कथाकार रेजिना पाण्डेको कथासङ्ग्रह हो, ‘अस्तित्व’ । सङ्ग्रहमा प्रेम, अभाव र पुरुष मनोविज्ञानमा आधारित छोटा आयतनका १७ कथाहरू सङ्ग्रहित छन् ।

‘रेजिनाका कथाहरू पढिरहँदा म झनझनाएको छु । एउटी स्वास्नीमानिसभित्रका चाहना र रहरहरूलाई हुबहु शब्दहरूमा उतार्नु त्यति सहज हुँदै होइन । नारीको मनका भावलाई कथाहरूमा लेखिरहँदा उनले पुरुष मनोविज्ञानलाई गज्जबसँग उतारेकी छिन् । पुरुषभित्रको खालीपन र महिलाका बाध्यता एकसाथ कथामा आएका छन् ।’, पुस्तकको भूमिकामा मणि लोहनी लेख्छन्, ‘हरेक कथामा महिला पात्र छन् – हेपिएका र सधैं दमन र पीडामा परेका । त्यसो त हरेक कथामा महिलाका दमित इच्छाहरू छन् । सपना र चाहनाहरू छन् । रेजिनाले आफ्ना कथाहरूमा निकै सजिलोसँग स्वास्नीमानिसका असहजतालाई केलाएकी छिन् । जिन्दगी बाँच्ने क्रममा एउटी महिलाले भोग्ने हरेक दुर्दशालाई उनका कथामा पढ्न सकिन्छ ।’

त्यस्तै, लेखकीयमा कथाकार पाण्डे लेख्छिन्, ‘रहरै रहरमा फेरि एउटा पुस्तक निकाल्ने सोच बनाएँ तर पुस्तक निकाल्नु सहज कुरा भने थिएन । यसैक्रममा मैले दुई दशकदेखि चिन्दै र सम्मान गर्दै आएको वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकार जयदेव भट्टराई सरले मेरा कथा, कविता गोरखापत्रको शनिवारमा, मधुपर्कमा बेला बखत प्रकाशित गरेर मलाई प्रोत्साहित गर्दै आइरहनुभएको थियो । एकदिन उहाँलाई पाण्डुलिपि देखाएँ । केही दिनपछि उहाँले ‘यत्तिको कथा छाप्दा फरक पर्दैन’ भन्दै हौसला दिनुभयो र कथासङ्ग्रह प्रकाशनमा ल्याउन तम्सिएँ ।’

पुस्तकलाई कथाकार स्वयंले प्रकाशनमा ल्याएकी हुन् । ९२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।