उपन्यास ‘मोसो’का लागि पत्रकार सूर्यप्रकाश कँडेलले चिसाप लीला–नर्मदा साहित्य पुरस्कार प्रदान गरिने भएकाे छ । २०७७ सालमा प्रकाशित कृतिहरूमध्ये उत्कृष्ट ठहरिएको कृति ‘मोसो’का लागि लेखक कँडेललाई यो पुरस्कार अर्पण गर्न लागिएको हो ।

चितवन साहित्य परिषद् (चिसाप) का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले पत्रकार एवं लेखक कँडेललाई उनको पहिलो कृति ‘मोसो’ का लागि चिसाप लीला–नर्मदा साहित्य पुरस्कार अर्पण गर्ने निर्णय गरेको सचिव बालकृष्ण थपलियाले बताउनुभयो । उहाँका अनुसार ११३ औँ लक्ष्मी जयन्तीको अवसरमा कात्तिक १८ गते चिसापको सभाहलमा एक समारोहबिच पुरस्कार अर्पण गरिनेछ ।

चिसाप लीला–नर्मदा साहित्य पुरस्कारको स्थापना बालकुमारी माध्यमिक विद्यालयकी पूर्वप्रधानाध्यापक एवं कवि सरस्वती रिजालले बुबा लीलानाथ तिमिल्सिना र आमा नर्मदादेवीको नाममा स्थापना गर्नुभएकाे हाे । २ लाख ५१ हजार रुपैयाँको  अक्षयकोष खडा गरी त्यसबाट आर्जित ब्याजले हरेक वर्ष लक्ष्मी जयन्तीमा उक्त पुरस्कार अर्पण गरिँदै आइएको चिसाप अध्यक्ष सुरेन्द्र अस्तफलले बताउनुभयाे ।

यसअघि यो पुरस्कार रमा शर्मा (कृतित्व र व्यक्तित्व २०७२), श्रीओम श्रेष्ठ ‘रोदन’ (भनौँ कि नभनौँ निबन्धसङ्ग्रह २०७३), विश्वप्रेम अधिकारी (टिमुरको झोल कथासङ्ग्रह २०७४), विमल वैद्य (अक्षर सिम्फोनी कवितासङ्ग्रह २०७५) र ललित बस्नेत ( मोहपथ कथासङ्ग्रह २०७६) लाई प्रदान गरिएकाे थियो ।

पुरस्कार राशि १५,०४५ रुपैयाँ रहेको छ ।