड, ग्लोबल नेपाली फिल्म म्युजिक अवार्ड, छायाछवी म्युजिक अवार्डलगायतका दर्जनौं अवार्ड प्राप्त गरिसकेका छन् । उनले २०७७ सालमा गीतकार सङ्घ नेपालबाट डायस्पोरा गीतकारको सम्मान पाएका थिए भने सामाजिक सेवामा योगदान पुर्याए बापत सन् २०१८ मा प्रभु नारायण चौधरी स्मृति प्रतिष्ठानबाट राष्ट्रिय सम्मान प्राप्त गरेका थिए ।
उप्रेतीको गजल संग्रह “गुनासो” पनि पाठकमाझ लोकप्रिय रहेको छ। उनी आफ्ना सशक्त शब्दमार्फत जीवन दर्शन प्रस्तुत गर्न माहिर छन् र आगामी दिनमा पनि गीत र कवितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।