साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई बर्दघाट प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित वार्षिक मुखपत्र, पहिलो अंक “बर्दघाट प्रज्ञा दर्पण”  प्राप्त भएको छ ।

यसमा बर्दघाट नगरपालिका अन्तर्गतको प्राज्ञिक संस्था बर्दघाट प्रज्ञा प्रतिष्ठानले एक वर्षको अवधिमा भए गरेका विविध गतिविधिहरू समाविष्ट छन् ।

बर्दघाट प्रज्ञा दर्पण

बर्दघाट प्रज्ञा दर्पण

पुस्तकका प्रधान सम्पादक डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ हुन् भने द्वय सम्पादक वामदेव अधिकारी र हुमनाथ आचार्य हुन् । १ सय ७३ पृष्ठमा आबद्ध यस पुस्तकलाई ३ खण्डमा विभाजित गरिएको छ ।

खण्ड – १ मा ३५ थान लेख तथा मुक्तकहरू, खण्ड – २ मा लुम्बिनी प्रदेशस्तरीय २७ थान प्रतियोगी कविता र खण्ड – ३ मा संस्थाको परिचय, संस्थाले गरेका कार्यहरू र तस्बिरहरू समावेश गरिएको छ ।

सम्पादकीयमा लेखिएको छ, “यसमा प्रतिष्ठानको सामान्य चिनारी एकातिर छ भने अर्कातिर विशेषतः महत्त्वपूर्ण केही गोष्ठीहरू, विविध विधा, प्रविधा वा उपविधाका रचनाहरूका साथै लुम्बिनी प्रदेशस्तरीय पूतियोगितात्मक कविगोष्ठीमा प्रतियोगिताका लागि छनोट भएका कविताहरू पनि समाविष्ट छन् । यसरी यो अंक मूलतः साहित्यिक बनेको छ । यसपटक यसको स्तर जे जस्तो भए तापनि हामी आगामी अंकहरूमा यसलाई अझ बढी पाठकीय आवश्यकता र रुचिका सामग्रीहरू समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”

शुभकामनामा शम्भुलाल श्रेष्ठ लेख्छन्, “नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषता रहेको मुलुक भएकाले हाम्रा स्थानीय क्षेत्रमा पनि यसको प्रभाव रहेको छ भन्दा  कुनै अत्युक्ति नहोला । यो प्रतिष्ठान हाम्रा समाजमा भएका भाषा, कला, साहित्य, संगीत, संस्कृति, विज्ञान आदि क्षेत्रमा विशिष्टता आर्जन गरेका व्यक्तिहरूको खोज अनुसन्धान तथा प्रवर्द्धनका लागि निरन्तर रूपमा लागिपर्नेछ भन्ने कुरामा विश्वास लिएको छु । स्थानीय निकाय आफैमा स्थानीय सरकार भएकाले आफ्ना क्षेत्र भित्रका विविध महत्त्वका धरोहरहरूको संरक्षण र संवर्द्धन गर्दै यसको प्रचार र प्रसार गर्ने कुरामा बर्दघाट प्रज्ञा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहन जान्छ ।”