हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता ३ वटा पुस्तक प्राप्त भएको छ ।
यो स्तम्भ राख्नुको कारण पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । सबै पुस्तक किन्न र पढ्न सकिँदैन । तर बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन यो स्तम्भमा गरिरहेका छौँ ।
===
१. निर्विषा – धनराज गिरी
हात्ती हुन्छ मुसो लुकेर घरमा बस्ने छ लाटो बनी
राजा के मनुवा कुबेर भुसुना जाने छ माटो बनी
जे जे नाम र काम बोके शिरमा तक्मा लगाऊ तिमी
सारा जीवनसार हेर मनुवा हुन्छौ सुकेको सिमी ।। (पृ. १९)
अग्रज साहित्यकार धनराज गिरीको छन्दोबद्ध कवितासङ्ग्रह हो, ‘निर्विषा’ । गजल, निबन्ध तथा कथा लेखकका सिद्धहस्त लेखक गिरी यो पहिलो छन्दोबद्ध कवितासङ्ग्रह हो । ‘निर्दोष लेख्ने भए !’ कवितामा उनी भन्छन् –
‘खारी शीप रचे अनर्थ नहुने अभ्यासले खारिने
जाने शब्द नयाँ कमाल रचना आचार्य बाटो दिने
अर्ती हो उपदेश सज्जन मिले आहा सुधा सूत्र हो
पक्का भारवि हो शशी कलमको वागीशको पुत्र हो ।
राखे चाख सिके सुमार्ग सजिलो पाइन्छ पक्का कुरा
औतारी गुरुजी हुने भुवनमा देख्ने छ बाटो भुरा !
धेरैको उपकार भो विगतमा गन्तव्य खोजी गए !
मानेमा गुरुको कुरा सहज हो निर्दोष लेख्ने भए !!!’
‘… धेरै विषय पढाएको हुनाले साहित्यमा पनि म धेरैतिर वितरित भएको हुँ । मेरो मूल विधा के हो ? थाहा छैन । लेख्दालेख्दै लेखियो । जानेर लेखेको होइन, लेखेर जान्ने कोशिश गरेको हुँ ।’, पुस्तकमा गिरी लेख्छन्, ‘‘निर्विषा’ मेरो पहिलो छन्द कवितासङ्ग्रह हो । यसमा मेरो शीप, मेरो कला, म जस्तै छ । ‘अराजक फेसबुके’ नाम पाएको छु । नाम, बदनाम र गुमनाम सबैबाट टाढा छु । मज्जासित धज्जी उडाएर आलोचना गर्नुहोला, खोजेको नै आलोचना हो । आदरणीय भावकज्यूहरु, यसपालि यस्तै भयो ।’
पुस्तकलाई गोरखा पब्लिकेशन्स प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । १ सय ३८ थान कविताहरु सङ्ग्रहित पुस्तकको मुल्य २ सय ९९ रुपियाँ रहेको छ ।
===
२. युद्ध, सहअस्तित्व र सिर्जना – दिपा लिम्बु राई
‘युद्धमा
या त तिम्रो जित हुन्छ
या त तिम्रो हार हुन्छ
जित र हार त हुन्छ हुन्छ ।
पृथ्वीनारायण शाहहरु
यो बहुरङगिन नेपाल
तिम्रो मात्र होइन
म र म जस्तै हारिदिनेहरुको पनि हो ।’
(हार्नेहरुको अस्तित्व, पृ. ५८)
स्थापित गीतकार दिपा लिम्बु राईको कवितासङ्ग्रह हो ‘युद्ध, सहअस्तित्व र सिर्जना’ । ब्रिटिश लाहुरे पृष्ठभूमिबाट आएकी कवि राईको कवितामा युद्ध र सहअस्तित्वका आवाजहरु बुलन्द भएर सिर्जनाका रुपमा देखापरेका छन् ।
‘युद्धमा तिमीले जित्छौ ?
जित्छौ ??
जित्छौ ???
यदि मैले हारिदिइनँ भने ।’
(युद्धमा, पृ. ४८)
‘युद्ध सधैँ पुरुषको थियो । युद्धजन्य अनुभूति र त्यसको अभिव्यक्ति पनि पुरुषकै । युद्ध साहित्यमा अब नेपाली नारी स्रष्टाले पनि प्रवेश गरेका छन् ।’, पुस्तकको भूमिकामा डा. गोविन्दराज भट्टराई लेख्छन्, ‘दिपा लिम्बु राईको ‘युद्ध, सहअस्तित्व र सिर्जना’ एक विशिष्ट उदाहरण हो । नेपाली युद्ध साहित्यका अध्येताले यस ऐतिहासिक प्रयत्नको हार्दिक प्रशंसा गर्नेछन् । यसले नेपाली नारी लेखनको दिशा परिवर्तनलाई सङ्केत गर्दछ ।’
पुस्तकलाई नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रकाशनमा ल्याएको हो । लामा–छोटा आयतनका १३ कविहरु सङ्ग्रहित पुस्तकको मूल्य ७० रुपियाँ रहेको छ । रोचक कुराचाहिँ के छ भने, जम्म ६२ पृष्ठमा फैलिएको पुस्तकको पहिलो ४७ पृष्ठमा भूमिका तथा लेखकको मन्तव्य खण्ड रहेको छ ।
===
३. तातो हिमाल – दीपक अर्याल
‘बिचरा ती कार्यकर्ता विचलित छन् कति कति
आफ्नोपन केही हुँदैन, केवल स्वार्थ अलिकति
आफ्ना नेताले जे गर्दा पनि स्वीकार गर्नुपर्ने
हृदयले अस्वीकार गर्दा पनि हुन्छ भन्नुपर्ने’
(बिचरा कार्यकर्ता, पृ.५)
शिक्षण पेसामा आबद्ध कवि दीपक अर्यालको छन्दोबद्ध कवितासङ्ग्रह हो, ‘तातो हिमाल’ । पुस्तकमा सङ्ग्रहित कविताहरुमा जलवायु परिवर्तनको असर, सामाजिक तथा समसामयिक घटनाका साथै प्रकृतिक सुन्दरताहरुको व्याख्या प्रतिबिम्बित भएका छन् ।
‘सोच्छन् कोही अरुलाई उद्धार गरी के पाइन्छ ?
मरेपछिको स्वर्गले के हुन्छ ? यहीँ कमाइन्छ यहीँ रमाइन्छ !
तर अरुलाई सहयोग उद्धार गर्दा हुन्छ फाइदैफाइदा
जीवितै देवलोकको सुख पाउने यो हो एकमात्र काइदा
जन्मँदा हँसाएका थियौँ आफू रोई अरुलाई
जाँदा आफू हाँसी रुवाउन सकौँ अरुलाई
जन्मदिनमा पाउने शुभजन्मको कामनाभन्दा
खुसी भएर मर्नु कता हो कता बढी आनन्द ।’
(खुशी मुत्यु, पृ. ७)
अङ्ग्रेजी साहित्यमा स्तातकोत्तर कवि अर्याल भगवती माध्यमिक विद्यालय, गुल्मीमा अध्यापन गराउँछन् । उनी पुस्तकको लेखकीयमा लेख्छन्, ‘धेरै पटक यसमा समेटिएका कविताहरुलाई नछापेर हत्या गर्ने निर्णय पनि नगरेको होइन तर आफ्ना सिर्जना राम्रा नराम्रा जस्ता भए तापनि सर्जकका लागि सन्तानजस्तै प्यारा हुँदा रहेछन् र त्यस्तो गर्न हृदयले दिएन । यस सङ्ग्रहमा रहेका कविताहरु कविताका कुनै कडा सैद्धान्तिक नियमहरुसँ बाँधिएका छैनन् ।’
कवि स्वयंले प्रकाशनमा ल्याएको कवितासङ्ग्रहमा ७३ थान कविताहरु सङ्ग्रहित छन् । ८४ पृष्ठमा फैलिएको पुस्तकको मुल्य २ सय ४० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।