आगो हुँ भन्दै किन दन्किनु व्यर्थ
जल्ने सबै जलिसकेपछि
निभ्छ आगोको औकात !

खुकुरी हुँ भन्दै किन ताण्डव नाच्नु
दाप सबै थोत्रिएपछि
भुत्तिन्छ धारको ओकात !

बाढी हुँ भन्दै किन उर्लनु व्यर्थ
घामको वर्षा भएपछि
सुक्छ नदीको औकात !

मै हुँ भन्दै किन अहङ्कारी हुनु व्यर्थ
जिन्दगीको मूल्य बुझाएपछि
भर्ना हुनु छ मृत्युको पाठशालामा !
(पृ. १९, औकात)

कवि अमृता स्मृतिको कवितासङ्ग्रह हो ‘नदीको् तिर्खा’ । यस सङ्ग्रहमा नवीन शैलीमा लेखिएका कविताहरु सङ्ग्रहित छन् ।

‘नदीको तीर्खाले शीतको थोपामै पनि सागर देख्न सकिने दृष्टि दिन्छ ।’, पुस्तकमा बैरागी काइँला लेख्छन्, ‘उनी कवि मात्र नभएर कुशल, सक्रिय साहित्यिक अभियन्ता पनि हुन् । कविभित्र सोचको आगो हुर्हुर बलेर काव्यमा परिणत भएको छ । कवि स्मृतिका कवितामा कला, विचार र मौलिक बिम्बको सुन्दर संयोजन पाइन्छ ।’

त्यस्तै, तुलसी दिवस लेख्छन्, ‘यस सङ्ग्रहमा समेटिएका कविताहरु काव्यकलासहित आन्तरिक सूक्ष्म अनुभूति, बौद्धिक चिन्तनका विविध पक्ष र आयामहरुसँगै जीवन र जगतमा कवि स्वयंले अनुभव गरेको पीडा र आनन्द, आन्तरिक र बाह्य उज्याला–अँध्याराहरु काव्यात्मकरुपमा उद्घाटित गरिएका छन् ।’

पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो । ५० थान कविताहरु सङ्ग्रहित पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।