१. बगेको आवाज

(सञ्जीव राई)

तिमीले सुनेनौ
आवाज यो क्षणको,
जो भरखरै बगेर गयो
समयको नदीमा !

उफ् !
कति पीडा थियो त्यसका आँखामा
कि अब ऊ कहिल्यै
फर्केर आउन सक्ने छैन फेरि
जति नै बिलौना गरे पनि तिमीले
र स्वयं समयले पनि
फर्काउन सक्ने छैन अब
आफैँसँग छुटेर गएका ती क्षणहरूलाई ।

 

२. बोध

(सुदीप पाख्रिन)

भुइँ झरेको
एउटा पात
उँभो …
आकाशतिर फर्किएर
रुखलाई भन्छ—
मैले खसेपछि मात्रै हो
तिमीमा वसन्त चढ्ने !
मैले मरेपछि मात्रै हो
तिमी बाँच्ने !!

 

३. सुन्दर कविता

(देवान किराती)

अस्ति नै
तिमीले लेख्नु भनेको
सुन्दर कविता
आज लेखेको छु मैले !

भन्थ्यौ—
पूर्णिमाको साँझ जून हेर्नू
र कविता कोर्नू
हेरेको, कतै देखिँन मैले त
तिमीबाहेक जून !

अब तिमी नै साँची
तिमी सुन्दरभन्दा पनि सुन्दर
कविता हौ मेरो !

 

४. देश

(हेमन यात्री)

आधा मात्रै निस्केर
चिहाइरहेछ बिहान क्षितिजबाट !

यता साँझले
उत्सव मनाइरहेछ बेथितिको

हिजोजस्तै पाठशाला हिँडेका नानीहरू
उदास शासकले राज्य गरिबसेको डाँडामा पुगेर
रोकिएका छन्—

काखीले च्यापेको पुस्तकमा
च्यातिएको भविष्य बोकेर !

 

५. फिरफिरे

(प्रकाश आङदेम्बे)

हाँगाबाट चुँडायौ
मेरो भेट्नु छिनाल्यौ
शीर, पुछार निर्मम च्यात्यौ
तिखो हतियारले मेरो मुटुमा रोप्यौ
अझ आँधी, हुरीतिर फर्काएर राख्यौ

त्यसपछि हो मैले गति लिएको
त्यसपछि हो म फिरफिरे जन्मिएको !