पछिल्लो डेढ दशकदेखि साहित्य लेखनमा सक्रिय रहँदै आउनुभएकी गजलकार तथा मुक्तककार रोमा लम्साल ‘नुरा’ ले आफ्नो पहिलो कृतिको रूपमा मुक्तक सङ्ग्रह लिएर आउनुभयो । २०८० साल असोजमा समीर प्रकाशनले बजारमा ल्याएको मुक्तकसंग्रह “अन्तिम भेट” लाई युएईमा पनि विमोचन गर्ने अवसर जुर्यो ।
युएई आइपुगेका कृतिहरूलाई यहाँ हुने साहित्यिक कार्यक्रममा विमोचन गर्ने चलन बस्दै गएको छ । तनहुँ सेवा समाज युएईले २११ औँ भानुजयन्तीको अवसरमा गत जुलाई १४ तारिख आइतबार दुबईमा आयोजित एक समारोहका बीच मुक्तककार लम्सालको कृति पनि विमोचन गरिएको थियो ।
१५ वर्षको उमेर अर्थात् २०६५ सालबाट कथामार्फत साहित्य लेखनको प्रारम्भ गर्नुभएकी लम्साल अहिले भने गजल, गीत र कवितामा पनि उत्तिकै सक्रियतासाथ कलम चलाउँदै आउनुभएको छ । समाजमा भइरहने विभिन्न घटनाहरू र समाजका विकृति विसङ्गतिहरूले नै आफूलाई साहित्यमा लाग्न प्रेरित गरेको उहाँ बताउनु हुन्छ ।
२०५० सालमा खोटाङमा जन्मनु भएकी गजलकार लम्साल अहिले भने काठमाडौँको सिनामङ्गलमा बस्दै आउनुभएको छ । माता दुर्गामाया लम्साल र पिता मनप्रसाद लम्सालकी उहाँ जेठो सन्तान हुनुहुन्छ । उहाँले स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएको छ ।
नेपाल भारत कविता महोत्सव सम्मान, चितवन कविता महोत्सव, साहित्य कला संस्कृति प्रतिष्ठान धरान, सप्तरङ्गी साहित्य प्रतिष्ठान लगायतबाट उहाँले सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
पहिलो एकल मुक्तक सङ्ग्रहको रूपमा “अन्तिम भेट” लिएर साहित्य आकाशमा पाइला राख्नुभएकी मुक्तककार लम्सालको यसअघि २०७४ सालमा संयुक्त मुक्तकसंग्रह प्रकाशित भएको थियो । उहाँको नवीनतम मुक्तकसंग्रह, नेपाली मुक्तक विधा र उहाँको लेखन यात्राका बारेमा सम्बन्धित रहेर केही कुराकानी गर्ने कोशिश गरिएको छ । अब प्रस्तुत छ, गजलकार/मुक्तककार रोमा लम्सालसँग गरिएको कुराकानीको सम्पादित अंश…..
१) तपाईंको मुक्तकसंंग्रह “अन्तिम भेट” बजारमा आएको एक वर्ष हुनलाग्यो । पहिलो कृति प्रकाशन पछिको यो समय अवधि कस्तो रह्यो ? र के कस्ता प्रतिक्रियाहरू पाउनुभयो ?
– साहित्यको माकुरी जालोले जेलिएको साम्राज्यवादी दुनियाँमा कृति बोकेर पदार्पण गर्ने मेरो चाहना अलि फरक थियो । म चाहन्थें मेरो पहिलो कृति “अरुणोदय” होस् । स्वावलम्बी नारी स्रष्टाको रत्यौली नाचमा, नारी अधिकारको खुला आकाश तलको प्रफुल्ल चौरमा तर….. । अनि मैले आफ्नो यात्राको पाइलालाई अन्तिमबाट शुरू गर्ने अठोट गरें ।
नारीको स्वच्छन्द भावनालाई नारीले नै निकृष्ट भएर भुत्ल्याएर नङ्ग्याउने हाम्रो समाजमा किनारामा परेको नारी कलमले कापीमा अक्षर कोर्न जमर्को गरेको पनि रुचाउँदैन रहेछ । मन्थरा र पिपासु समाजले भन्ने अनुभूति भएर अन्तिम यात्रा लिएर आएँ । यो एक वर्षको यात्रामा अनेक प्रवृत्तिको सामना गर्यो अन्तिम यात्राले । शाब्दिक प्रहार भए, अनेकन गिद्ध आए, दुवै लिंगका । तर अन्तिम यात्रालाई हृदयमा बसाउनेको जमातले मलाई अर्को एक पाइला सारेर नयाँ कृति ल्याउन प्रेरणा दिएको अनुभव गर्दैछु ।
२) तपाईं गजल र कथामा पनि उत्तिकै सक्रियताका साथ कलम चलाउनु हुन्छ । कृतिगत रूपमा पहिले मुक्तकलाई रोज्नु भयो । केही विशेष कारण छ ?
– रोज्नु भयो भन्ने शब्द विरोधाभासपूर्ण छ । म काव्य र आख्यानका विधामा आफूलाई नचाउँछु । कविता, गजल, मुक्तक मेरा लागि भोगाइको तत्काल उद्बोधन गर्ने माध्यम हुन् । आख्यान समग्र समाज र जिन्दगी उकेर्ने पाटो हो । रोजाइ वर्गीय उच्चताका यात्रीको लागि हो । हामीजस्ता मिहिन अक्षरले त शब्द बन्न सक्नु नै अस्तित्व जोगाउनु हो।
३) मुक्तक सङ्ग्रहको नाम “अन्तिम भेट” कसरी रहन गयो भनेर त म सोध्दिन । किनभने त्यसलाई पुष्टि गर्नेगरी थुप्रै मुक्तकहरू यसमा सङ्ग्रहित छन् । यो “अन्तिम भेट” किन यति प्रिय भयो तपाईंको लागि ?
– पुस्तकको नाम सुनेर झस्किने पनि भेटें मैले, अनौठो माने कतिले । तर यो पुस्तकको नामकरणका पछाडि यही जन्मको पूर्व जन्मको याद अनि जिन्दगीको पूर्वार्धमा झरेर गएको पातलाई सम्झिन्छु । त्यो यादको आहालमा हिलाम्मे भएको मस्तिष्कले न्वारन गरेको पुस्तकको नाम अहिले ज्यादै प्यारो लाग्छ । नेपथ्यको सम्झना र भविष्यको कल्पनाको अन्तरघुलनबाट वर्तमानको लागि जन्मिएको नौनी रूपी नाम हो अन्तिम भेट ।
४) प्रेम जीवनका कुरा, भत्किएका प्रेम र सम्बन्धका कुराहरू पनि मुक्तकमा राम्रैसँग समेटिएको छ । लेखकको जीवनसँग कति नजिक छन् यी मुक्तकहरू ?
– केवल कल्पनामा साहित्य लेख्न सम्भव हुन्छ र ? कल्पनामा त दर्शन मात्र लेखिन्छ । यो मुक्तक संग्रहभित्र विविध प्रकारका प्रेम, आक्रोश, समाज सबै आएको हुनुपर्छ । तपाईंको आशयको प्रेमको कुरा अलि फरक पाटो हो अर्थात् त्यो त यात्राको बाटो हो ।
५) सङ्ग्रहको भूमिकामा साहित्यलाई आफ्नो दोस्रो प्रेमी हो भन्नुभएको छ । दोस्रो प्रेमीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? र प्रेमीको प्रेम र साहित्यको प्रेम बीचको अन्तरसम्बन्ध चाहिँ कस्तो हुँदो रहेछ ?
– प्रेम नै थिएन भने मैले मेरो यो कृति तपाईंको हो भन्न कहाँ पाउँथें र ? जोसँग प्रेम हुुन्छ या जसलाई प्रेम गरिन्छ अथवा प्रेम भएको/गरिएको ठाउँमा सन्तुष्टि नै पाइन्छ, यो त सत्य हो नि । प्रेम आफैँमा पवित्र छ । प्रेमीको प्रेमको उपज नै साहित्यसँगको प्रेम हो । फेरि प्रेम नै सबथोक होइन र प्रेेम मात्रै पनि साहित्य होइन । सम्बन्ध रहन्छ तर सर्वाधिकार सम्बन्ध प्रेमको हुन्न । यो कुरा म राम्रोसँग बुझ्न सक्छु । समाजका घटना परिघटना जस्ताको त्यस्तै लेख्न सक्ने कलम मात्रै हो ।साहित्यकार मात्रै हुन् । कलमको शक्ति र कलमबाट भएको परिवर्तन मैले वर्णन गर्नपर्छ लाग्दैन । अलग छैनन् कोहीबाट केही । मुनामदन मात्रै सिङ्गो उदाहरण होइनन्, थुप्रै छन् । तर एक अर्कासँग नङ र मासुको जस्तो सम्बन्ध हुन्छ जस्तो लाग्छ मेरो विचारमा।
६) मुक्तक सङ्ग्रहमा ७ जना सर्जकहरूबाट भूमिका र शुभकामना लेखाउनुभएको रहेछ । एउटा मुक्तक सङ्ग्रहमा यति धेरै जनाबाट शुभकामना लेखाउनु पर्ने जरुरी किन ठान्नु भयो ?
– यहाँ मैले लिनै पर्ने नाम छन् । जसले शुभकामना लेख्नु भएन । शुभकामना दिनुहुने आदरणीय दाइ शिव शर्मा, डा. भिम खतिवडा दाइ, टक गुरुङ सर, रामेश्वर केसी सर । साथै यस सङ्ग्रहमा शुभकामना लेख्नेहरू मेरा अभिभावक हुनुहुन्छ । उहाँहरूकै छोराछोरी म, अनि मैले जन्माएको सन्तानलाई मेरा अभिभावकले प्रेम नगरे कसले गर्छ ? भूमिकादेखि शुभकामना दिनुहुने मेरा अग्रजहरूले प्रष्ट लेख्नुभएको छ। पढेर किन रहेछ छुट्टयाउने जिम्मा पनि मेरा प्रिय पाठकलाई छोडिदिएँ।
७) तपाईंको लागि साहित्य सिर्जना के हो ? किन लेखिरहनु भएको छ ?
– साहित्य सिर्जना मेरो लक्ष्य होइन । मैले पढेको समाज, भोगेको व्यथा, हेरेको दृश्य, सुनेको आवाज अनि थिचिंदाको आर्तनाद र थिच्ने घोर्ले पैतालाको अनुभव र चम्किलो मलमलमा गुड्डी हाँक्ने साहित्यका महारथीका चौरमा शब्दको कनिका छर्ने जमर्को गरेकी मात्र हुँ ।
८) तपाईंको लेखन यात्राका बारेमा पनि थोरै केही बताइदिनुस् न । कसरी यो क्षेत्रमा आइपुग्नु भयो ?
– अग्रजहरूका किताब पढेर नै मैले लेख्न सक्छु अनि लेख्नुपर्छ भन्ने लागेको हो । साहित्यमा साधना गर्नुपर्छ भन्ने इच्छा भएको हो । प्रेरणाका पात्र हरेक संग्रहहरू नै हुन् । अग्रजका गजलका शेरहरू मेरो प्रेरणा बनेपछि मैले पनि गजल लेखेँ । म यही समाज, गाउँघरमा खेल्दै हुर्केको मान्छे, समाजका दर्दनाक पीडा देख्ने एक साक्षी म पनि हुँ । दाइजोका नाममा हाम्रा गाउँमा जिउँदै बुहारी जलाएका घटना ताजै छन् मन मस्तिष्कमा । छोराकै नाममा बुहारीलाई दुःख दिएका घटना, पढेर जति विद्वान भए पनि यस्ता रोगी मानसिकताले ग्रसित छँदै छ यो हाम्रो समाज । यस्ता घटना अनगिन्ती छन् । हो, यही समाजमा जब मनले मनसँग विद्रोह गर्यो, परिवर्तनको अर्को शान्त बाटो खोज्यो, यही विकल्पकै एक रुप साहित्य अनि यिनै यावत् कारणहरूले नै गर्दा मैले साहित्यमा कलम समाएँ । म निरन्तर लेखिरहनेछु ।
९) नेपाली साहित्यमा अहिले मुक्तक विधा एकदम उत्साहका साथ लेखिंदै आएको पाइन्छ । यसलाई यहाँले कसरी हेर्नुहुन्छ ?
– नेपाली साहित्यमा लेखिनै पर्ने विधा मध्ये एक विधा मुक्तक हो जस्तो लाग्छ मलाई । पछिल्लो समय यस विधामा धेरैले कलम चलाउनु भएको छ । यो देख्दा मुक्तकको भविष्य अति सुन्दर रहेको देखिन्छ । सिर्जना गर्न सजिलो छैन । तर राम्रा मुक्तक लेखिरहनुभएको छ । सर्जकले लगनशीलता, सहनशीलता, धैर्यता र साधना गर्नु नै पर्छ अनि मात्रै सफल भइन्छ । मुक्तकमा साधना गर्नुहोस् भन्न चाहन्छु।
१०) मुक्तक आफैँमा एउटा सैद्धान्तिक विधा हो । जसका आफ्नै निमयहरू रहेका छन् । मुक्तकमा कलम चलाउने अहिलेको युवा पुस्ताले मुक्तकका सैद्धान्तिक पक्षहरूलाई कत्तिको ध्यान दिएको पाउनु हुन्छ ?
– यसको मूल्याङ्कन गर्ने जिम्मा मैले मेरा अग्रजलाई सुम्पिदिएँ । जहाँसम्म मैले भेटेका र पढेका पछिल्लो समयका मुक्तकहरू राम्रा छन्। मीठा छन् र सरल पनि छन् । खुशी लाग्छ यसरी मुक्तकलाई माया गरेर यस विधामा साधना गरेको देख्दा ।
११) जाँदाजाँदै अन्त्यमा केही ?
– जाँदाजाँदै मसँगै रहेर यात्रा गरिरहनुहुने मेरा आत्मीय मनलाई सम्झन चाहन्छु । “अन्तिम भेट” प्रिय पाठकलाई सुम्पेको छु । यसभित्रका मुक्तकहरू तपाईँकै लागि लेखिएको जस्तो लागेमा मलाई सम्झेर सल्लाह सुझाव दिन नभुल्नु होला । मेरा मनका भावना लेख्ने अवसर पाएँ, त्यसका लागि धन्यवाद ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।