साहित्य क्षेत्रको सम्मानित पद्मश्री साहित्य पुरस्कारको लामो सूची जारी गरिएको छ ।

राम लोहनीको संयोजक रहनु भएको तथा नयनराज पाण्डे र कुमारी लामा सदस्य रहनु भएको निर्णायक समितिले पहिलो चरणमा १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची जारी गरिएको छ ।

दोस्रो चरणमा विस्तारित सूचीमध्येबाट उत्कृष्ट संक्षिप्त सूची चयन गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा गरिने खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस वर्ष यस पुरस्कारका लागि २०७८ मा प्रकाशित पुस्तकहरू १४४ पुस्तक प्राप्त भएका र तीमध्ये लामो सूचीमा डा. नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, दीनानाथ शर्माको एक सम्बोधन समयमाथि, राजवको काफ्काको काम सकियो, कविता राईको गुरू, लोकराज भट्टको छाइल, दिलीप बान्तवाको ताल्चा, अलका आत्रेयको निनाद वल्लरी चयन गरिएका छन् ।

यसैगरी लामो सूचीमा परेका अन्य पुस्तकहरूमा राजेन्द्रमा डङ्गोलको पैतालामा हिउँ, आँखामा हिमाल, उषा हमालको भिक्षुसँग प्रेम, डा. विप्लव ढकालको भोजुपरको वाङ्मय, वसन्त बस्नेतको महाभारा, दीपक पराजुलीको मिथ्या, केवल बिनावीको यादहरूको सङ्ग्रहालय र गिरीश गिरीको सत्यमोहन परेका छन् ।

२०६३ सालदेखि यो पुरस्कार दिन थालिएको हो । सर्वोत्कृष्ट पुस्तकले दुई लाख रूपैयाँ राशिको पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्नेछ ।