
प्रभातमा
मैले झ्याल खोल्ने बित्तिकै
व्यग्र हावा ह्वात्तै मेरो छातीमा ठोक्कियो
र, मलाई निथ्रुक्क भिजायो ।
कठै, झ्यालबाहिर
रातभर शीतमा कठ्या.ग्रिएको रहेछ
तिमीले पठाएका सम्झनाहरू । (सम्झनाहरू, पृ. ३१)
राजबल्लभ कोइरालाको पहिलो कविता सङ्ग्रह हो ‘औरा’ । कोइरालाका कविता सरल, छोटो र मीठो छन् । पाठकलाई यी कविताहरू मस्तिष्कबाट कम मुटुबाट बढी लेखिएको अनुभव हुन्छ ।
“कविता त होइन तर कविताजस्तो केही सानैमा लेख्थेँ, तर मनमनै । अक्सर ‘आउट अफ द बक्स’ सोच्थेँ । आफैँलाई प्रश्न गर्थेँ । बाबासँग पनि कुरा गर्थेँ शायद संवेदनशीतला घरैबाट सिकेँ मैले ।”, कवि राजबल्लभ कोइराला पुस्तकमा लेख्नुहुन्छ, “कविको परिभाषा आ आफ्नै् होलान् तर संवेदनशीलताले मानव संवेदनाका विभिन्न नशाहरूलाई फैलाइदिने गर्छ । भक्कानिइरहन्छन्, चर्किइरहन्छन्, सोधिरहन्छन्, सोचिरहन्छन्, अल्झिरहन्छन्, अनेकौँ अक्षरबीच । म पनि यदाकदा त्यसरी नै अल्झिने गर्दोरहेछु । अनि केर्ने गर्दोरहेछु । … यस सङ्ग्रहमा जीवनका अनेकौँ वर्षमा घाममुनि, जुनमुनि जे जस्ता भावलाई अनुभुत गरेँ, नहराएका र देखिएका भेट्टिएका भावनाहरूलाई यसरी नै उनेँ र उनिएका सामग्रीहरू यिनै हुन् ।”
त्यस्तै, कवितासङ्ग्रहका बारेमा कवि विप्लव प्रतीक लेख्नुहुन्छ, “कविता डेढ हातको लेख्नै पर्छ भन्ने कुनै नियम हुँदैन । कविता एक करेत वा तीन छोटा पङ्क्तिका पनि हुन सक्छन् । याद राख्नु पर्ने कुरा खाली यत्ति हो कि आफूले लेखेको कविता भावरहित शब्दको थुप्रो नबनोस् । सुनाउँदा श्रोताको देब्रे कानबाट छिरेर दाहिने कानबाट उडेर नभागोस् । कविता जुनसुकै कानबाट छिरे पनि सुन्नेको हृदयमा पुगेर गुँड लगाओस् र तिनका दिमागमा कविता उग्राइरहोस् त्यस पङ्क्तिलाई सम्झिँदा । राजका कविता पढ्दा मलाई यस्तै महसुस भइरह्यो । म उनका कविता ध्यानस्थ पढिरहेँ, पढिसकेपछि निकैबेरसम्म मेरा तन्तुमा आनन्दका रसायनहरू बगिरहे ।”
पुस्तकलाई शब्दमिडिया प्रा.लि. (साहित्यपोस्ट) ले प्रकाशनमा ल्याएको हो । १ सय ११ वटा कविता सङ्ग्रहित पुस्तकको मूल्य ४ सय ५० रुपैयाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

