‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता आठ पुस्तक । ओझाकाे ‘बेग्लै आकाश’देखि प्याकुरेलकाे ‘खटप्वाल’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
===
१. समग्र जीवनशैली व्यवस्थापन — डा. नरविक्रम थापा
विकास, जीवन र जगत सम्बन्धी लेखक डा. नरविक्रम थापाकृत पुस्तक हो – “समग्र जीवनशैली व्यवस्थापन” । यसमा ‘अध्याय एक-आरोग्य मनको रहस्य सफा पेट’, ‘अध्याय दुई-शरीरमा बुढ्यौलीका संकेत र आरोग्य हुने केही उपायहरू’ र ‘अध्याय चौध-सन्तुलित र संयमित जीवनका लागि सतोगुण’लगायत सन्दर्भ सामग्री समावेश छन् ।
“जीवनका विकारहरू जस्तै काम, क्रोध, लोभ, मोह, पतन, उत्थान, सुख, दुःख आदि जस्ता अति इच्छा बन्धनलाई सन्तुलन नगरेसम्म जीवनमा शान्ति, सुख, स्वास्थ्य र प्रगति हुन सक्दैन भन्ने पुस्तकको निष्कर्ष पनि छ । विश्व स्वास्थ्य सङ्गठनले मानसिक स्वास्थ्यलाई विशेष गरी जोड दिएको सन्दर्भमा मानसिक तनावलाई व्यवस्थापन गर्न आवश्यक पर्ने उपायहरूलाई पनि सरल र व्यावहारिक ढङ्गले वर्णन गरिएको छ ।” प्राक्कथनमा डा. झविन्द्र भण्डारी लेख्छन्, “रोगमुक्त जीवन जिउने कला, सन्तुलित आहार, स्वास्थ्यका प्राकृतिक विधिको अवलम्बन र शाकाहारी भोजनको महत्त्वलाई बढी प्राथमिकता दिइएको छ । त्यसैगरी बढ्दो उमेरमा पुर्याउनुपर्ने ध्यान र आरोग्य हुने उपायहरूलाई पनि वैदिक र आयुर्वेद सिद्धान्तमा आधारित रहेर विश्लेषण गरिएको छ । समग्रमा, आजको यो बदलिँदो विश्व, वातावारण, समाज र संस्कृतिलाई मध्यनजर गर्दै मानवलाई आवश्यक पर्ने जीवनशैली र यसको सन्तुलित व्यवस्थापनका लागि चाहिने अरोग्य, शाकाहारी भोजन र समृद्धिका लागि धेरै कोणबाट यो पुस्तक सान्दर्भिक मानिन्छ ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । २ सय ५७ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ८० रहेको छ ।
२. बेग्लै आकाश — घनेन्द्र ओझा
लेखक घनेन्द्र ओझाद्वारा लिखित जीवनीसङ्ग्रह हो — “बेग्लै आकाश” । यसमा नेपाली साहित्य, प्राध्यापन, बैंकिङ, राजनीति लगायत विविध क्षेत्रमा स्थापित विशिष्ट व्यक्तित्वहरूको सङ्क्षिप्त जीवनी समेटिएको छ ।
पुस्तकको कभर पृष्ठमा लेखिएको छ, “आफ्नो पेसा-व्यवसायले तोकेको जिम्मेवारी बहन गर्ने क्रममा देखिने-देखाइने प्रतिभा र त्यसै क्षेत्रमा दिइएको योगदान स्वाभाविक र अपेक्षित हो । तर, त्यहाँबाट अलिक हटेर वा माथि उठेर कला, साहित्य, र संस्कृति जस्ता समग्र मानवीय सभ्यताका परिचायकहरूको निर्माणमा सक्रिय हुनु, अतिरिक्त प्रतिभाको प्रदर्श गर्नु, र मानवताका लागि थप योगदान दिनु हो । जुझारु सर्जक, समालोचक र पत्रकार घनेन्द्र ओझाले अध्यापन, निजामती सेवा, बैंकिङ् सेवा, चलचित्र निर्माण, आदि विविध क्षेत्रका चौध जना अनुभवीहरूसँग लामो सत्सङ्ग गरेर, उनीहरूका पेसा-व्यवसायका अनुभवका अतिरिक्त सिर्जना क्षेत्रमा उनीहरूले दिएको योगदानलाई मिहीन ढङ्गले उधिनेर यस पुस्तकको निर्माण गरेका छन् । लामो समयको सङ्गतपछि सान्दर्भिक र अत्यावश्यक प्रसङ्गहरूलाई मथेर तयार पािरिएको यस जीवनी-सङ्ग्रहले यी ‘बेग्लै आकाश’हरूको जीवन, सङ्घर्ष, र सफलताका सूत्रमा प्रवेश गर्न चाहने र तिनबाट प्रेरणा लिन चाहने समस्त पाठकहरूका लागि यो पुस्तक एउटा अनिवार्य पाठ्य-सामग्री बन्न पुगेको छ ।”
पुस्तकलाई पेज टर्नरले प्रकाशन गरेको हो । १ सय ९१ पृष्ठमा फिँजिएको पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।
३. खण्डित इन्द्रेणी — अमृता रसाइली रामदाम
गीता, कविता र चारूमा रमाउने अमृता रसाइली रामदामकृत चारू सङ्ग्रह हो — “खण्डित इन्द्रेणी” । यसमा चारू ३७ वटा, राग ७ वटा, विराग २४ वटा, रागविराग ४२ वटा समावेश छन् ।
भूमिकामा डा. देवी पन्थी लेख्छिन्, “गजलको जस्तै चारूको विषयवस्तु पनि मूलतः प्रेम हो प्रणय हो । गजलमा जस्तै चारूमा पनि यौन गन्ध हुन्छ । फराकिलो अर्थमा अरुज शास्त्रमा आधारित गजलको संरचनामा बहरको प्रयोग अनिवार्य छ । तर चारूमा बहर अनिवार्य छैन । चारू छन्द, लय र हरेक पंक्तिमा अक्षर एवम् मात्रा बराबर गरेर रचना गर्न सकिन्छ । तसर्थ बहरयुक्त प्रणयको अभिव्यक्ति गजल हो भने बेबहर प्रणयको अभिव्यक्ति चारू हो ।”
शुभकामनामा गायत्री श्रेष्ठ लेख्छिन्, “अमृता रसाइली रामदामको गजल जस्ता देखिने चारूहरूमा कहिले प्रेम, पोखिएका हुन्छन्, कहिले देशको दुर्दशाले आफूलाई दुखित बनाएको भाव पोखिएका हुन्छन् भने कहिले तीजका गीतमा, नारीहरूले भोग्नु परेका भोगाइ अत्यन्त मार्मिक ढङ्गले व्यक्तिएको पाइन्छन् । उनी साहित्यप्रति अत्यन्त गहिरो रुचि राख्ने साहित्यानुरागी हुन् । अहिले नवोदित साहित्यकारहरू मध्ये उनमा पनि भोलिका दिनमा एक सफल साहित्यकार बन्न सक्ने खुबी देख्दछु ।”
चारू साहत्यि प्रतिष्ठान नेपालबाट प्रकाशन गरिएको यस पुस्तकको मूल्य व्यक्तिगत २०० रुपियाँ र संस्थागत ४०० रुपियाँ रहेको छ । १ सय १० पृष्ठमा फैलिएको छ ।
४. यात्रा जिन्दगीको — महेशराज खरेल
कवि महेशराज खरेलद्वारा लिखित आत्मकाथात्मक उपन्यास हो । यसमा पक्षाघातले पारेको सकस, मधेसमा हाम्रो अवस्था र दैनिकी लगायत ३४ थान मुख्य शीर्षक, ५९ थान उपशीर्षकहरू बाट जीवनभोगाइका सम्पूर्ण इतिवृत्तिलाई जस्ताको तस्तै वर्णन गरिएको छ ।
“यो कृति मूलतः एक जीवन यात्राको वर्णन हो । यसको मूल पाठ एक किशोर पात्रले देखेभोगेको पूर्वी पहाडअन्तर्गत ताप्लेजुङ जिल्लाको सिनाम गाउँको आत्मा हो । त्यहाँको एक बहुजातीय समाजबिचमा रसाएर बसेका खरेल बाहुनको, सम्पन्नताबाट झरेर विपन्नता भोग्न बाध्य भएका तर अदम्य साहस भएकी ती माताको, पिता र अन्य परिवारको जीवनकथा हो ।” भूमिकामा डा. गोविन्दराज भट्टराई लेख्छन्, “महेशको स्मरण क्षमता अद्भूत रहेछ । उनले एउटै संस्कृतिमा स्थिर भएर लामो समय बिताएका अनुभूतिहरू शब्दका चित्रमा तत्कालीन समाजको जीवन्त स्वरूप देखाउने गरी उतारेका रहेछन् ।”
पछिल्लो बाहिरी पृष्ठमा प्रा. डा. यादवप्रकाश लामिछाने लेख्छन्, “समाजिक, सांस्कृतिक रुपान्तरणको अपेक्षा गरिरहेको समाजको यथास्थितिको चित्रणले पुष्टि गरेको छ । समाजमा परम्परित ढङ्गले चलिरहेका रुढीगत अन्धविश्वासलाई अझै पनि कायम राखिरहने हो भने सामाजिक र सांस्कृतिक दुष्टिले फड्को मार्न सम्भव हुँदैन ।”
पछिल्लो बाहिरी पृष्ठमा रमेश पोखरेल लेख्छन्, “उपन्यासकी आमा खरेल परिवारक आमा मात्र होइनन् नेपाली समाजका निम्न मध्य वर्गीय आमाहरूकी प्रतिनिधि पात्र हुन् ।”
पछिल्लो बाहिरी पृष्ठमा लेखक लेख्छन्, “राजनीति समाज रुपान्तरण र विकासको मियो हो । राजनीतिकै वरिपरि अरू सबै पक्ष घुमेका हुन्छन् । राजनैतिक चेतनाको स्तर विकासअनुरूप सामाजिक रूपान्तरण र विकास हुने गर्छ ।”
२ सय ९८ पृष्ठमा फैलिएको प्रस्तुत पुस्तकलाई शब्द संयोजन साहित्यिक मासिकले बजारमा ल्याएको हो । पुस्तकको मूल्य ७ सय ५० रुपियाँ रहेको छ ।
५. खटप्वाल — प्रमोद प्याकुरेल
लोकप्रिय कथाकृति ‘झुल्या कागत’का सर्जक, आख्यानकार प्रमोद प्याकुरेलको पहिलो उपन्यास हो — “खटप्वाल” । पुस्तकलाई ‘सुस्त’, ‘खेल’, ‘लीला’, ‘सम्बन्ध’, ‘नोट’लगायत १८ थान शीर्षकहरूबाट तयार पारिएको छ ।
पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, “काठमाडौँको काँठको सेरोफेरोमा बुनिएको यस उपन्यासमा समग्र पृथ्वीलाई एउटा विशाल घर मानिएको छ र मान्छेले आ-आफ्ना लोभ र आवश्यकताले बनाएका सूक्ष्म चिराहरूलाई खटप्वालको रूपमा चित्रण गरिएको छ । काँठे परिवेश र भाषा यस उपन्यास नवीन सौन्दर्य बनेर आएका छन् । उपन्यासले ‘स्वाभाविक’ मानिएका सम्बन्धमा यदाकदा देखापर्ने असीमित अनुरागलाई सुन्दर शैलीमा आख्यानीकृत गरेको छ । कोरोनाजस्ता अप्रत्याशित कहरले सम्बन्ध, सपना र यथार्थलाई कसरी खलबल्याउँछन् र प्रचण्ड आत्मबल भएको मान्छे पनि जीवनको चौबाटोमा कसरी निरीह बनेर उभिन बाध्य हुन्छ, यस उपन्यासका पाठकलाई सहजै ठम्याउन सक्नेछन् । सुरुदेखि अन्त्यसम्म उस उपन्यासको कथा कसरी प्रमुख पात्र बिन्दिकाका प्रिय-अप्रिय अनुभवहरूमा उभिएको छ, र लोकलाज, प्रतिकूलता, आघात र अनिश्चितता — सबै सबैलाई चिरेर उनले प्रस्तुत गरेको मानवताको उच्च आदर्शले यस उपन्यासलाई एउटा उदात्त बैठान दिएको छ ।”
पुस्तकलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो । १ सय ५३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ५० रहेको छ ।
६. दलदल — हिरा लामा
अर्थशास्त्रमा स्नातकोत्तर गरेका हिरा लामाको नवीनतम उपन्यास हो — “दलदल” । पुस्तकमा ‘सपनाको लक्कु’, ‘उजेली’, ‘दलदल’लगायत २३ थान शीर्षकहरूबाट सामाजिक, पारिवारिक, राजनीतिक विषयहरू पाइन्छ ।
“मन भेटाइदिने राजमार्गहरू” भन्ने शीर्षकमा लेखिएको छ, “माथिको सानो, साँघुरो आकाश छाडेर बाहिरिएपछि केही दिन त म खुसीले मच्चिएँ । तर त्यसको केही दिनपछि नै मलाई त्यही ठूलो आकाशले थिचेको अनुभव भयो । के गर्ने, के नगर्ने ? कहाँ जाने ? केही ठेगान भएन । सबै साथीभाइ, आमाबुबा, काकाहरू अमेरिका गइसकेका थिए । बेलडाँगी क्याम्प रित्तिइसकेको थियो । म अनियन्त्रित भौँतारिइरहेँ । युद्धकालमा सिकेका अनुभवहरू काम लाग्ने खालका थिएनन् । यस्तैमा एक दिन म भरतपुरको एउटा बोर्डिङ स्कुलमा उही पोखरीमा झैँ उल्झिन थालेँ । लाग्यो, जीवन पेन्डुलम न हो, बाँचिदिन्छु यसैगरी हल्लिएर । ओहो ! यसो भन्दा पनि कहाँ सजिलै बाँच्न दिँदो रहेछ र जीवनले ? अनि एक दिन यस्तो आयो, म बर्बाद भएको सपनाको एक अंश लिएर काठमाडौँ जानुपर्ने भयो ।”
पुस्तकलाई इन्डिगो इन्कले बजारमा ल्याएको हो । २ सय ४० पृष्ठमा मौलाएको पुस्तकको मूल्य ४ सय ४९ रुपियाँ रहेको छ ।
७. कोरोनातन्त्र — रवीन्द्र समीर
विशेष गरी लघुकथा र प्रयाेगवादी उपन्यासका सशक्त रवीन्द्र समीरकाे १३ औँ पुस्तक हो — “कोरोनातन्त्र” । यस सूत्र उपन्यासमा १ सय १ थान लघुकथा सङ्ग्रहित छन् । यसमा कोरोनाको वैश्विक महामारीका अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यङ्ग्य गरिएको पाइन्छ ।
“जीवन भागदौडमा चलेको थियो । विज्ञान र प्रविधिमाथि ठूलो भरोसा थियो । सन् २०१९ को अन्त्यतिर पहिले शङ्काले आँकुरा निकाल्यो । शङ्कापछि हल्लाले आकार लियो । हल्लापद्धि जैविक अस्तित्व विलोप हुनसक्ने डरको आँधीबेहरी चल्यो । डरपछि महामारी आयो अनि जीवन र जगत ठप्प भयो ।” पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, “जगतभरि रहेको अक्सिजन अपुरो भयो, मान्छेसँग मान्छे डराउनु पर्ने अवस्था आयो, अस्पतालका शय्या साँघुरा भए, केही दिन पहिले भेटेका तथा बाक्ला जिजीविषा भएका मान्छे श्यामस्वेत तस्वीरमा देखिए, प्रियजनको अन्तिम संस्कार गर्ने मलामी र घाट अत्यल्प भए तथा खोपको सुस्त विकार एवम् गिर्दो अर्थराजनीतिले संसार आक्रान्तको आवर्तमा पर्यो । त्यसैले यो उपन्यास वर्तमान पुस्ताका लागि आफूले भोगेको विगत तथा भावी पुस्ताका लागि महामारीको गतिलो इतिहास हुनेछ ।”
२ सय ६ पृष्ठबाट तयार पारिएको प्रस्तुत पुस्तकलाई इन्डिगो इन्क पब्लिकेशन प्रा. लि.ले बजारमा ल्याएको हो ।
८ . १०८ poems _ डा. यामबहादुर रोका
न्यूरो कार्डियो तथा मल्टिस्पेसियालिटी हस्पिटल विराटनगरका वरिष्ठ न्यूरोसर्जन, समाजसेवी तथा कवि डा. याम बहादुर रोकाकाे कवतिा सङ्ग्रह हो – “१०८ poems (volume ४)”. यसमा ‘Nonsense, Mistake, Color of Separation, My Kind of Love’, लगायत ५५ थान कविता, ‘The Body Series’भन्ने शीर्षकमा ३२ थान कविता, ‘The Five Element Series’ भन्ने शीर्षकमा २१ थान कविता लगायत १०८ कविता समावेश छन् ।
पछिल्लो कभर पृष्ठमा सुमन पाेखरेल लेख्छन्, “Poet Yam Bahadur Roka is a fine blend of emotions with experiences of a Neurosurgeon and a common man. He creates poetry by melding the feelings together with his distinct tool of word crafting. His poetry is mostly motivated by a desire to reclaim the lost soul of humanity.
‘Dedicate’ भन्ने कविताकाे केही हरफ…
‘Dedicate’
They are already yours, these colors and the flowers,
These snowy slopes and the lush green pastures,
In the clear streams and the white rocks and pebbles,
Tall pine trees, the smell of earth and the soft grass,
You are the owner and provider, how can I anything, dedicate.
पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो । १ सय ५९ पृष्ठमा रहेकाे छ । पुस्तककाे मूल्य ४ सय रुपियाँ रहेकाे छ ।
(१ सय ८ कविताहरू समावेश गरी कुल ८ वटा कविता सङ्ग्रह छन् । )



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ मंसिर २०८२, बुधबार 










