पहिलो गजलसंग्रह निकालेको १७ वर्षपछि झापाका गजलकार कृष्ण काश्यपले दोस्रो गजलसंग्रह ‘सराब’ बजारमा ल्याउनुभएको छ ।

विसं २०६४ मा उहाँको पहिलो गजलसंग्रह ‘नयनभित्र तिम्रो तस्बिर’ प्रकाशित छ । गत मंसीर १ गते शनिवार झापाको दमकमा आयोजित समारोहमा उहाँको गजलसंग्रह ‘सराब’ विमोचन गरिएको थियो ।

पचासको दशकबाट गजल लेखनमा सक्रियताका साथ लागिरहनुभएका गजलकार काश्यप पेशाले निजामती सेवामा कार्यरत हुनुहुन्छ । दमकमा रहेको स्रष्टा पब्लिकेसनले बजारमा ल्याएको ‘सराब’भित्र विभिन्न विषयमा लेखिएका ९५ गजल समावेश छन् ।

विसं २०४१ पुस १० गते झापाको शिवसताक्षी १ मा जन्मनुभएका काश्यप माता देवीमाया र पिता नारद घिमिरेका कान्छो सन्तान हुनुहुन्छ । आफ्ना दाजुको कविताबाट प्रभावित भएर विसं २०५५ अर्थात् १४ वर्षकै उमेरमा प्रतियोगितामा कविता सुनाएर साहित्य लेखनको यात्रा आरम्भ गर्नुभएको थियो । उहाँले विसं २०५६, ‘चेसुङ’ पत्रिकामा पहिलो पटक मुक्तक प्रकाशन गर्नुभएको थियो । स्नातकोत्तर सम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका काश्यप प्राध्यापन पेशामा पनि आबद्ध हुनुहुन्छ । गजलबाहेक कविता, कथा, नाटक र उपन्यासमा पनि कलम चलाउनु भएको छ ।

नवनासो साहित्य प्रतिष्ठान लगायत संघसंस्थामा आबद्ध भएर उहाँले साहित्यको सेवा पनि गरिरहनुभएको छ ।

अब प्रस्तुत छ, गजलकार कृष्ण काश्यपको लेखन यात्रा र गजलसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंश ।

दोस्रो गजलसंग्रह सराब प्रकाशनमा आएको पनि केही समय भइसक्यो । यो अवधिमा के कस्ता प्रतिक्रिया प्राप्त गर्नुभयो गरिरहनुभएको छ ?

–  मेरा आफन्त, शुभचिन्तक र साथीभाइहरूले राम्रो छ भनेका छन् । तर, मैले चाहेको यति मात्र होइन । म चाहन्छु कहाँनेर सुधार गर्नु पर्ने छ ? म कहाँ-कहाँ चुकेको छु ?  म त्यो जान्न चाहन्छु । दमक र इटहरीको कार्यक्रममा चाहिँ सकारात्मक सुझावहरू आएका छन् । म त्यो कुरालाई शिरोपर गर्नेछु ।

कृति प्रकाशन गर्नुअघि यसलाई लिएर सर्जकमा विभिन्न किसिमका आशा/अपेक्षाहरू हुन्छन् । तपाईंका चाहिँ के कस्ता अपेक्षा थिए, ती कति पूरा भए/भएनन् ?

–  नढाँटी भन्नुपर्दा मसँग केही अपेक्षाहरू थिएनन् र नहुन् पनि जस्तो लाग्छ । मैले जानेको, असल कर्म गर्नुपर्छ भन्ने हो । बाँकी पाठकहरूको हातमा छ । अतः त्यत्रो धेरै अपेक्षाहरू साँचेर नहिँड्ने मान्छे भएको हुँदा अरूले सोचिदिए जस्तो कुराहरू पूरा नहुँदा म विचलित हुन्न, हतोत्साहित हुन्न ।

बजारीकरण र चर्चा परिचर्चाका हिसाबले एउटा सर्जक कृतिकारको रूपमा आउनु कत्तिको सकसपूर्ण कार्य हो जस्तो लाग्छ ?

– सबैभन्दा महत्त्वपूर्ण कुरा रहर रहेछ । शुरूमा मैले नजान्दा रहरै-रहरमा निकालेँ । तर, अहिले आएर बुझेँ कि रहरभन्दा पनि कृति बजारमा ल्याउनु भनेको केही नयाँ कुरा दिनु हो । भएकाहरूमध्ये बाट केही थप हुनु हो । यो नै एकदम चुनौतीपूर्ण छ । मेरो कृतिमा पहिलाको भन्दा नयाँ स्वादका परिकारहरू छन् कि छैनन् ? बजारमा आएका कृतिहरूमध्ये मेरोमा केही नयाँ खुराक छ कि छैन ? यो महत्त्वपूर्ण कुरा हो । र त साधना चाहिन्छ भनिएको हो सिर्जनाको निम्ति ।

 

सत्र वर्षपछि बल्ल दोस्रो पुस्तक प्रकाशन गर्नुभयो । प्यासनप्रोफेशनलाई सँगै लान नसकेर यति लामो समय लाग्यो भनेर तपाईंले भन्नुभएको छ    यस बाहेक सिर्जना नै नफुर्ने राइटर्स ब्लकको शिकार चाहिँ  हुनुभयो कि भएन ?

– वास्तवमा भन्नुपर्दा मैले धेरै विधाका सिर्जनाहरू रोकेर, थुनेर राखेँ । प्लटहरू तयार छन्, कन्सेप्टहरू रफमा कोरेको छु । किनकि मैले सर्वप्रथम मेरो र परिवारको सरल जीवनयापन हुनुपर्छ भन्ने कुरालाई प्राथमिकता दिएँ र दोस्रो संग्रह निकाल्न जुग लाग्यो । सिर्जना नफुर्ने भन्ने चाहिँ हैन । कसरी कन्ट्रोल गरेर राखेँ त्यो मलाई थाहा छ । अब म लेखनलाई नै निरन्तरता दिनसक्ने सामर्थ्यमा आइपुगेको छु । प्यासनलाई सक्दो तृप्त बनाउनेछु ।

आफैँलाई मूल्याङ्कन गर्दा, सिर्जनात्मक हिसाबमा आफूमा कति सुधार भयो होला भन्ने लाग्छ ?

– अनुभव, अध्ययन र भोगाइले मलाई बलियो बनाएको छ । आकाश-पाताल फरक पाएँ सिर्जनात्मक हिसाबले आफूलाई । तर भनेजस्तो, सोचेजस्तो र भोगेजस्तो गजल लेख्न सकेको छुइनँ । निरन्तर कोशिशमा छु । हरेक दिनजसो फुरेका शेरहरूलाई बुन्ने प्रयास गर्दैछु, उन्दैछु । एक दिन कसो एउटा चित्तबुझ्दो पूर्ण गजल नलेखिएला भन्ने प्रयत्नमा लागिपरेको छु ।

संग्रहको नाम सराबलाई पुष्टि गर्नेगरी थुप्रै शेरहरू यसमा समेटिएका छन् । व्यक्तिगत जीवनमा चाहिँ सराबसँग तपाईंको सम्बन्ध कस्तो छ ?

– म सराब प्रेमी मान्छे, चाहे पुस्तकालय जस्तो सजाउन होस् या पिउन । भोगाइलाई जीवनमा उतार्न सकियो भने त्यो सिर्जना अमर रहन्छ भन्ने अभिप्राय हो मेरो । एउटा सराबीको सराबसँग जस्तो सम्बन्ध हुन्छ, मेरो पनि सराबसँग त्यस्तै सम्बन्ध छ ।

सामन्यतया कवि, गजलकारले आफ्ना सिर्जनामा कुनै न कुनै रूपमा प्रत्यक्ष/अप्रत्यक्ष  सरकारलाई गाली गरेको पाइन्छ । तर यस संग्रहमा त्यो पाइँदैन । कृष्ण काश्यप सरकारी जागीरे भएका कारणले यस्तो भएको हो भनेर तपाईंको कृति विमोचन कार्यक्रममा प्रतिक्रिया आएको थियो । यो सही हो, अथवा यसमा अरू कुनै कारणले पनि काम गरेका छन् ?

– साह्रै चित्तबुझ्दो प्रश्न गर्नुभयो सर ! वास्तवमा म लेख्न बस्दा, न आफूलाई जागीरे सम्झिन्छु, न घरको कान्छो छोरा सम्झिन्छु, न त ब्राह्मण हुँ भन्ने सम्झिन्छु, न त पुरुष हुँ भन्ने सम्झिन्छु, न केही सम्झिन्छु । अझ भनौँ भने गालीगलौज त आफैँलाई पनि नगरौँ भन्ने मान्छे हुँ म, अरूलाई, सरकारलाई किन गर्ने ? आफ्नो सिर्जनालाई किन दूषित बनाउने ? भन्ने लाग्छ ।

नशा जस्तै आँसु पिउने परीक्षामा बसेपछि,

कि त मान्छे रोगी बन्छ, कि त गजलकार हुन्छ”….

तपाईंकै यो एक शेर सापटी लिँदै सोध्न मन लाग्यो, तपाईंलाई चाहिँ के कुराले गजलकार बनायो ?

– लेख्न त कविता, गजल र आख्यान पनि लेख्छु । उपन्यास त अन्तिम तयारीमा छ । तर, गजल लेख्दा, वाचन गर्दा र स्टेजमा सुनाउँदा मलाई छुट्टै आनन्द आउँछ, मज्जा लाग्छ र सबैले गजलकारको रूपमा चिन्नहुन्छ ।

भूमिकामा भन्नुभएको छ, १५ दिन ध्यान गर्नु र एउटा गजल लेख्नु मेरो लागि बराबर हो ।” ध्यानको अनुभव धेरैलाई नहुन सक्छ । त्यसैले ध्यान गर्नु र गजल लेख्नु बीचको आन्तरिक सम्बन्ध कस्तो हुँदो रैछ ?

– सर्जक भनेको साधक हो । साधनाविनाको सिर्जना कहाँ पूर्ण हुन्छ ? जस्तो मैले एउटा गजल आफूलाई चित्तबुझ्दो लेखें भने १५ दिनभन्दा बढी म त्यतिकै खुशी हुन्छु । म खुशी हुनु भनेको परिवार खुशी हुनु हो । अफिसका साथीभाइसँग पनि मैले खुशीयालीको वातावरण बनाउनु हो । यो अस्तित्वमा रहेका सबैलाई सकारात्मक सोचले हेर्नु हो । जीवन सुन्दर र सुगन्धित फूल जस्तो हुनु हो भन्ने महसूस हुनु हो । अनि कति गहिरो र सुन्दर सम्बन्ध रहेछ त ध्यान र लेखनमा !

देश तथा परदेश, जुनसुकै कुनामा बसेर लेखिरहेको भए पनि, कृति प्रकाशनपछि सकेसम्म विमोचन, नभए पनि कम्तीमा कृति विमर्श/चर्चा कार्यक्रम काठमाडौँमा राख्ने चाहना प्राय: लेखकमा देखिन्छ । यो भनेको नेपाली साहित्यमा कुनै न कुनै रूपमा केन्द्रीय अस्तित्व छ भन्ने प्रमाण पनि हो । तपाईंमा चाहिँ त्यो किसिमको लोभ कति छ ? र अहिलेको समयमा नेपाली साहित्यमा केन्द्र र मोफसल  भन्ने कुरालाई यहाँले कसरी व्याख्या गर्नुहुन्छ ?

–  “लु है !” भनेर साथीभाइलाई भनेको भए काठमाडौँमा नै विमोचन हुन्थ्यो होला । केही साथीहरूले त भनेका पनि हुन् । तर, मैले नै मानिनँ । किनकि अहिले संसार डिजिटलाइज भएको छ । प्रविधिले सबैलाई जोडेको छ । कुन केन्द्र र कुन मोफसल भन्ने नै छैन । तर केही कुरा चाहिँ नेपाली साहित्यमा अहिले पनि केन्द्रीय प्रवृत्ति हाबी छ । त्यो बिस्तारै चिरिन्छ पनि । जस्तो कि प्रकाशन गृह दमकमा पनि त खुलिसक्यो “स्रष्टा पब्लिकेसन” को रूपमा । भन्दा भने जस्तो हुन्छ कि, चर्चाको निमित्त मलाई त्यत्रो मोह नै छैन ।

नेपाली गजलकारको भीडमा कृष्ण काश्यपले आफूलाई कहाँनेर पाउँनुहुन्छ तथा भेट्नुहुन्छ ?

– “यो भीडमा”… भीडमा नभनौँ ।  यो रहरमा, जहिल्यै पनि भर्खर लेख्न थाल्दै गरेको गजलकारको रूपमा म आफूलाई पाउँछु । प्वाँख पलाउँदै गरेको चराको बचेरोको रूपमा पाउँछु । उत्साहले भरिएका हातहरूले कलम समाउँदै  गरेको बालकको रूपमा पाउँछु ।

नेपाली गजलमा विवाद जस्ता लाग्ने अनावश्यक बहस भइरहन्छन् । यस बारेमा तपाईंको धारणा के हो ?

– वास्तवमा विवाद केहीमा छैन । मलाई हो जस्तो लागेको कुरा, तपाईँलाई होइन जस्तो लागेको मात्र हो । विचारको आयतन फराकिलो भएको मात्र हो । केही नयाँ बस्तु जन्मन लागेको हो । केही सुन्दर हुन लागेको हो ।

जाँदाजाँदै अन्त्यमा केही ?

– यो भलाकुसारीले मलाई लेखनप्रति थप ऊर्जा मिलेको छ । त्यसका लागि साहित्यपोस्टलाई धन्यवाद !

जापान ।