
बिमला हुमागाईँ ‘बोधश्री’को दोस्रो उपन्यास ‘अबोध’ सार्वजनिक भएको छ । उपन्यासकार बोधाश्रीको जन्मदिनको अवसर पारेर अनामनगरस्थित निम्तो रेस्टुरेन्टमा आयोजित एक समारोहका बिच उक्त उपन्यासको विमोचन गरिएको हो ।
उपन्यासको विमोचन लेखक तथा साहित्यपोस्टका प्रधान–सम्पादक अश्विनी कोइराला, नेपालीभाषी बर्मेली कथाकार तैँ तैँ धिताल र उपन्यासकार बोधश्रीले संयुक्त रुपमा गरेका हुन् ।
उपन्यासले नारी सङ्घर्ष र संवेदनालाई दर्बिलो रुपमा प्रस्तुत गरेको वक्ता तैँ तैँ धितालले बताइन् । उनले भनिन्, ‘एक नारीलाई यस किसिमको उपन्यास लेख्न ठुलो हिम्मत जुटाउनु पर्ने हुन्छ, जुन हिम्मत उपन्याकारले देखाउनुभएको छ । एक विद्रोही तथा सङ्घर्षशील नारीको कारुणिक तथा प्रेरक जीवनकथालाई उपन्यासले देखाएको छ ।’
त्यस्तै, साहित्यपोस्टका प्रधान–सम्पादक कोइरालाले उपन्यास ‘अबोध’मार्फत् आख्यान लेखनमा बोधाश्रीले राम्रो सम्भावना देखाएको बताए । उनले भने, ‘उपन्यासकारको सङ्घर्षशील जीवनको प्रतिबिम्ब उपन्यासमा पाउन सकिन्छ । उपन्यासकी नायिका रमिलाको सङ्घर्ष र सफलता धेरैका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।’
कार्यक्रममा उपन्यासकार बोधाश्री आफ्नै जीवनयात्रातिर फर्किइन्, र आफूले भोगिआएका केही तीता, केही मिठा अनुभूतिहरु साझा गरिन् । उनले अबका दिनमा आफूलाई लेखन कर्ममै केन्द्रित गर्ने प्रतिबद्धतासमेत जाहेर गरिन् ।
अनौपचारिक शैलीमा करिब १ घण्टा चलेको कार्यक्रमको सञ्चालन कृष्ण ढुङ्गेलले गरेका थिए भने उपन्यासकारका छोरा विधानले आमाका बारेमा छोटो मन्तव्य राखेसँगै कार्यक्रमको समापन गरिएको थियो ।
नेपाली साहित्यमा यसअघि ‘अधबैँसे आइमाई’ प्रकाशनमा ल्याएकी बोधश्रीको लेखनीमा बनेका दुई चलचित्र ‘म’ र ‘फातिमा’ बनेका छन् । उनले दुई सयभन्दा बढी आधुनिक र लोकदोहोरी लगायतका गीतहरु सिर्जनासमेत गरिसकेकी छिन् ।
‘बोध नलेज इन्टरटेन्मेन्ट’ नामक संस्थाको संस्थापक बोधश्रीले थुप्रै म्युजिक भिडियो र सिनेमाहरुमा अभिनय गरेकी छिन् । अध्ययन र अभिनयमा विशेष रुचि राख्ने उनी ‘चक्रवर्ती हबी एजुकेशन एकेडेमी’की प्रशासन प्रमुखसमेत हुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

