दुई दशकदेखि बेल्जियम रहँदै आएका कथाकार पंचम अधिकारीको कथासङ्ग्रह हो ‘प्रवासीको देश हुन्न’ । पुस्तकमा शीर्षकथासहित ‘सानो सेक्रेट’, ‘नेहा’, ‘लोकल हिरो’, ‘घातक आकर्षण’, ‘चालू प्रेम’, ‘तिम्रो लोग्ने खै ?’, ‘अनि ऊ भागी’, ‘पिकासो केटी’, ‘फिरन्ते अनुराग’, ‘यो बर्बादी’, ‘इपिसेन्टर पालुङटार’, ‘इडियट’ र ‘तिम्री स्वास्नी’ गरी जम्मा १४ थान कथा सङ्ग्रहित छन् ।
‘करिब आठ वर्षअघि माईसंसार डट कममा मेरो कथा छापिएको थियो – प्रवासीको देश हुन्न । यो शीर्षक मेरो मनमा गड्यो ।’, पुस्तकमा अधिकारी लेख्छन्, ‘अनि मैले ‘प्रवासीको देश हुन्न २’ लेखें । फेरि पुस्तक प्रकाशन गर्ने बेला जेठो कथा छुटाएँ, तर टाइटल यही जुर्यो । यी कथाहरु मेरो प्रवासी जीवनका जिनिस हुन् । मनस्वी र मायावी नियति हुन् । यसका पात्रहरु म बसेको सेरोफेरोका साक्षी हुन् ।’
तनहुँमा जन्मिएर चितवनमा हुर्किएका अधिकारी उच्च शिक्षाका लागि काठमाडौं छिरे । पत्रकारितामा भिजे । उनले काठमाडौं, नयाँ दिल्ली र ब्रुसेल्समा भाषा, संचार र पत्रकारितासम्बन्धी अध्ययन गरेका छन् । ब्रसेल्समा उनी एक आईटी कम्पनीमा काम गर्छन् । ‘पथिक प्रवासन’ उपन्यास लेखेर साहित्य क्षेत्रमा पर्दापण गरेका अधिकारीको यो दोस्रो कृति हो ।
पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । १ सय ८० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय २५ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।