साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई नाटककार, कवि गाेपी सापकाेटाकाे दोस्रो उपन्यास ‘चिसाे बाफ’ प्राप्त भएको छ ।

२ सय २८ पृष्ठमा रहेको  उपन्यास ‘ढोकाको कान’, ‘नाइँ म त सुत्दिनँ’, ‘सम्भावनाका ढोकाहरू’, ‘सिसिफसको ढुङ्गा’, ‘टेबुलमाथि’लगायत ३२ थान शीर्षकबाट बुनिएको छ ।

पुस्तकको पछिल्लो कभर पृष्ठमा लेखिएको छ, “शारीरिक अवस्था बिग्रँदै गएकी युवती र मानसिक अवस्था बिग्रँदै गएको युवकबिचको प्रेम र सम्बन्धको कथा हो, ‘चिसो बाफ’ । मानिसको मस्तिष्कको धागो कतै गुजमुजिएपछि अलमलिने जीवनको लय र त्यही धागो कतै चुँडिएपछि भत्कने जीवनको समन्वय ‘चिसो बाफ’का विषय हुन् । कथानकमा कल्पनाशीलता र संरचनामा नवीन प्रयोग ‘चिसो बाफ’का विशेषता हुन् ।”

“संसारमा धरै कुरा मिलेका हुँदैनन् । जीवन भोग्दा त्यस्तै हुन्छ, अनि उपन्यासमा पनि । कुन घटना किन घट्यो, थाहा हुन्न । कुन रोग किन लाग्यो, थाहा हुन्न । कहिले र कसरी निको हुन्छ, थाहा हुन्न । मात्र रोग लाग्छ, दुःख दिइरहन्छ । कहिलेकाहीँ जीवनको अर्थ र रोगको उपचार उस्तै लाग्छ । अर्थ खोज्दाखोज्दै जीवन भागिसकिन्छ, उपचार खोज्दाखोज्दै रोगले गालिसक्छ ।” लेखक लेख्छन्, “उपन्यासमा मुना शारीरिक रूपमा बिरामी छे । उसलाई अज्ञात रोगले सताएको छ । अमित मानसिक रूपमा बिरामी छ । ऊ उपन्यासको ‘न्यारेटर’ हो । ‘न्यारेटर’ नै मानसिक रूपमा अस्वस्थ्य भएकाले उपन्यासका कुनै कुरा ‘जस्टिफाइड’ लाग्दैनन् । ऊ पूरै अस्वस्थ पनि होइन, त्यसैले उसका कुनै कुनै कुरा फेरि ‘जेस्टिफाइड’ लाग्छन् ।”

पुस्तकलाई कलम प्रकाशनले बजारमा ल्याएको हो ।