साहित्यकार राजीव घिमिरेको कवितासंग्रह हो ‘मेराकी’ । घिमिरेका कवितामा अस्तित्वको खोजी र यथास्थिति विरुद्ध विद्रोहका लागि भावुक आह्वान पाइन्छ । राष्ट्रकविका सुपुत्र प्राविधिक पृष्ठभूमिका घिमिरेका कवितामा जीवन र अस्तित्वका दार्शनिक जटिलताहरूलाई अध्यात्म, प्रेम र विद्रोहका माध्यमबाट प्रस्तुत गर्ने काेशिश गरिएको छ ।

“आफ्ना पिता, राष्ट्रकविबाट प्रेरित उनी भाषाको सुन्दरता र शक्तिमा खेलेर हुर्केका शिल्पी हुन् । उनको शैलीमा लयात्मकता र विचारउत्तेजकता दुवै छ ।”, पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ, “मानव अनुभूतिको गहिरो बुझाइ नै उनको विशेषता हो । मेराकीमा उनले जीवन र अस्तित्वका दार्शनिक जटिलताहरुलाई अध्यात्म, प्रेम र विद्रोहका विषयवस्तुहरूका साथ खोजेका छन् । उनका रचनाले पाठकलाई उनीहरूको वरपरको संसार र त्यसलाई निर्देशन गर्ने प्रणाली र नियमको बारेमा फरक दृष्टिकोणले सोच्न आह्वान गर्छन् । उनीहरूलाई आफ्नै भित्री आत्म अन्वेषण गर्न प्रेरित गर्छन् ।”

त्यसैगरी, पुस्तकमा कवि घिमिरे लेख्नुहुन्छ, “मलाई आमाले अक्षर चिनाउनु भएको हो । मैले सबैभन्दा पहिले चिनेको शब्द हो ‘वरफ’ । एक एक अक्षरलाई जोडेर पढ्दा ‘वरफ’ बुझेर, अनि मुखमा गुलियो र चिसोको स्वाद आउँदा, म अचम्मित भएको थिएँ, अक्षरका पनि स्वाद हुँदा रहेछन् । … मानव सभ्यताको सबै भन्दा ठूलो उपलब्धि नै अक्षर हो जस्तो लाग्छ । गुफाका भित्तामा कोरिएका चित्रलाई अक्षर बनाउने, त्यो अक्षरले आवाजको प्रतिनिधित्व गर्ने, अनि त्यो अक्षरले समूह बनाएर जुन आवाज निस्कन्छ; त्यसले अर्थ दिने, त्यो अर्थले विचार दिने र त्यो विचारले शक्ति दिने । आज म त्यही अक्षरको शक्तिको उपासना गर्दैछु र अक्षरको प्रसादको स्वाद लिँदैछु ।”

पुस्तकलाई आवरण प्रकाशनले बजारमा ल्याएकाे हाे । विभिन्न बान्कीका ३७ थान कविता संग्रहित कृतिको मूल्य तीन सय रूपियाँ रहेको छ ।