साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई उपन्यासकार, निबन्धकार माधव काफ्लेद्वारा लेखिएको गैरआख्यानात्म पुस्तक “अनागत अन्तरा” प्राप्त भएको छ । ‘लिगलिग कोट’ उहाँको पहिलो निबन्धसंग्रह हो भने ‘अनागत अन्तरा’ चौथो निबन्धसंग्रह हो ।

१ सय ४४ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘म आशा रोप्दैछु’, ‘बन्धन’, ‘डर’, ‘आइसल्यान्डको यात्रा’, ‘मृत मूर्च्छना’, ‘शैली, आकृति र विचार’, ‘स्वर्ग जाने सजिलो बाटो’, ‘उन्मुक्तिको बाटो’  आदि २३ वटा निबन्ध संग्रहित छन् । कहीँकतै अतीतमा हराउँदै कहीँकतै वर्तमानमा रमाउँदै लेखकले आफ्ना निबन्धमा सामाजिक, शैक्षिक, व्यावसायिक, राजनीतिक विषयहरूलाई मीठो र आकर्षित भाषाशैलीमा पस्केका छन् । जीवनसम्बन्धी विचारहरूलाई आफ्ना अनुभूतिद्वारा भावमय ढाँचामा प्रस्तुत गरेका छन् ।

अनागत अन्तरा

अनागत अन्तरा

‘फ्रेमको फोटो’ निबन्धमा काफ्ले लेख्छन्, “ रहर, जिज्ञासा र उल्लासमय उडान वयस्कमा मात्र होइन, बुद्ध र बालकमा पनि उत्तिकै हुनुपर्दछ । उडानले गन्तव्यको बाटो देखाउँछ र अलौकिक आकार देखाउँछ । आकारविमुख यात्राहरू सिसिफसका प्रयत्नमा अनुवाद भएका किम्बदन्तीहरू चारैतिर छ्यापछ्याप्ती छन् । कसले कहाँ, किन, कुन उमेरमा के गयो अथवा गर्नुपर्छ भन्ने कटमिरो शिक्षाको निर्देशित सीमा तालिकामा बेरिएर हिँड्नुभन्दा पनि सहज र स्वाभाविक रूपमा गतिशील हुन पाइताला चालिएन भने जीवन निरस, शुष्क र भोगाइ तम्तम्याइलो ऐंठनमा अनुवाद हुँदै जानेछ । त्यस्तो जीवन भित्तामा झुन्ड्याइएको फ्रेमको फोटाजस्तै त हो नि, होइन र ?”

‘कारोबार’ निबन्धमा काफ्ले यसरी मान्छेको वास्तविक प्रवृत्ति उल्लेख गर्छन् जसले पाठकको आँखा रसाउँछ र सचेत पनि गराउँछ, “दुई गाँस चेप्न नपाएर कतिको आँत सुकेको छ । कतिका झुप्रा ढलेका छन् । कतिको आङ च्यातिएको छ । कतिको ढाड खुस्किएको छ । कतिको पिँडौला बटारिएका छन् । कति थल्लिएका छन् । कति थिल्थिलिएका छन् । कतिको उठिबास भएको छ । कतिका सपना सुकेका छन् । कतिको मुख मोसिएको छ । कतिको भाग खोसिएको छ । कतिको गाँस लुटिएको छ । विगत भोगे पनि, वर्तमान र भविष्य नहुनेहरूको आर्तनादले परिवेश थर्किंदै गए पनि सबै मान्छे बेच्नमा नै तल्लीन छन् । मान्छे भजाउनमा नै तल्लीन छन् । मान्छे छक्याउनमा नै तल्लीन छन् र अदनाको आलो रगतले आचमनी गरेर जिजीविषाको वैतरणी तर्न लालायित हुँदै गइरहेका देखिंदैछन् ।’

पुस्तकलाई सुशील स्मृतिगृहले बजारमा ल्याएको हो ।