साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई  “महफिल काव्य सङ्गम” प्राप्त भएकाे छ ।

विगतमा सम्पन्न भएका काव्य उपासनाहरूको एक सुमधुर स्मृति-आलेखका रूपमा प्रकाशित भएको पुस्तक हो – “महफिल काव्य सङ्गम” । यसका सम्पादक-द्वय डा. सनतकुमार वस्ती र इम्तियाज वफा हुनुहुन्छ ।

यसमा सहभागी हुने शायर, कवि, साहित्यकारका रचनाहरूको प्रतिनिधि काव्य सङ्ग्रह हो । यसमा कविको संक्षिप्त परिचय, महफिलबारे उहाँको अनुभूति एवम् उहाँका रचनाहरू समाविष्ट गरिएको छ ।

डा. श्रीकृष्ण राणा लेख्छन्, “आजभन्दा करिब १० वर्षअघि हामी तीन जना – म, प्रोफेसर डा. सनतकुमार वस्ती र साहित्यकर्मी श्री राधेश्याम लेकाली मिलेर एक साहित्यिक संगोष्ठीको परिकल्पना गर्‍यौँ । नाम राखियो – महफिल काव्य उपासना । यसको उद्देश्य थियो- हरेक महिनाको अन्तिम शुक्रवार २०-२५ जना गजल,  र कविताका अनुरागी कविहरूलाई निम्तो गरी भेला गराउने र पालैपालो सबैले आ-आफ्ना संस्कृति, नेपाली हिन्दी, उर्दू भाषाका काव्यरचना सुन्ने-सुनाउने ।”

भूमिकामा डा. शरच्चन्द्र वस्ती लेख्छन्, “भनिन्छ – गजल लेखिने होइन, भनिने कुरा हो । अन्तर्मनको गहन अनुभूति गजलका रूपमा प्रस्फुटित हुन्छ र गजलगो-ले त्यही भावदशामा आविष्ट भएर यसलाई तरन्नुममा अभिव्यक्त गर्छ । लय र ध्वनिले यसलाई जीवन्त बनाउँछन् । पहिले नसुनेको कुनै गजल पढ्नोस् र त्यसपछि तरन्नुममा भनिएको वा गाइएको त्यही गजल सुन्नोस् । यसको शक्ति, ऊर्जा र प्राण कहाँ बस्दो रहेछ, आफैँ स्पष्ट भइहाल्छ । महफिल-ए-काव्य उपासनाले गजलको यही प्राणवान्, जीवन्त स्वरूपसँग बारम्बार साक्षात्कार गराउँछ ।”