काठमाडौं । २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई, पद्मश्री साधना सम्मान पवन कुमार चामलिङलाई तथा पद्मश्री गौरव प्रा.डा. केदारभक्त माथेमालाई प्रदान गरिएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले एक विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।

द्वैत, अद्वैत तथा बहुलवादमा आस्था भए पनि मानवताको सार मूलतः एक रहेको तथा विश्वास, मत र मार्गहरू अनेक भए पनि मुहान एक रहेको व्याख्या गर्दै मानव समाजमा समभाव, समानुभूति तथा ऐक्यबद्धता स्थापना गर्ने विषयमा अत्यन्तै परिस्कृत तथा बोधगम्य भाषा र शैलीमा अद्वैत उपन्यास लेखिएको ठहर गर्दै “अद्वैत”लाई पुरस्कृत गर्ने निर्णय गरिएको थियो ।

त्यस्तै, नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय रहुनुभएका साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चामलिङलाई पद्मश्री साधना सम्मान अर्पण गरिएको छ ।

त्यसैगरी समतामूलक समाज निर्माणका लागि निरन्तर योगदानको कदर गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदूत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदार भक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार अर्पण गरिएको छ ।

यी पुरस्कार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले समर्पण गर्नुभएको थियो । तीनै पुरस्कार तथा सम्मानको राशि तीन लाख रुपैयाँ रहेको छ ।