धरान / प्रसिद्ध कवि बैरागी काइँलालाई धरानमा नागरिक अभिनन्दन गरिएको छ ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको आयोजनामा शनिबार धरान १० स्थित सैनिक भवनमा उनलाई धरानमा अभिनन्दन गरिएको हो ।
काइँलालाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले आँखीझ्यालमा सजिएको ताम्रपत्र, दोशल्ला ओढाएर अभिनन्दन गर्नुभएको थियो । अभिनन्दनअघि काइँलालाई रथारोहणका साथ नगर परिक्रमा गरिएको थियो ।
नगर परिक्रमाको क्रममा लिम्बु समुदायका येवा–फेदाङ्मा–साम्बा, महिला समूहको नौमती बाजा, च्याब्रुङ, साकेला, सेलो र डम्फु, धिमे बाजासहित साँस्कृतिक झाँकी पनि प्रर्दशन गरिएको थियो । कवि काइँला नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत हुनुहुन्थ्यो । कविता–काव्यका साथै मुन्धुमको खोज–अन्वेषण तथा लेखन, सम्पादन, अनुवादमा अतुलनीय योगदान पुर्याएबापत उहाँलाई अभिनन्दन गरिएको आयोजकले जानकारी दिएको छ ।
सोही अवसरमा वरिष्ठ गायक दीप श्रेष्ठलाई ताम्रपत्र र नगद ५० हजार रुपैयाँसहित प्रतिभा सम्मान गरिएको थियो । यस्तै, धरानका सशक्त युवा कवि सुदीप पाख्रिनलाई पनि ताम्रपत्र र नगद १ लाख रुपैयाँसहितको प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।
समाचारस्रोतः क्लिक धरान । तस्बिरहरू: सनम तामाङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।