साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई इन्जिनियर तथा कवि डा. वीरेन्द्र केसीको तेस्रो कृति “जूनको रोटी” प्राप्त भएको छ ।
तीन खण्डमा विभाजित यस पुस्तकमा खण्ड एकमा ५० थान मुक्तक, खण्ड दुईमा ५० थान हाइकु, खण्ड तीनमा ५० थान सेन्यू समावेश छन् ।
“समाज प्रकृति, मनोजगत्, राजनीति, अध्यात्म क्षेत्रसम्मका बिम्बसंकेतमा मुक्तकीय भाव अभिव्यञ्जित गरेका छन्, मुक्तककार डा. वीरेन्द्रले । कतै कतै प्रणयात्मक स्वरूप संकेतक मुक्तक पनि यसमा रहेका छन् । अधिकांश मुक्तकहरू सामाजिक विसङ्गति विकृतिप्रतिका कटाक्षमा रहेका छन् ।” भूमिकामा कलानिधि दाहाल लेख्छन्, “कविता र गजल लेखनका सन्दर्भबाट खारिएर हाइकु/सेन्युमा देखापरेको उनको कलम यसै पनि माझिएको, परिष्कृत भएको र सिर्जना क्षेत्रको उपविधागत लेखन मान्यतामा निकै सचेत भएको पनि पाइन्छ । संकेत गरिएका बिम्ब व्याख्याबाट समग्र प्राप्तिको अपेक्षा हाइकु/सेन्युको मुटु हो भने यसको मर्मसम्म छाम्न सफल भएको पाउँछु म, स्रष्टाको यस सानो गोजीग्रन्थमा ।”
पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “आजको व्यस्तताको युगलाई मध्यनजर गर्दै छोटो समयमा नै पढ्न सकिने छोटो विधाहरूमार्फत जीवनका आशा, आशंका, नेपालीपन र मौलिकताको कोमल र मार्मिक भावहरू स्पन्दित छन् । विदेशमा रहेर पनि स्वदेशको चिन्ता र नेपाली भाषा साहित्यको विस्तारमा अविरल चिन्तन मनन गरिरहनु डा. केसीको प्रशंसनीय पक्ष हो ।”
साहित्यपोस्टबाट प्रकाशित ९७ पृष्ठमा आबद्ध यस पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।