यसपालि इनरुवा गएको वेला मनमा साहित्यिक यात्राको एउटा योजना बनाएँ । जसको शुरूवातमा धरान जान मन भयो । धरानसँग मेरो निकै स्मृतिहरू जोडिएका छन् । तर यसपालि मेरो उद्देश्य बेग्लै थियो ।

अहिलेसम्म फेसबुकबाट मात्र कुराकानी भएका केही प्रिय साहित्यिक व्यक्तित्वहरूसँग भेटघाट गर्नु थियो । यात्रामा सुदीप पाख्रिन, चन्द्र गुरुङ, अघोरी चैतनेश्वर आदि व्यक्तिसँग मैले भेट्ने अवसर पाएँ । साथमा मधुशालाको तातो चिया, भलाकुसारी र झरीले अझ तृप्तता थप्यो । साँच्चै भन्दा कुराकानीहरूले यात्रामा मिठास थपिदियो ।

यात्रामै रहँदाको एक साँझ सुदीप पाख्रिनसँग भेट्ने निधो भयो । उनले निकै उत्साहपूर्वक मलाई आफ्नो निवास नजिकैको स्थानमा बोलाए । भेटमा उनले मसँग केही किस्साहरू साझा गरे । जुन सुनाउन मैले यो भूमिका बाँधिरहेको छु ।

– – – – –

कलरब धरान‘ – साहित्यिक आवाजको प्रतिध्वनि

‘कलरब’ भन्ने बित्तिकै चराहरूको सामूहिक आवाज सम्झनुहुन्छ होला । तर यो धरानको साहित्यको आवाज हो । २०६८ सालदेखि साहित्यिक गतिविधिका रूपमा ‘कलरब धरान’ शुरू भएको हो । तत्कालीन समयमा धरानमा साहित्यिक गतिविधि कम भइरहेको महसूस गरेपछि सुदीप पाख्रिन र उनका केही मित्रहरूले यो अवधारणा अघिअघि बढाएका थिए । जसमार्फत मासिक रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना हुन थाल्यो ।

२०६८ सालको चैत्रको अन्तिमतिर कलरब धरानको एउटा विशेष कार्यक्रम भयो । यसको लागि काठमाडौंबाट विमल निभासँगै रासा भन्ने कवि र दिपेन्द्र बनेपाली, लालकाजी लामा, मंगल प्रजापती नामक युवा चित्रकारहरू धरान पुगे । त्यसवेला पूर्वका धेरै साहित्यिक अनुरागीहरू भेला भएर डाँडा बजार गई त्यसलाई विषयवस्तु बनाएर कविता लेख्ने र चित्र बनाउने काम योजना रहेको थियो । त्यसवेलाको एउटा रमाइलो घटना कवि सुदीप पाख्रिनले सुनाए ।

डाँडा बजारमा तीन-चार जनाको दरले स्थानीयका घरहरूमा साहित्यकार र चित्रकारहरू बास बसेका थिए । कार्यक्रमको दिन बिहान उठेर उक्त टोली ध्वजे डाँडातर्फ लाग्यो ।

डाँडा बजारको एकजना स्थानीयले सुदीपलाई भने, “एउटा भाइ तपाईंसँग कोही भेट्न चाहन्छन् ।” जिज्ञासाले सुदीप अघि बढे । उनको अगाडि सर्ट फ्याङल्याङ पाराले लगाएका, हातमा छाता बोकेका १२-१३ वर्षका एक किशोर उभिएका थिए । जसको साथमा ७-८ वर्षको सानो बालक पनि थियो ।

सुदीपले उक्त किशोरलाई सोधे, “किन भाइ किन भेट्न खोजेको ?”

किशोरले बताए, “आज हुने कार्यक्रममा कविता सुनाउन आएको ।”

सुदीपले उनलाई कहाँबाट आएको भनेर बुझ्न खोजे । उनले ‘दाइ म त उः त्यो डाँडाबाट आएको’ भनेर एउटा परको डाँडालाई देखाए । ऊ निकै परबाट पैदल हिंडेर कविता सुनाउन आइपुगेका रहेछन् ।

उनको कुरा सुनेर सुदीप छक्क परे । किशोरले आफू हिजो दिउँसै हिंडेको र बीचको डाँडामा बास बस्दै बिहान त्यहाँ आइपुगेको बताए । किशोरले कविता सुनाए, र त्यो सुनेर सुदीपलाई त्यतिवेलै लाग्यो— यो केटाले साहित्यको क्षेत्रमा अवश्य केही गर्छ ।

उक्त किशोर कवि उत्तम तुम्सा थिए ।

– – – – –

धरान र मित्रता

कवि सञ्जीव राईको घर पनि धरानमै हो । एक्कासि सञ्जीव राईको कुरा गर्‍यो भन्नुहोला तर प्रसङ्गवश निकालेको हुँ ।

त्यसवेला सुदीपको पहिलो कविता संग्रह आदिम मौनता निस्किएको थियो । कुन वेला भन्दा कवि सञ्जीव राईसँगको पहिलो भेट । भोटेपूलमा रहेका एकजना दाइले सुदीपलाई सञ्जीवसँग चिनजान गराएका थिए । उनले पनि भर्खरै आफ्नै कविता संग्रह निकालेर काठमाडौंमा विमोचन गरिसकेका रहेछन् । उनी धरानमा एउटा कार्यक्रम गर्न चाहन्थे ।

मृदुभाषी सञ्जीवसँगको पहिलो भेटबाटै प्रभावित भएका सुदीपले धरानको मोति संस्मरण समितिबाट आफ्नै सक्रियतामा एउटा कार्यक्रम आयोजना गरेका थिए । यसरी सुदीप र सञ्जीवको मित्रता भएको थियो । सुदीप पहिलो भेटको क्षण सम्झँदै भन्छन्, ‘छुँदा पनि दाग लाग्ला जस्तो चिटिक्क परेको मान्छेको बोली समेत मह घोलेको जस्तो लागेको थियो ।’

सुदीपको यस्तै एउटा प्रसङ्ग कवि हेमन यात्रीसँग पनि छ । हेमनलाई उनको अग्लो कदका कारण उखु कवि भनेर चिनिन्थ्यो । सुदीपलाई हेमन देख्दा ‘यो मान्छे चाहिँ घमण्डी होला’ जस्तो लाग्ने गर्थ्यो । हेमन निकै कम बोल्ने र कविता सुनाएपछि गइहाल्ने गर्थे । सुदीपले उनीसँग संगत गर्दै गएपछि बुझे ‘उखु भन्नुको तात्पर्य अग्लाई मात्र होइन रहेछ, उनको मिठासपूर्ण व्यवहार र बोली पनि रहेछ’ ।

‘हेमनको कविता भन्ने शैली गजबको थियो,’ उनी भन्छन् ‘अग्लो कद, कम बोल्ने कविले कविता चाहिं निकै मीठो गरी सुनाउथे ।’

मित्रताको कुरा गर्दा मीतज्यूलाई छोड्ने कुरा त भएन । सुदीप र कवि देवान किराँतीले एक अर्कालाई ‘मीतज्यू’ भन्ने गर्छन् । किनभने देवानका बुवा जसराज किराँती र सुदीपका बुवा कृष्ण पाख्रिन समकालीन कवि थिए । उनी भन्छन्, ‘यसैकारण हामीलाई वंशज कवि पनि भन्छन् ।’

– – – – –

तीतो अनुभव र नयाँ शुरूवात

करीब २५ वर्षअघि सुदीप बाहिर (परदेश) बसेर फर्किएपछि उनीसँग केही पैसा थियो । उनी बुवाको नाममा अक्षय कोष राखेर केही काम गर्न चाहन्थे । यो उनको सपना थियो भन्दा पनि फरक नपर्ला । तर धरानका अधिकांश साहित्यिक संस्थाहरूले सुदिपको पहललाई अपेक्षित सहयोग गरेनन् । संस्थागत रूपमा काम गर्न अप्ठ्यारो भयो । केही वर्ष उनी यताउता दौडिरहे तर हात लाग्यो शून्य जस्तै भयो । त्यति वेलासम्म अक्षय कोषमा राख्ने पैसा पनि सकियो । अलिकति हताश भए तापनि उनले हिम्मत हारेनन् ।

अन्ततः सुदीपले ‘कलरब धरान’को अवधारणा अगाडि बढाए र साहित्यिक गतिविधिहरू सञ्चालन गर्न थाले । अहिले उनले बुवाको नाममा ‘कृष्ण पाख्रिन स्मृति प्रतिष्ठान’ स्थापना गरिसकेका छन् । अब उनी बुवाको नाममा हरेक वर्ष एउटा अर्थपूर्ण कार्यक्रम गर्ने योजनामा छन् ।

अहिले सुदीप भारतीय प्रख्यात कवि गुलजारका कविताहरूको अनुवादमा व्यस्त छन् । करीब १००-१५० कविताहरू उनले अनुवाद गरिसकेका छन् । जसमध्ये १०० वटा कविताको संग्रह प्रकाशित गर्ने तयारीमा उनी छन् ।

यसरी, धरानको त्यो साँझ र सुदीप पाख्रिनसँगको साहित्यिक भेटघाटले मलाई धरानको साहित्यिक परिवेशको झलक मात्र दिएन, भविष्यका कवि र लेखकहरूको यात्रा पनि देखायो । सुदिप जस्ता कविहरूको पहलले धरानको साहित्यिक परम्पराले नयाँ ऊर्जा प्राप्त गरेको छ ।

अब थकाइ मेटौं ।