साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई फरक क्षमता भएका कवि मधुसुदन घिमिरेको कवितासङ्ग्रह ‘मायाको आयतन’ प्राप्त भएकाे छ ।
‘तिम्रो हत्केलामा मेरो नाम खोपिएको थियो
अनि, मेरो हत्केलामा तिम्रो
वर–पीपल साक्षी राखेर लाएको माया
थाहा छैन, खै आज कहाँ गयो
अनि आफूलाई जोगी बने भनौँ कि ज्योतिष ?
आज त्यही रुखमुनि बसेर
म आफ्नै हात हेर्दै दिन काटिरहेछु ।’ (पृ. २५, हत्केला)
यस सङ्ग्रहमा छोटा आयातनका १ सय २५ प्रेमिल भावका कविताहरु सङ्ग्रहित छन् ।
‘कवितालाई मन्त्र भन्छि । तर, सत्य यो पनि हो कि सबै कविता मन्त्र हुँदैनन् । त्यसैले काव्य लेखन यौटा यात्रा हो, अभ्यास हो कवितालाई मन्त्र बनाउने ।’, भूमिकामा कवि विप्लव प्रतीक लेख्छन्, ‘मधुसुदन त्यही यात्राका एक बटुवा हुन् । बडो सम्भावना बोकेका बटुवा । उनका कविताले नेपाली काव्याकाशमा पृथक् र मौलिक तस्बिर कोरेको छ, यो मेरो धारणा हो । र, उनका काव्यले कालान्तरमा काव्यअनुरागीहरुको मन–नयनमा स्थान लिनेछ, यो मेरो विश्वास हो । उनी काव्यपथबाट विचलित नहोऊन्, उनको साधना, अभ्यास र अध्ययन सँगसँगै चलिरहोस् – मेरो थुप्रै शुभेक्षा उनलाई ।’
०५७ सालमा बाग्लुङमा जन्मिएका घिमिरे जन्मजात दृष्टिबिहीन हुन् । मनोविज्ञान विषय लिएर स्नातक अध्ययन गरिरहेका घिमिरे मनोसामाजिक विमर्शकर्ताका रुपमा कार्यरत छन् ।
पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । १ सय ५७ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।