चितवन साहित्य परिषद्ले स्रष्टाहरू शीतल कादम्बिनी र मनोज चौधरीलाई सम्मान गरेको छ ।
१४० औँ लेखनाथ जयन्तीको अवसर पारेर चिसाप भवनमा कादम्बिनीको उपन्यास `सिन्का पाउँरु´ र चौधरीको उपन्यास `टुवरा´लाई सम्मान गरिएको हो ।
प्रत्येक २ वर्षमा प्रदान गरिने चिसाप कृष्णकुमारी गुरुङ स्मृति पुरस्कारबाट कादम्बिनीको उपन्यास सिन्का पाउँरु र प्रत्येक वर्ष प्रदान गरिने चिसाप कृष्ण-कृष्णा पुरस्कारबाट चौधरीको टुवरा उपन्यासलाई सम्मान गरिएको हो ।
दुबै पुरस्कारको राशि जनही १५ हजार १४५ रुपैयाँ, दाेसल्ला र सम्मानपत्र रहेको छ ।
पुरस्कृत कृति सिन्का पाउँरूका बारेमा बोल्दै परिषद्का उपाध्यक्ष गणेश श्रमणले यो कृतिमा गुरुङ संस्कृतिको जीवनचरित्र उतारिएको बताए । त्यसैगरी, टुवरा उपन्यासमा लेखक मनोज चौधरीले थारु जातिको जनजीवन उतारेको बालकृष्ण थपलियाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्राडा नारायणप्रसाद खनाल र चिसापका सल्लाहकार जगन्नाथ पण्डितले कवि शिरोमणि लेखनाथ पौड्यालको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए । साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईंले मन्तव्य राख्दै कविता वाचन गरेका थिए ।
कार्यक्रमलाई चिसाप सचिव शान्ति शर्माले सहजीकरण गरेकी थिइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।