डिजी शर्मा । नेपालको पूर्वी जिल्लाको यात्रामा रहनुभएका गजलकार लक्ष्मण सङ्गमको झापाको बिर्तामोडमा एकल गजल वाचन हुने भएको छ । लामो समयदेखि विभिन्न साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको “UNPLUGGED वाचन”ले कार्यक्रमको आयोजना गर्न लागेको हो ।
माघ १३ गते शनिबार बिर्तामोड स्थित शनिश्चरे रोडमा रहेको “The Sandwich Point” को हलमा कार्यक्रम हुने जनाइएको छ । दिउँसो ठिक ३ बजेदेखि सुरु हुने कार्यक्रम ४० मिनेटसम्म सञ्चालन हुने कार्यक्रम संयोजक तथा गजलकार सुनिता तामाङले जानकारी गराउनु भयो ।
कार्यक्रममा The Sandwich Point को पनि सहकार्य रहेको संयोजक तामाङले बताउनु भयो । यसअघि माघ ९ गते मङ्गलबार धनकुटाको पाख्रिबासमा गजलकार सङ्गमको एकल गजल साँझ सम्पन्न भएको थियो ।
पाख्रिबास कला साहित्य समाजले आयोजना गरेको “पाख्रिबास गजल साँझ” मा गजलकार सङ्गमले आफ्नो दमदार प्रस्तुतिले गजल पारखीहरुलाई मन्त्रमुग्ध बनाउनु भएको थियो । यो नै पूर्वमा आफ्नो पहिलो गजल वाचन भएको उहाँले जानकारी गराउनु भयो ।
निजामती सेवा अन्तर्गत रक्षा मन्त्रालयमा कार्यरत गजलकार सङ्गमले कामको सिलसिलामा इलामसम्म पुग्ने योजना रहेको बताउनुभयो ।
देशका विभिन्न स्थानमा हुँदै आएका गजल र कविता वाचनका विभिन्न कार्यक्रमहरुमा आफ्नो बलियो उपस्थिति जनाउन सफल अछाम निवासी गजलकार सङ्गम पछिल्लो एक दशकदेखि गजलमा सक्रिय हुनुहुन्छ । गजलसँगै कवितामा पनि उहाँको कलम उत्तिकै सशक्तता साथ चल्दै आएको छ ।
विभिन्न समयमा भएका गजल र कविता प्रतियोगिताहरुमा विजेता समेत बन्दै आउनु भएका गजलकार सङ्गमको एउटा संयुक्त गजल सङ्ग्रह “गजल इन्द्रेणी २” प्रकाशित छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।