काठमाडौँ । नेपथ्य ब्यान्डको प्रारम्भिक यात्रामा लोकप्रियताको शिखर चुमाएको गीत ‘हिमाल चुचुरे’ ले तीन दशकपछि पुनर्जन्म पाएको छ। लोकलयमा आधारित यो पुरानो गीतलाई पहिले ‘पप’ शैलीमा प्रस्तुत गरिएको थियो भने हाल ‘लोक रक’ शैलीमा रूपान्तरण गरी भिडियो सहित सार्वजनिक गरिएको छ।
यो नवीन स्वरूपमा गीतलाई नेपथ्य ब्यान्ड र नयाँ पुस्ताका भिडियोकर्मीहरूको संयुक्त प्रयासले सिंगारिएको छ। नेपथ्यसँग लामो समयदेखि सहकार्य गर्दै आएका भिडियोग्राफर दीपक राजले गत वर्ष नेपाल र अमेरिकामा आयोजित नेपथ्यका कन्सर्टका दृश्यहरू समेटेर चार मिनेट लामो भिडियो तयार पार्नुभएको हो। गीतलाई ब्यान्डले नै नयाँ शैलीमा ढालेको र केही समयदेखि कन्सर्टहरूमा गाउँदै आएको बताइएको छ।
नेपथ्यका संस्थापक अमृत गुरुङ र दीपकजंग राणाको जीवनीमा यो गीतको रोचक पृष्ठभूमि पनि उल्लेख गरिएको छ। उहाँहरू गण्डकी बोर्डिङ स्कुलमा पढ्दा एक दिन स्कुलमा आएका विदेशीहरूले नेपाली लोकगीत गाउँदा ‘दाइको मन कस्तो’ भन्ने अंशलाई ‘डाइको मन क्यास्टो’ जस्तो उच्चारण गरेको स्मरण गरिन्छ। त्यसैबाट प्रेरित भएर उहाँहरूले आफ्नो दोस्रो एल्बमको नाम नै ‘हिमाल चुचुरे’ राख्नुभएको थियो, जुन सन् १९९४ मा सार्वजनिक भएको थियो।
“सुरुमा बिग्रिएको जिब्रो अनुसारै ‘क्यास्टो’ भनेर रेकर्ड गर्ने चाहना थियो,” गायक अमृत गुरुङले बताउनुभयो, “तर साथीहरूको मत नमिलेपछि अलिक मिलाएर तयार पारेका थियौँ।” उहाँले समयसँगै गीतले चोला फेर्दै गएको देख्दा आफूलाई खुसी लागेको बताउनुभएको छ।
नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले नयाँ पुस्ताको रुचिलाई ध्यानमा राखेर पुरानो गीतलाई नयाँ स्वरूपमा प्रस्तुत गरिएको बताउनुभयो । उहाँका अनुसार यसले कुनै कालखण्डमा ब्यान्डले गाएका पुरानो गीतप्रतिको रुचिलाई सम्बोधन गर्ने प्रयास हो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










