अमेरिकाका सातवटा शहरहरूमा श्रृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्ने हिसाबले साङ्गीतिक यात्रामा निस्केको नेपाली लोकप्रिय ब्याण्ड नेपथ्यको पहिलो प्रस्तुति कोलोराडोको बोल्डरमा सम्पन्न भएको छ ।
पूर्व घोषित तालिका अनुसार सात बजे कन्सर्ट सुरु भएकाे थियो । पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाउँला’ गीतका भिडियोसँगै कन्सर्टको सुरुवाती प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट गरिएको थियो । त्यसलाई ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ ले निरन्तरता दियो ।
‘दर्शक र कलाकार दुवैतर्फको उत्साह र उत्तेजनाले कन्सर्टको सुरुवातदेखि नै मञ्च र दर्शकदीर्घाका बीच एक किसिमको इनर्जी विकास हुँदैगएको देखिन्थ्यो ।’ बोल्डर थिएटरका अपरेशनल म्यानेजर ड्यानियल मर्फी भन्दै थिए ।
‘व्यवस्थापन, प्राविधिक संयोजन, दर्शकको उर्जा र कलाकारको प्रस्तुति सबैको जादुइ समिश्रणले यो कार्यक्रम उत्कृष्ट र अविस्मरणीय बन्न पुग्यो’ स्टेज म्यानेजर डेल फ्यान्टन आफ्नो अनुभव सुनाउँदै थिए ।
चालीस दिनमा सात कार्यक्रमको कार्यसूचीसहित कोलोराडोको डेनवर पुगेको नेपथ्यको पहिलो कार्यक्रम आत्मीय रहेको अनुभव ब्याण्डका अमृत गुरुङ सुनाउँदै थिए । ‘पर्वतीय राज्य कोलोराडोको यस बोल्डर शहरले हाम्रै काठमाडौंलाई भगीनी शहर घोषणा गरेको तथ्यले थप आत्मीयता बढाएको छ,’ अमृतले भने, ‘दुवै शहरका नगरप्रमुखहरू बीच यहाँ एक नेपाली साँस्कृतिक केन्द्र पनि स्थापना गरिने सहमति भएकोमा त्यो चाँडै कार्यान्वयनमा पुगोस् भन्ने कामना गर्दछु ।’
ब्याण्ड पहिलोपटक प्रस्तुतिका क्रममा प्रवेश गरेको यो राज्यमा नेपाली समुदायको जीवन्त उपस्थिति देख्नपाउँदा आफूलाई खुशी लागेको अमृतले बताए ।
कार्यक्रमभरि पटकपटक नेपाली भाषा र पहिचानको पक्षमा विचार राखेका अमृतले आफूले पैदलै गाउँवस्ती घुम्दाका क्रममा कतिपय गीतहरू सङ्कलन गर्ने अवसर पाएको सुनौउँदै, नेपाल आउँदा देश घुम्न पनि सुझाए ।
कन्सर्टको अन्तिमतिर पुग्नैलाग्दा अमृतले ‘गाउँगाउँबाट उठ’ सुनाएपछि हलभित्र उफ्रिने दर्शकहरूको संख्या बढ्नपुगेको थियो । त्यसले ‘रेशम’, ‘तालको पानी’ र अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ सम्म पुग्दा क्रमशः दर्शकहरूमा उत्तेजनाको पारो बढाउँदै लगेको थियो ।
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
स्थानीय आयोजक ‘कोशेली कोलोराडो’ समूहले नेपथ्यको प्रस्तुति कोलोराडो राज्यमा आजसम्मकै सबैभन्दा ठूलो नेपाली कार्यक्रम रहेको र भव्य रूपमा ‘सोल्ड आउट’ सहित सभ्य रूपमा सफल भएको प्रतिक्रिया दिएको छ ।
अमेरिका यात्राको प्रथम कन्सर्ट भव्य रूपमा सम्पन्न भएसँगै दोस्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटीय समृद्ध सहर सानफ्रान्सिस्कोमा हुनेछ । त्यहाँस्थित ‘वारफिल्ड थिएटर’ मा अगस्त १० तारिखका दिन नेपथ्य आठ वर्षको अन्तरालपछि फेरि प्रस्तुत हुँदैछ ।
त्यसपछि भने ब्याण्ड क्रमशः ओहायो राज्यको राजधानी कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्याण्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसवर्गमा प्रस्तुत हुनेछ ।
अमेरिका यात्राको सबै कन्सर्टका लागि दर्शकहरुले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रवन्ध मिलाइएको छ । त्यसका लागि ब्याण्डको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत थप जानकारी लिन सकिनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।