सालबारी(पश्चिम बंगाल) । धरानका कवि सुदीप पाख्रिनको कवितासंग्रह ‘दगुरिहिँड्ने चौबाटो’को भारत संस्करण विमोचन भएकाे छ । नेपालबाहिर रहेका नेपालीभाषी क्षेत्रमा समेत पाठकहरूबाट कृतिको माग भएपछि दोस्रो संस्करणका रूपमा सिलगढीको हाम्रो किताब घरबाट पुस्तक प्रकाशित भएको हो ।

सालबारीस्थित दी ट्विन्स क्याफेमा एक कार्यक्रमबीच कवि पाख्रिनको कृति विमोचनसँगै चर्चासमेत गरिएको थियो । कृतिलाई साहित्यकारहरू मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, उर्मिला घिसिङ, बबिता मादेन र देविका मंग्रान्तिहरूले संयुक्त रूपमा विमोचन गरेका थिए ।

संग्रहमा ३८ कविताहरू छन् ।

अढाई दशकदेखि कविता लेखनमा सक्रिय रहेका कवि पाख्रिनको विमोचित कृतिकोे पहिलो संस्करण सन् २०१६ मा निस्किएको थियो । सोअघि पहिलो कविता कृति ‘आदिम मौनता’ प्रकाशित भएको थियो । कलरव धरानसँग सम्बद्ध उनलाई नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले गत मार्चमा एक लाख रूपैयाँ राशिको प्रतिभा पुरस्कारबाट समेत सम्मानित गरेको थियो ।

विमोचन कार्यक्रममा बोल्दै कवि पाख्रिनले कवितालाई न्यान दिन आफूले सक्दो प्रयास गरेको बताए । रुवाइयात सर्जक कुशल राईसँगको संवादमा उनले पाठकमा निहित बोध गर्ने क्षमताले समेत कविता ग्रहण गर्नेमा भर पर्ने बताए । ‘मलाई कुनै पनि कुरा कल्पना र ज्ञानभन्दा पर बुझ्न नसक्ने भन्ने लाग्दैन । त्यो तपाईँले ग्रहण गर्ने क्षमता कति निर्माण गर्नुभएको छ, त्यसमा भर पर्छ,’ उनले भने ।

कवि पाख्रिनले आख्यानकार लैनसिंह वाङ्देल र निबन्धकार शङ्कर लामिछानेबिच समेत सरलता र क्लिष्टताबारे फरक फरक धारणा रहेको प्रसङ्ग सुनाए । ‘पाठक लामिछानेको लेखाइमा जटिलता भेट्थे । तर, कलाकार वाङ्देलले लामिछानेलाई भेट्दा लेखनमा थोरै अमूर्तता ल्याउन आग्रह गरिरहन्थे । यसकारण नियमित अध्ययन र बोधले जटिलताको विषयलाई सोझ्याउँदै लाने हो,’ उनले थपे ।

संवादअघि उनले ‘मावल’ र ‘उपहार नानीहरूलाई’ कविता समेत पाठ गरे ।

विमोचन कार्यक्रममा नेपालबाट कविहरू चन्द्र गुरूङ, राजेश विद्रोही र अमित थेबेको सहभागिता रहेको थियो । त्यस्तै, उपन्यासकार छुदेन काविमो, कविहरू डा.ज्ञानेन्द्र यक्सो, निरज थापा, सुरज गुरूङ, विशाल नाल्बो, कालु रणपहेलीलगायतको सहभागिता रहेको थियो ।

हाम्रो किताब घरका संस्थापकक एवम् कवि छेवाङ योञ्जनले सञ्चालन गरेको कार्यक्रममा लेखा राईले स्वागत मन्तव्य राखेकी थिइन् ।