साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई अनेसास उत्कृष्ट नारी साहित्य पुरस्कारबाट सम्मानित लेखिका भारती गौतमकृत गैरआख्यान कृति “विगत र बाडुली” प्राप्त भएकाे छ ।

३ सय ५६ पृष्ठमा फैलिएको यस पुस्तकलाई लेखिकाले आफूले विगतमा भोगेको जीवनलाई वर्तमानका आँखाबाट सूक्ष्म ढङ्गले नियाल्दै भावुकता एवम् संवेदनाले ओतप्रोत गराएर प्रस्तुत गरेकी छिन् ।

पारिवारिक संस्मरणमा आधारित यस पुस्तकमा ‘बा मेरो सर्वस्व’, ‘सम्झनामा साहिँला काका’, ‘दो टिकेट चाहिए’, ‘कुसमयको फोनका घन्टी’, ‘जे हामीसँग बोस्टन गएन’, ‘आगाको आतङ्क’ लगायत २६ थान शीर्षकहरू छन् ।

“प्रस्तुत कृतिको भाषाशैलीय विन्यास सरल, सहज, प्रवाहपूर्ण एवम् ओजपूर्ण रहेको छ । भारती गौतम भाषालाई राम्रैसँग खेलाएर थोरैमा धेरै भन्न सक्ने क्षमतायुक्त कवि पनि भएकाले प्रस्तुत कृतिका अधिकांश अंश कुनै काव्य पढेजस्तो अनुभव हुन्छ । हरेक घटना, क्षण एवम् सन्दर्भलाई उपमा, बिम्ब एवम् प्रतीकका माध्यमबाट बोधगम्य ढङ्गले अभिव्यक्त गर्न सक्नु यिनको भाषिक प्रयोगमा पाइने विशिष्ट पक्ष हो । मानक भाषाकै प्रयोग पाइने यस कृतिको भाषिक विन्यासमा कृत्रिमताको स्पर्श कतै पनि भेटिन्न ।” भूमिकामा लीला लुइटेल लेख्छिन्, “विभिन्न उखानहरूलाई टुक्काको रूप दिएर छोटोछरितोमा प्रस्तुत गर्न सक्नु पनि भारती गौतमका भाषिक प्रयोगमा देखा परेको शैली हो । सहज बोधगम्य बिम्ब, प्रतीकयुक्त भाषिक विन्यासका साथ घटनालाई अनुभूतिमय तुल्याएर वर्णन गर्ने क्षमताका कारण सबै खाले पाठक सहजै आकर्षित गर्न प्रस्तुत कृति सफल हुने कुरामा कुनै सन्देश छैन ।”

भारती गौतम लेख्छिन्, “जिन्दगीले नियुक्त गरेको ओहदा ओढी जिन्दगीकै हात समातेर जिन्दगी हिँडिरहँदा यात्राको जम्कामा फेला परेका मोहक फूलबारी, रोचक चौतारी अनि शीतल बिसौनाहरू जति पर छोडिए पनि संस्मरणको ढोका ढकढक्याउन छाडेनन् । ‘म’ निर्माणमा संलग्न इँटा, ढुङ्गा र माटोसँगै बतास प्रकाश र सुवास मभन्दा टाढा हुन पनि त सकेनन् ।”

समकालीन साहित्य प्रतिष्ठान, बेलायतले बजारमा ल्याएको यस पुस्तकको मूल्य ३ सय २५ रुपियाँ रहेको छ ।

याे पुस्तकले  गत वर्षकाे उत्तम शान्ति पुरस्कार  पनि प्राप्त गरेकाे छ ।