डिजी शर्मा, युएई । रोजगारीको सिलसिलामा लामो समयदेखि युएईमा रहँदै आउनुभएका गजलकार राज यात्री लम्सालले “नरोई बस बाबु तिमी डर लाग्दा राती…” बोलको गीत सार्वजनिक गर्नुभएको छ ।
गायक राज सिग्देलको आवाज र सङ्गीत रहेको गीतलाई गीतकार लम्सालले आफ्नै युट्युब च्यानल “Raj Yatri” मार्फत सार्वजनिक गर्नुभएको हो । गीतमा पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन रहेको छ ।
बालक छोरोलाई छोडेर परदेशिएको एउटा बाबुको कथा व्यथालाई गीतमार्फत उहाँले प्रस्तुत गर्न खोज्नुभएको छ । लामो समयदेखि परदेशमा रहँदै आएको र आफू पनि दुई सन्तानको बाउ भइसकेकाले सन्तानबाट टाढा हुनुको पीडाले बेलाबेला सताउने गरेकोले यस गीतको जन्म हुन गएको उहाँ बताउनुहुन्छ । साथै, यो आफू जस्तै परदेशिएका लाखौँ नेपाली युवाहरुको कथा भएको उहाँ उल्लेख गर्नुहुन्छ ।
प्रहिल कार्कीको निर्देशन रहेको गीतको भिडियोमा गौरव पहारी, सञ्चिता लुइँटेल, युवराज खतिवडा र स्वयम् गीतकार लम्सालको अभिनय रहेको छ । त्यसैगरी, गीतमा बाल कलाकारको रुपमा उत्कर्ष हुमागाईँ र उमङ्ग हुमागाईँले अभिनय गर्नुभएको छ ।
गीतको भिडियो छायाङ्कन उत्तम हुमागाईंले गर्नुभएको हो भने उहाँलाई राजेन्द्र हुमागाईंले सहयोग गर्नुभएको थियो । त्यसैगरी, गीतको अडियो मिक्सिङ तथा मास्टरिङ नरेश बिबिसीले गर्नुभएको हो भने दृश्य सम्पादन राकेश दाहालले गर्नुभएको हो ।
साहित्यपोस्टका युएई संयोजक समेत रहनुभएका गीतकार/गजलकार लम्सालले यसअघि पनि केही गीतहरु सार्वजनिक गरिसक्नु भएको छ ।
मोरङको सुन्दरहरैँचा स्थायी घर भई लामो समयदेखि युएई बस्दै आउनु भएका गजलकार लम्साल साहित्य लेखन र यहाँको विभिन्न साहित्यिक गतिविधिमा सक्रिय हुनुहुन्छ । उहाँ युएईमै रहेको सगरमाथा साहित्य प्रतिष्ठानका प्रदेश इन्चार्ज र कार्यक्रम सञ्चालक हुनुहुन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










