डिजी शर्मा, युएई । साहित्यकार क्रान्ति पराजुलीको दोस्रो उपन्यास “प्रिय स्वप्नद्रष्टा” माथि गृहजिल्ला झापाको बिर्तामोडमा परिचर्चा कार्यक्रम शनिबार  सम्पन्न भएको छ ।

वीरता रिडर्स र नेपाली लेखक संघ झापाको संयुक्त आयोजनमा सम्पन्न  कृति परिचर्चा कार्यक्रममा समालोचक तथा प्राज्ञ मुनाराज शेर्मा, कथाकार भुवन सुब्बा र समीक्षक लेखनाथ भट्टराईले  कृतिमाथि आ-आफ्नो दृष्टिकोण राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै समालोचक शेर्माले यस उपन्यासमा राजनैतिक चेतना र प्रेम जीवन समान रुपले व्याख्या गरिएको बताउनु भयो । उपन्यासको भाषा गहन भएको भन्दै उहाँले यसमा उठाइएको कृषि क्रान्तिका कुराहरुले युवा जमातलाई देशमै केही गर्न प्रेरित गर्ने र देश विकासमा सघाउ पुर्याउन सक्ने विचार व्यक्त गर्नुभयो ।

त्यस्तै कथाकार भुवन सुब्बाले उपन्यासले देश प्रेम, न्यायलयका साथै अध्यात्म र ज्योतिष शास्त्रीय मान्यतालाई समेत प्रस्तुत गरेको उल्लेख गर्नुभयो । उपन्यासका पात्रहरूको विचार सशक्त भएको र अहिलेको समयमा देशले प्राप्त गर्नुपर्ने एक विशेष पात्रको परिकल्पना उपन्यासमा पाउन सकिने उहाँले बताउनु भयो ।

कार्यक्रमका अर्का वक्ता समीक्षक लेखनाथ भट्टराईले साहित्यकार पराजुलीको सो उपन्यास प्रगतिवादी उपन्यास नभई देश प्रेम र न्यायको विषयमा लेखिएको उपन्यास भएको उल्लेख गर्नु भयो । साथै उहाँले सो उपन्यासलाई नारीवादीको सज्ञा दिन पनि नचाहेको, तर त्यसमा नारी प्रेम समपर्णको कथा भने समेटिएको बताउनु भयो ।

चारपाने स्थित सामुदायिक भवनमा सम्पन्न कार्यक्रमको अध्यक्षता लेखक  पराजुलीका ९३ वर्षीय हजुरबुबा डिल्लीराम पराजुलीले गर्नुभएको थियो भने अग्रज साहित्यकार पुण्य प्रसाद खरेलको प्रमुख आतिथ्यता र शिवसताक्षी नगरपालिकाकी उपमेयर नरमाया कार्कीको विशेष आतिथ्यता रहेको थियो ।

साहित्यकार पराजुलीका पिता टंक प्रसाद पराजुलीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम  लेखक तथा पत्रकारद्वय तीर्थ सिग्देल र कुमार भट्टराईले सञ्चालन गर्नुभएको थियो ।

साहित्यकार क्रान्ति पराजुलीको उपन्यास “प्रिय स्वप्नद्रष्टा” गत जेठ १५ गते काठमाडौंमा आयोजित एक समारोहका बीच  लोकार्पण गरिएको थियो । उपन्यासलाई शिखा बुक्सले बजारमा ल्याएको हो । यसअघि २०७६ सालमा उहाँको पहिलो उपन्यास “डिलको डोब” प्रकाशित छ ।

झापाको चारपानेमा जन्मिनु भएकी साहित्यकार पराजुली लामो समयदेखि राजधानीमा बसेर लेखनमा सक्रिय हुनुहुन्छ । पेशाले उहाँ कानुन व्यवसायी हुनुहुन्छ ।