विराटनगरका युवा साहित्यकार मीनकुमार नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई ‘चितवन साहित्य परिषद्ले पुरस्कृत गरेको छ ।

चितवनमा आयोजित कार्यक्रममा पत्रकारसमेत रहेका नवोदितलाई परिषद्ले १५ हजार ४५ रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गरेको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा भाषाविद् प्रा.डा. चूडामणि बन्धु, अग्रज साहित्यकार गोविन्दराज विनोदी, आयोजक संस्थाका अध्यक्ष केदारनाथ खनाल, निवर्तमान अध्यक्ष सुरेन्द्र अस्तफललगायतले दोसल्ला संयुक्त रुपमा दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितासँगै साहित्यमा सक्रिय नवोदितको ‘फूलबारीभित्रका भमराहरू’, ‘झरीले रुझेको गाउँ’ र ‘समयको बयान’ गरी तीनवटा कवितासङ्ग्रह प्रकाशित छन् । नेपाल सरकारले युवा स्रष्टालाई दिने सबैभन्दा प्रतिष्ठित पुरस्कार युवावर्ष मोती पुरस्कारबाट समेत सम्मानित भइसकेका नवोदित पत्रकारितामा समेत सक्रिय छन् । सो अवसरमा नवोदितले ‘रिटायर्ड जिन्दगी’, ‘बा हुनुको अर्थ’ र ‘छुटी जानेहरू’ शीर्षकका कविता वाचन गरेका थिए ।

२०७३ सालबाट निरन्तर रूपमा प्रदान गर्दै आएको सो पुरस्कार चिसापले यसभन्दा अघि रमादेवी शर्मा, श्रीओम श्रेष्ठ रोदन, विश्वनाथ अधिकारी, विमल वैद्यलाई प्रदान गरिसकेको छ । पुरस्कारको स्थापना सरस्वती रिजाल र स्वर्गीय उपेन्द्र रिजालले आफ्ना दिवंगत मातापिताको नाममा स्थापना गरेका हुन् ।